फोटो खिच्दा होसियार ! फिंगरप्रिन्ट चोरेर बायोमेट्रिक सुरक्षा तोड्न सकिने चेतावनी
सारांश
- उच्च गुणस्तरका क्यामरा र उन्नत एआई प्रविधिको विकाससँगै सुरक्षा विज्ञहरूले 'भी' आकारको इसाराले फिंगरप्रिन्ट चोरी हुने जोखिम बढेको चेतावनी दिएका छन्।
- चिनियाँ सुरक्षा विज्ञ लि छाङले १.५ देखि ३ मिटरको दुरीबाट खिचिएको फोटोबाट पनि फिंगरप्रिन्ट चोरी हुन सक्ने बताएका छन्।
- विज्ञहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नुअघि औँलाको टुप्पालाई धमिलो वा चिल्लो पार्न सल्लाह दिएका छन्।
बेइजिङ । विजय वा शान्तिको प्रतीकका रूपमा प्रयोग गरिने बुढी र चोर औँला फैलाएर देखाइने ‘भी’ आकारको इसारा अन्तर्राष्ट्रिय पप संस्कृतिको हिस्सा बनेको छ।
तर, उच्च गुणस्तरका क्यामरा र उन्नत एआई प्रविधिको विकाससँगै सुरक्षा विज्ञहरूले यो लोकप्रिय इसाराले मानिसहरूको फिंगरप्रिन्ट (औँठाछाप) चोरी हुने जोखिम बढाएको चेतावनी दिएका छन्। यसरी फोटोबाट चोरिएको फिंगरप्रिन्ट प्रयोग गरेर अपराधीहरूले बायोमेट्रिक सुरक्षा प्रणालीहरू तोड्न सक्ने उनीहरूको भनाइ छ।
चिनियाँ सुरक्षा विज्ञ लि छाङले हालै एक रियालिटी शोमा एक सेलिब्रेटीको सेल्फीलाई उदाहरणका रूपमा प्रयोग गर्दै ‘भी’ साइन देखाउँदा औँलाहरू कति प्रस्ट देखिन्छन् र यसले व्यक्तिगत बायोमेट्रिक जानकारीलाई कसरी जोखिममा पार्छ भन्ने कुरा देखाएका छन्।

छाङको विश्लेषण अनुसार, यदि १.५ मिटरभन्दा कम दुरीबाट औँलाहरू प्रस्ट देखिने गरी खिचिएको क्लोज-अप सट छ भने व्यक्तिको फिंगरप्रिन्ट पूर्ण रूपमा निकाल्न सकिने उच्च सम्भावना रहन्छ। अझ अचम्मको कुरा त के छ भने, ३ मिटरको दुरीसम्मबाट खिचिएको फोटोबाट पनि आधा फिंगरप्रिन्ट निकाल्न सकिन्छ, जहाँ एआई सफ्टवेयरले बाँकी काम पूरा गर्छ।
टेलिभिजन कार्यक्रमका क्रममा छाङले फोटो सम्पादन सफ्टवेयर र एआई प्रविधि प्रयोग गरी कम गुणस्तरका धमिलो फोटोहरूबाट समेत फिंगरप्रिन्टलाई अत्यन्त विस्तृत र प्रस्ट रूपमा निकालेर दर्शकहरूलाई चकित पारेका थिए। चाइनिज एकेडेमी अफ साइन्सेजका क्रिप्टोग्राफी प्रोफेसर जिङ जिउले यसलाई पुष्टि गर्दै भनेका छन्, ‘हाइ-डेफिनिसन क्यामराहरूको बढ्दो प्रयोगसँगै, भी-पोज प्रयोग गरेर हातको विस्तृत जानकारी र फिंगरप्रिन्ट पुन: निर्माण गर्न प्राविधिक रूपमा सम्भव भएको छ।’
लि छाङको यो परीक्षण सामाजिक सञ्जालमा भाइरल भएपछि सुरक्षाको विषयलाई लिएर त्रास फैलिएको छ। यद्यपि, केही विज्ञहरूले भने कसैको फिंगरप्रिन्ट चोरेर बायोमेट्रिक सुरक्षामा पहुँच पाउनु त्यति सजिलो नभएको स्पष्ट पारेका छन्।

फिंगरप्रिन्ट रिकभरी प्रक्रियामा प्रकाशको अवस्था, क्यामराको फोकस र फोटोको स्पष्टता जस्ता धेरै कुराले भूमिका खेल्ने उनीहरूको तर्क छ। पहिचान चोरी गर्नेहरूलाई फिंगरप्रिन्ट तुलना गर्न एकै व्यक्तिको धेरै फोटोहरू आवश्यक पर्न सक्छ।
यदि तपाईं आफ्नो बायोमेट्रिक सुरक्षाप्रति चिन्तित हुनुहुन्छ तर सेल्फीमा ‘भी’ साइन देखाउन पनि छाड्न सक्नुहुन्न भने विज्ञ लि छाङले एउटा उपाय सुझाएका छन्। उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नुअघि डिजिटल सम्पादन औजारहरू प्रयोग गरेर औँलाको टुप्पालाई धमिलो बनाउन वा फिंगरप्रिन्टको रेखाहरूलाई चिल्लो पार्न सल्लाह दिएका छन्।
यसो गर्दा प्रविधिको प्रयोगबाट फिंगरप्रिन्ट चोरी हुने सम्भावनालाई कम गर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण