द्वन्द्वले अफगान बाल कुपोषण सङ्कट झनै गहिरिँदै
काठमाडौँ । पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ । उनले अफगानिस्तानलाई अहिले ‘गम्भीर पोषण सङ्कटको केन्द्र’ का रूपमा वर्णन गरे ।
डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले भने, “अफगानिस्तानमा यो एक पोषण सङ्कट हो । गत वर्षको वृद्धि हामीले देखेको सबैभन्दा खराब थियो, र यो वर्ष अवस्था अझै खराब छ ।”
संस्थाले जनवरीमा सार्वजनिक गरेको अनुमानअनुसार अफगानिस्तानमा करिब पाँच करोड जनसङ्ख्या मध्ये ५० लाख महिला र बालबालिका यस वर्ष जीवन जोखिममा पार्ने स्तरको कुपोषणको सामना गर्न बाध्य हुनेछन् ।
पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठुलो सङ्ख्यामा फर्किएका नागरिकको चापसमेत सामना गरिरहेको छ । यसले खाद्य असुरक्षा र स्वास्थ्य सङ्कटलाई थप तीव्र बनाएको छ ।
यसैबिच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब आठ महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ । यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठुलो अवरोध सिर्जना गरेको छ ।
इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ । खाद्यान्न तथा इन्धन मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ भइरहेको डब्लुएफपीले जनाएको छ ।
स्काउका अनुसार, यदि यी अवरोध नभएको भए अफगानिस्तानमा थप १० लाख बालबालिकालाई पोषण सहायता दिन सकिने थियो । उनले भने, “यदि हामी आपूर्ति शृङ्खला, ढिलाइ र लागतको समस्यामा नफसेका भए हामी अझै एक लाखभन्दा बढी बालबालिकासम्म पुग्न सक्थ्यौँ ।”
डब्लुएफपीले अफगान स्कुलका बालबालिकाका लागि हजारौँ टन पोषणयुक्त बिस्कुट पाकिस्तानमार्फत पठाउने योजना बनाएको थियो । तर सीमा बन्द भएपछि सहायता सामग्रीको मार्ग परिवर्तन गर्नुपर्यो ।
संस्थाले आपूर्तिलाई दुबई र इरान हुँदै पुनः मार्ग परिवर्तन गरेको थियो, तर मध्यपूर्वमा फैलिएको द्वन्द्वका कारण थप अवरोध उत्पन्न भयो । त्यसपछि साउदी अरेबिया, टर्की, जर्जिया र तुर्कमेनिस्तान हुँदै सात देश पार गरेर सामग्री अफगानिस्तान पुर्याउने विकल्प अपनाइएको छ ।
स्काउले भने, “यो हप्ता सामग्री आइपुग्नेछ, तर यसले महिनौँ समय लियो र हामीलाई निकै ठुलो लागत व्यहोर्नु पर्यो ।”
डब्लुएफपीले आर्थिक सहयोग जुटाउन पनि कठिनाइ भइरहेको जनाएको छ । संस्थाले अफगानिस्तानका लागि आवश्यक वार्षिक कोषको केवल आठ प्रतिशत मात्र हालसम्म सङ्कलन गर्न सकेको छ ।
स्काउले पूर्वी अफगानिस्तानका ग्रामीण क्लिनिकहरूको अवलोकन गर्दा देखेको अवस्थाबारे भावुक हुँदै गम्भीर कुपोषण भएका बालबालिकासहित महिलाहरू घण्टौँ पैदल हिँडेर उपचारका लागि आउने गरेका तर धेरैलाई सहायता अभावका कारण फर्काउनुपरेको बताए ।
“हामीसँग उनीहरूलाई दिन सहयोग थिएन । ती महिलाहरूको निराशा र पीडा मेरो स्मृतिमा लामो समय रहनेछ”, उनले भने, “यदि संसारको कुनै एउटा विषयमा सहमति हुनुपर्छ भने त्यो हो—बालबालिकाले भोकले मर्नु हुँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण