मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुम्बईको रहस्यमय ‘खर्बुजा मृत्यु’ प्रकरण : चार जनाको हत्या, दुर्घटना कि आत्महत्या ?

बिहीबार, ३१ वैशाख २०८३, १० : १८
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • मुम्बईमा एकै परिवारका चार सदस्यको मृत्युको रहस्य अझै खुल्न सकेको छैन, जसमा 'जिङ्क फस्फाइड' नामक विषको प्रयोग भएको आशंका गरिएको छ।
  • मृतकले अन्तिम पटक खाएको खर्बुजामा उक्त विष भेटिएको र यो मुसा मार्न प्रयोग हुने रसायन भएको प्रहरीले जनाएको छ।
  • घटना हत्या, दुर्घटना वा आत्महत्या के हो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ र उद्देश्यबारे थप प्रमाण संकलन गरिरहेको छ।

मुम्बई । भारतको मुम्बईस्थित एकै परिवारका चार जना मृत फेला परेको करिब तीन साता बितिसक्दा पनि वास्तवमा के भएको थियो भन्नेबारे अनुसन्धानकर्ताहरू कुनै निष्कर्षमा पुग्न सकेका छैनन्।

अप्रिल २५ मा मुम्बईको पायधोनी क्षेत्रमा रहेको आफ्नै घरमा डोकडिया परिवारका चार सदस्य अब्दुल्लाह, उनकी श्रीमती नसरिन र दुई छोरीहरू आयशा र जैनब मृत अवस्थामा फेला परेका थिए।

घटना बाहिरिएपछि भारतीय सञ्चारमाध्यमले उनीहरूले मृत्युअघि खाएको अन्तिम खानेकुरालाई आधार मान्दै यस घटनालाई ‘खर्बुजा मृत्यु’ को नाम दिएका थिए। भारतमा गर्मीयाममा निकै रुचाइने यो फल खाँदा सावधानी अपनाउन सुझाव दिइएका थुप्रै समाचार शीर्षकहरूले निरन्तर चर्चा पाए।

फलफूलमा मिसावट भएको वा विषालु भएको र राति ढिलो खाएका कारण दम्पती र उनीहरूका किशोर उमेरका छोरीहरूको मृत्यु भएको दाबी रिपोर्टहरूमा गरिएको थियो। माग ह्वात्तै घटेपछि मुम्बईका फलफूल बजारमा खर्बुजाको मूल्य नै ओरालो लागेको थियो। साथै, यो मृत्यु दुर्घटना थियो वा नियोजित भन्ने विषयमा पनि धेरै अनुमानहरू गरिएका थिए।

गत साता मुम्बई प्रहरीले डोकडिया परिवारको ज्यान लिने तत्त्व ‘जिङ्क फस्फाइड’ भएको बताएको छ, जुन मुसा मार्न प्रयोग गरिने अत्यन्तै विषालु रसायन हो। प्रहरीका अनुसार उक्त रसायन उनीहरूको शरीरका अङ्ग र खर्बुजाको अवशेषमा फेला परेको थियो।

मुम्बईस्थित फोरेन्सिक साइन्स ल्याबोरेटरी (एफएसएल) का निर्देशक डाक्टर विजय ठाकरेले बीबीसी मराठीलाई मृतकको कलेजो, मिर्गौला, फियोका साथै पेटमा रहेको सामग्री, पित्त र पेटको बोसोमा जिङ्क फस्फाइड भेटिएको बताए। उनले खर्बुजाको नमुनामा पनि उक्त रसायन फेला परेको पुष्टि गरे।

water melon

अनुसन्धानमा संलग्न प्रहरी नायव आयुक्त प्रविण मुन्ढेले पनि अनुसन्धानका क्रममा सङ्कलन गरिएको खर्बुजाको नमुनामा रसायन भेटिएको तर परीक्षणका लागि पठाइएको अन्य कुनै पनि खानाको नमुनामा यो नभेटिएको पुष्टि गरेका छन्।

दक्षिण मुम्बईको पायधोनी क्षेत्रको एक पुरानो भवनको पहिलो तलामा डोकडिया परिवार बस्दै आएको थियो। प्रहरीको प्रारम्भिक भनाइ अनुसार, घटना भएको रात उक्त परिवारले केही आफन्तहरूलाई रात्रिकालीन भोजमा बोलाएका थिए, जहाँ उनीहरूले मासु र बिरयानी खाएका थिए।

पाहुनाहरू राति १०:३० बजे फर्किएपछि डोकडिया परिवारले केही घण्टापछि खर्बुजा खाएका थिए र त्यसको लगत्तै उनीहरू बिरामी पर्न थाले। ‘उनीहरू सबैलाई बान्ता हुने र पखाला लाग्ने समस्या देखियो र नजिकैको अस्पताल हुँदै जेजे अस्पताल लगिए पनि दुर्भाग्यवश चारै जनाको मृत्यु भयो,’ नायव आयुक्त मुन्ढेले सञ्चारमाध्यमलाई बताए। प्रहरीले मिसावटको आशङ्कामा खर्बुजाको बोक्रासहित सबै खाद्यवस्तु जफत गरेको थियो।

परिवारलाई अप्ठ्यारो परेको थाहा पाएपछि सोही भवनको चौथो तलामा बस्ने डाक्टर जैद कुरैशीसहितका छिमेकीहरू मद्दतका लागि दौडिएका थिए। ‘चार जनामध्ये सबैभन्दा कान्छीलाई सास फेर्न गाह्रो भइरहेको मैले देखेँ र सीपीआर दिएँ, तर अवस्था सुधार नभएपछि उनलाई नजिकैको अस्पताल लगियो जहाँ उनको मृत्यु भयो,’ डाक्टर कुरैशीले भने।

बाँकी तीन जनालाई पनि स्थानीय अस्पतालबाट जेजे अस्पताल सारिएको तर उनीहरूको पनि मृत्यु भएको उनले बताए। उनीहरूको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार डोकडिया परिवार बस्ने भवनमा मुसाको समस्या थियो र धेरै परिवारले मुसा भगाउने र मार्ने रसायन वा ग्लु प्याडहरू प्रयोग गर्थे। मुम्बईका डाक्टर भुषण रोकडेका अनुसार मुसा मार्ने विषमा पाइने जिङ्क फस्फाइड अत्यन्तै विषालु रासायनिक यौगिक हो।

‘खाएपछि वा ओसिलोपनाको सम्पर्कमा आएपछि यसले फस्फिन ग्यास उत्पादन गर्छ जसले शरीरका कोषहरूलाई अक्सिजन प्रयोग गर्नबाट रोक्छ र धेरै अङ्गहरूमा गम्भीर असर पार्छ,’ डाक्टर रोकडेले भने। यसका लक्षणहरूमा बान्ता हुने, छाती कस्सिने, सास फेर्न गाह्रो हुने र शकमा जाने हुन्छन्। यो थोरै मात्रामा पनि घातक हुन सक्ने उनले प्रस्ट पारे।

यति तथ्य बाहिर आउँदा पनि यो घटना सुल्झिनुको साटो थुप्रै प्रश्नहरू अनुत्तरित नै छन्। बुधबार मुम्बई प्रहरीका स्रोतहरूले बीबीसीलाई बताए अनुसार यसको पछाडिको उद्देश्य के थियो वा खर्बुजामा विष कसरी पस्यो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

‘हामी अझै प्रमाण सङ्कलन गर्दैछौँ र उद्देश्यका लागि सबै कोणबाट हेरिरहेका छौँ,’ एक वरिष्ठ प्रहरी अधिकारीले भने। उनले हत्या, दुर्घटना वा आत्महत्या कुनै पनि कुरालाई नकार्न नसकिने बताए।

ती अधिकारीले आफूहरू खर्बुजामा मुसा मार्ने विष कसरी पुग्यो भन्ने कुराले छक्क परेको बताएका छन्। ‘हामीले आफन्त, साथीभाइ, परिवार, छिमेकी र डोकडियाको सँगै काम गर्ने ४०-५० जनालाई सोधपुछ गरेका छौँ र धेरै टोली बनाएर घटना सुल्झाउन लागिपरेका छौँ,’ ती अधिकारीले भने, ‘हामीले जवाफ नपाएसम्म काम गरिरहनेछौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप