अवैध बाटोबाट अमेरिका पुर्याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट
काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अमेरिका पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरी मानव तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ का २६ वर्षीय लोकमान खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानसँगको समन्वयमा सोमबार पक्राउ परेका खत्रीमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
पीडित युवालाई सुरुमा प्रतिवादी खत्रीले २५ लाख रुपैयाँमा भिजिट भिसामा बेलायत पुर्याउने र पछि वर्किङ भिसामा परिवर्तन गरी मासिक २ लाख कमाइ हुने प्रलोभन देखाएका थिए।
भिसा प्रक्रियाका लागि भन्दै सुरुमा ४ लाख रुपैयाँ लिएका खत्रीले पछि बेलायतको भिसा नआएको बहाना बनाउँदै सुरक्षित हवाई मार्गबाट अमेरिका पठाउने आश्वासन दिएका थिए। अमेरिका जान ४५ लाख लाग्ने भनिए पनि खत्रीले पीडितबाट पटक–पटक गरी कुल ६५ लाख २६ हजार ७८० रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ।
रकम लिएपछि खत्रीले २०८१ भदौ १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई दुबई पुर्याएका थिए । त्यसपछि भारत, नेपाल, कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हन्डुरस र मेक्सिकोको जोखिमपूर्ण अवैध मार्ग हुँदै उनलाई अमेरिका पुर्याइएको थियो।
अवैध रूपमा अमेरिका प्रवेश गरेको कसुरमा त्यहाँको प्रहरीले पीडितलाई पक्राउ गरी १४ महिनासम्म जेलमा राखेको थियो। जेल सजाय काटेपछि २०८२ चैत २४ गते उनलाई डिपोर्ट गरी नेपाल फिर्ता पठाइएको थियो।
नेपाल फर्किएपछि पीडितले दिएको जाहेरीका आधारमा ब्युरोले खत्रीलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा खत्रीविरुद्ध यसअघि जिल्ला प्रहरी कार्यालय सल्यानमा समेत ठगी मुद्दा दर्ता भएको र उनी ३ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेको खुलेको छ।
उनले अन्य नेपाली नागरिकलाई समेत यसै गरी ठगी र मानव तस्करी गरेको हुन सक्ने आशङ्कामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण