बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको विजेता अमन

मङ्गलबार, २९ वैशाख २०८३, ०२ : ०८
मङ्गलबार, २९ वैशाख २०८३

सुनसरी । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको ‘एक्युरेसी ओभरअल’तर्फ अमन थापामगर विजेता बनेका हुन् ।

अमनलाई नगद रु एक लाख ५० हजारसहित मेडल र पुरस्कार प्रदान गरिएको सङ्घका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए । त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु एक लाख प्राप्त गर्नुभयो भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु ७५ हजार प्राप्त गरेका हुन् ।

खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, इक्सा राई दोस्रो र विद्या राई तेस्रो भइन् । उनलाई क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कारसहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

समूहतर्फ अरुण जालारी, अञ्जन कुँवर, पवन परियार र रिकी पोडेको समूह प्रथम भएको छ भने युवराज सुनुवार, सुमनजङ थापा, विष्णु तिमल्सिना र रोशन बस्नेतको समूह दोस्रो, कृष्णबहादुर क्षेत्री, अमन थापा र विष्णु कार्कीको समूह तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय समूहले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्राप्त गरेका सङ्घका अध्यक्ष चाम्लिङले जानकारी दिए ।

एक्युरेसी नेसनल महिलातर्फ इक्सा राई प्रथम हुँदै रु ३० हजार, विद्या राई दोस्रो हुँदै रु २० हजार र देवकीमाया सुनुवार तेस्रो हुँदै रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै एक्युरेसी नेसनल पुरुषतर्फ अमन थापा प्रथम हुँदै रु ३० हजार, सागर नेपाली दोस्रो हुँदै रु २० हजार र पवन परियार तेस्रो हुँदै रु १० हजार पुरस्कार प्राप्त गर्नुभएको अध्यक्ष चाम्लिङले बताए ।

यही वैशाख २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता भारत र नेपालका गरी ३२ जना खेलाडीको सहभागिता थियो । तीमध्ये चार जना महिला खेलाडी सहभागी भएका आयोजक नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप