बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न खोज्नुभएन : खुश्बु ओली

बिहीबार, ३१ वैशाख २०८३, ११ : ३७
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाएकी छन्।
  • उनले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई लगातार उपेक्षा गरिरहेको र सदनप्रति अनिच्छुक रहेको आरोप लगाइन्।
  • ओलीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाफदेही बन्न आग्रह गरिन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई लगातार उपेक्षा गरिरहेको आरोप लगाएकी हुन्।
उनले लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवादको अभ्यास भएको उल्लेख गर्दै प्रधानमन्त्रीको संसद्मा न्यून उपस्थितिले उनी सदनप्रति अनिच्छुक रहेको पुष्टि हुने तर्क गरिन्। ओलीले संसद्मा देशभरिका उत्कृष्ट मस्तिष्कहरूको उपस्थिति हुने भएकाले प्रधानमन्त्रीको सहभागिता केवल औपचारिकता नभई जनताप्रतिको जवाफदेहिता र स्पष्ट दिशाबोधका लागि अनिवार्य रहेको बताइन्।

प्रधानमन्त्रीले संसदीय छलफलहरूलाई महत्त्व नदिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री पहिलो अधिवेशनमा नबोली जानुभयो, दोस्रो अधिवेशनमा आफ्नै नीति तथा कार्यक्रमको छलफल चलिरहँदा बीचमै उठेर हिँड्नुभयो। हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का कुरा उठाउँछौँ, तर प्रधानमन्त्री सामाजिक सञ्जालको पोस्टमार्फत जवाफ दिनुहुन्छ। यो संसदीय अभ्यासप्रति अनुत्तरदायी हुने एउटा प्रवृत्ति (प्याटर्न) नै बनेको छ।’

जनताले एक शक्तिशाली प्रधानमन्त्रीका रूपमा विश्वास गरेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाफदेही बन्न आग्रह गरिन्। उनले प्रधानमन्त्रीको संसद्मा सहभागिता सुनिश्चित गर्न सभामुखमार्फत ध्यानाकर्षणसमेत गराएकी छन्।

वैदिक कालदेखि नै संवाद र सामूहिक निर्णयको परम्परा रहेको स्मरण गराउँदै उनले लोकतन्त्रको वास्तविक मर्मअनुसार प्रधानमन्त्री सदनमा आएर सांसदहरूका प्रश्नको सामना गर्नुपर्नेमा जोड दिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप