मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सवारी दुर्घटनाको कारण मोबाइल र चर्को संगीत भएको सांसद राईको दाबी

मङ्गलबार, २९ वैशाख २०८३, ११ : ५९
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सवारी दुर्घटनाका मुख्य कारणहरूमा चालकले मोबाइल प्रयोग गर्ने र गाडीभित्र चर्को संगीत सुन्ने गरेको दाबी गरेका छन्।
  • उनले आगामी कानुनमा सवारी चलाउँदा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउन र गाडीभित्र हुने चर्को नाचगानलाई पूर्ण प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।
  • सांसद राईले सडक निर्माणको गुणस्तर र कार्यशैलीमा सुधारको आवश्यकता औँल्याउँदै राष्ट्रिय राजमार्गहरू कुनै पनि बहानामा अवरुद्ध नहुने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन्।

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले मुलुकमा भइरहेका सवारी दुर्घटनाका मुख्य कारणहरूलाई विज्ञहरूले नजरअन्दाज गरेको आरोप लगाएका छन्। 

मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद राईले सडक सुरक्षाका सवालमा विज्ञहरूको कार्यक्षमता र उनीहरूले दिने सुझावमाथि प्रश्न उठाएका हुन्।

सांसद राईका अनुसार सवारी दुर्घटना हुनुमा केवल सडकको भौतिक अवस्था मात्र नभई चालकले सवारी चलाउँदा गर्ने मोबाइलको प्रयोग र गाडीभित्र बजाइने चर्को संगीत मुख्य जिम्मेवार छन्। उनले आगामी कानुनमा सवारी चलाउँदा मोबाइल प्रयोग गर्न नपाइने र पिकनिक वा अन्य यात्रामा जाँदा गाडीभित्र हुने चर्को नाचगानलाई पूर्ण प्रतिबन्ध लगाउने व्यवस्था गर्न सुझाव दिएका छन्। यस्ता गतिविधिले चालकको ध्यान अन्यत्र मोड्ने र दुर्घटना निम्त्याउने उनको दाबी छ।

बैठकमा आफ्नो धारणा राख्दै उनले भने, ‘अहिले सवारी दुर्घटनाका दुईवटा प्रमुख कारण छन्। एउटा मोबाइल फोन र अर्को गाडीभित्र डिजे जस्तै गरी बजाइने गीत–संगीत। यसले चालकको ध्यान अन्यत्र मोड्छ, तर विज्ञ भनिएकाहरूले यसतर्फ ध्यान दिएको पाइँदैन। ब्रिटिस सरकारले बनाएको बाटो अहिलेसम्म भत्किएको छैन, तर लेउती खोला क्षेत्रमा वर्षेनी पहिरो जाने र सडक अवरुद्ध हुने समस्या छ। पटक–पटक एउटै मन्त्रालयमा रहेका सचिव र प्राविधिकहरूले यसको स्थायी समाधान किन खोज्न सक्नुभएन ?’

सांसद राईले सडक निर्माणको गुणस्तरका सन्दर्भमा वि.सं. २०३५ सालमा बेलायत सरकारले निर्माण गरेको धरान–धनकुटा सडकको उदाहरण दिँदै हालका योजनाहरूको टिकाउपनमाथि प्रश्न उठाएका छन्। चीनमा रातारात ठूला निर्माण कार्य सम्पन्न हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालको ढिलासुस्ती र कार्यशैलीमा सुधारको आवश्यकता औँल्याएका छन्। 

कोशी राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरू कुनै पनि बहानामा अवरुद्ध हुन नहुनेमा जोड दिँदै उनले सडक अवरुद्ध भएमा तत्काल खोल्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिन समिति सभापतिलाई आग्रह गरेका छन्। देश निर्माणका लागि केवल कुरा मात्र नभई दिमाग र पौरख चलाउनुपर्ने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप