बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
विजय मल्ल भाग–८

विजय मल्लका नाटक र चलचित्र

शनिबार, ०२ जेठ २०८३, १५ : ००
शनिबार, ०२ जेठ २०८३

सारांश

  • विजय मल्लले २००१ सालमा ‘राधा मान्दिन’ एकाङ्की लेखे र २००४ सालमा ‘बहुला काजीको सपना’ नाटक मञ्चन गरे।
  • बालकृष्ण समबाट प्रेरित भई मल्लले नाटक लेख्न थाले र ‘गौरीशङ्कर नाटक मण्डली’ संस्थामा सचिव भए।
  • मल्लका ‘स्वामी रणबहादुर शाह’, ‘कोही किन बरबाद होस्’, ‘जिउँदो लास’ जस्ता नाटक चर्चित भए भने ‘कुमारी’, ‘बदलिँदो आकाश’, ‘पच्चिस वसन्त’ जस्ता चलचित्र पनि बने।

विजय मल्लले २००१ सालमा ‘राधा मान्दिन’ शीर्षक एकाङ्की लेखेका थिए । उनको पहिलो मञ्चन भएको नाटक २००४ सालमा शान्ति निकुञ्ज स्कुलमा मञ्चन भएको थियो । त्यो नाटकको नाउँ ‘बहुला काजीको सपना’ हो । 

त्यसै नाटकको प्रदर्शनपछि उनी हलक्कै उस्केका थिए । त्यसपछि उनले सार्वजनिक घोषणा गरे– ‘भवानी भिक्षु मेरो लेखनका मेरुदण्ड हुन् र श्यामदास वैष्णव मेरो नाटकका खम्बा हुन् ।’

दरबार हाईस्कुलमा बालकृष्ण समकृत ‘मुकुन्द इन्दिरा’ नामक नाटकको उनले पूर्वाभ्यास हेर्ने मौका पाएका थिए । बालकृष्ण समले स्वयंले नै त्यो हेर्ने गर्थे । तर नाटक हेरेको समय उनले घोर अपमान खेपेका थिए । अनि त्यसबारे उनले लेखे पनि– ‘मलाई देखेर पालेले गलाहत्याई त्यहाँबाट बाहिर निकालिदियो ।’

दरबार स्कुलको पालेले मल्लको कठालो समाएर बाहिर निकालेपछि उनका मनमा निक्कै ठूलो चोट लागेको थियो । केही दिनपछि नै यसबारे उनले बालकृष्ण समलाई उजुर गर्न भ्याएका थिए । अनि त्यसैको परिणामले समले एउटा संस्था खोले र त्यसको प्रमुख पात्र मल्ललाई बनाए ।

२००१ सालको कुरा हो— बालकृष्ण समको अध्यक्षतामा ‘गौरीशङ्कर नाटक मण्डली’ नाउँको संस्था स्थापना गरिएको थियो । त्यस संस्थाको सचिव विजय मल्ल थिए भने हर्ताकर्तामा गोपालप्रसाद रिमाल, गोविन्दबहादुर मल्ल ‘गोठाले’ र श्यामदास वैष्णव थिए । त्यति बेला यी पाँचै भाइ कलाकार भएर नाटक खेल्ने गर्थे । विजय मल्लले सुरुमा अभिनय गरेको नाटकचाहिँ ‘भक्त भानुभक्त’ थियो । अनि यसका निर्देशक बालकृष्ण सम थिए । पछिपछि भने उनले आफ्ना नाट्यकृतिहरूमा पनि अभिनय गर्न थाले । उनले श्यामदास वैष्णवसँगको निर्देशनमा नाटक देखाउने गरे ।

विजय मल्लले नाट्यसम्राट् बालकृष्ण समबाट प्रेरित भएर नाटक लेख्न थाले । लेख्तालेख्दै उनी नाटकलेखनमा धुरी चढ्न थाले । उनले रचना गरेका नाटक काठमाडौँ उपत्यकाका स्कुलहरूमा पनि मञ्चन गरिएका थिए । खास गरेर उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा पुगेपछिचाहिँ ‘नाटक भनेको विजय मल्ल हुन् र विजय मल्ल भनेको नाटक हो’ भन्ने थेगो नै बनेको थियो । त्यस कालखण्डमा उनले धेरै नै एकाङ्की र पूर्णाङ्की नाटक रचे । धेरैजसो नाटक प्रज्ञाप्रतिष्ठानमा नै मञ्चन गरिएका थिए ।

श्यामदास वैष्णवका अनुसार २०१३ सालमा श्यामदास वैष्णवको नेतृत्वमा राष्ट्रिय नाटक मण्डलको स्थापना भएको थियो । त्यस मण्डलमा राजा महेन्द्रको आर्थिक सौजन्य जुटेको थियो । त्यसै बेला विजय मल्लबाट लेखिएको नाटक ‘स्वामी रणबहादुर शाह’ मञ्चन गरिएको थियो । त्यो नाटक प्रभावशाली बनेको थियो । राजा महेन्द्रबाट त्यस नाटकलाई पुरस्कृत पनि गरिएको थियो ।

विजय मल्लले जम्मा दसवटा नाट्यकृति लेखे । उनले लेखेका नाटकमध्ये ‘कोही किन बरबाद होस्’ले प्रसिद्धिको शिखर आरोहण ग¥यो । साथै उनको अर्को नाटक ‘बहुला काजीको सपना’ले पनि ख्याति कमायो । ‘जिउँदो लास’ र ‘पहाड चिच्याइरहेछ’ भन्ने उनका नाट्यकृतिहरू पनि चल्तीमा आएका थिए ।

पहिला–पहिला नाटक प्रदर्शनी गर्दा रङ्गमञ्चका लागि गतिलो प्रविधिको विकास भएको थिएन । पछिल्ला दिनमा उनका कृतिमा आधारित नाटक देखाउन धेरै सुविधा हुन थालेको थियो । खास गरेर उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान पुगेपछि उनलाई नाटकमा काम गर्न धेरै सुविधा पुगेको थियो । उनका नाटकलाई अझ मलजल गर्ने कामचाहिँ शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए ।

नाटकलेखनदेखि प्रदर्शनसम्म पूर्ण रूपले त्यतैपट्टि नै मल्लको ध्यान हुन्थ्यो, त्यतै एकाग्रता हुन्थ्यो र त्यतै समर्पण पनि हुन्थ्यो । त्यसैले उनी यस क्षेत्रमा अत्यधिक सफल पनि भए । उनी नाट्यकलामा अति डुब्ने गर्थे । 

यसैबारे उनकी साइँली छोरी नीना ख्याउँजूले लेखेकी छिन्— ‘नाटक लेख्दा मेरा बुबा एक पात्र भएर यथार्थलाई अघि सार्नुहुन्थ्यो । नाटक लेखेपछि एकछिन बस्बस् भनेर नाटकको संवाद सुनाएर त्यो नाटकको पात्रअनुसार उहाँले अभिनय गरेर आवाज पनि त्यस्तै निकालेर सुनाउनुहुन्थ्यो । जहिले पनि कसरी बोल्नुपर्ने हो— रिसाएर बोल्नुपर्ने हो कि हाँसेर बोल्नुपर्ने कि ! अनुहारमा त्यही किसिमको भाव मिलाएर जहिले पनि मलाई सुनाउनु हुन्थ्यो । ...नाटक लेख्दा जहिले पनि एकदम नाटककै पात्र भएर उहाँ बोल्ने गर्नुहुन्थ्यो ।’

विजय मल्लका केही कृतिहरू चलचित्र निर्माणमा समावेश भएका थिए । नेपालमा निर्मित पहिलो रङ्गीन चलचित्र ‘कुमारी’ नै थियो र यसका लेखक मल्ल नै थिए । शाही नेपाल चलचित्र संस्थानबाट २०३४ सालमा यसको निर्माण गरिएको थियो । संस्थानका महाप्रबन्धक उत्तमलाल श्रेष्ठको प्रस्तुतिमा यसको निर्देशन प्रेमबहादुर बस्न्यातले गरेका थिए । यस चलचित्रका नायक शैल्यान केसी थिए भने नायिका चैत्यदेवी थिइन् । 

चलचित्रमा नीर शाह र लक्ष्मी श्रेष्ठले पनि प्रमुख अभिनय गरेका थिए । ‘कुमारी’ सांस्कृतिक चलचित्र थियो । व्यापारिक हिसाबले नबनेको हुँदा त्यो चलचित्रलाई त्यति सफल मानिएन । यति हुँदाहुँदै पनि नेपालका तर्फबाट ‘कुमारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समाविष्ट पहिलो चलचित्र नै थियो । यसबारे गौरव मान्दै ‘कुमारी’ चलचित्रकी नायिका चैत्यदेवीले भनिन्— ‘मैले आजसम्म जति मान पाएँ त्यसको पाश्र्व भूमिका ‘कुमारी’ नै हो ।’ नेपाली चलचित्रको इतिहासमा ‘कुमारी’लाई गौरवी मानिन्छ ।

नेपाली परम्परागत संस्कृतिको मान्यतामा आधारित एउटा बिम्ब कुमारी पनि हो । जीवित देवी कुमारीले वैवाहिक जीवनमा गाँसिन हुन्छ या हुँदैन भन्ने सार मल्लकृत ‘कुमारी’ हो । कुमारीले चलचित्रमा सफलता नपाएपछि मल्ल खिन्न भए । पछिसम्म पनि यस चलचित्रप्रति उनको दुखेसै थियो । यसै विषयमा उनले भनेका थिए— ‘कुमारी’को प्रस्तुतिले मेरो धीत मरेन ।’

‘कुमारी’बारे सुप्रसिद्ध चलचित्र निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले लेखेका छन्— ‘कुमारी चलचित्र पहिलो नेपाली रङ्गीन कथानक चलचित्र त थियो नै, नेपाली चलचित्रको इतिहासमा पहिलो पटक अङ्ग्रेजी भाषामा उपशीर्षक प्रयोग भएको चलचित्र पनि थियो । यसका नेपाली संवादका साथमा अङ्ग्रेजी उपशीर्षक राख्नुपर्ने वास्तविक कारणचाहिँ सन् १९८६ मा भारतको ब्याङ्लोरमा आयोजित सार्क फिल्म फेस्टिभलमा प्रदर्शनार्थ पठाउनु थियो र पठाइएको पनि थियो ।’ 

विजय मल्लकृत कथामा बनेको दोस्रो चलचित्र ‘बदलिँदो आकाश’ थियोे । शाही नेपाल चलचित्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक श्रीमती टीका सिंहद्वारा २०४० सालमा प्रस्तुत यस चलचित्रका निर्देशक लक्ष्मीनाथ शर्मा थिए । यसको नायक शिव श्रेष्ठ र नायिका सुषमा शाही थिइन् । साथै नीर शाह, हरिहर शर्मा, सुभद्रा अधिकारी, सन्तोष पन्त, टीका पहारीको गतिलो भूमिका थियो । र यो चलचित्र व्यावसायिक भएकाले जनप्रिय भयो । 

नेपाली चलचित्रको इतिहासमा यसलाई सफल मानिएको थियो । यस चलचित्रले सन् १९८४ मा सोभियत रूसमा सम्पन्न आठौँ अन्तराष्ट्रिय चलचित्र महोत्सवमा भाग लिएको थियो । त्यहाँबाट सोसल कमिट्मेन्ट अवार्ड प्राप्त गरेको थियो । 

त्यसपछि विजय मल्लकै लेखनमा ‘पच्चिस वसन्त’को निर्माण भएको थियो । २०४३ सालबाट छायाङ्कन सुरु भएको चलचित्र २०४५ सालमा प्रदर्शन गरिएको थियो । यस चलचित्रको निर्देशक नीर शाह थिए । चलचित्रका प्रमुख कलाकारहरू शिव श्रेष्ठ, अंशुमाला शाही, मिथिला शर्मा, पुरन जोशी, मौसमी मल्ल, हरिहर शर्मा, बसुन्धरा भुसाल, रवि शाह, सन्तोष पन्त, सुषमा शाही आदि थिए । 

साथै यसको सम्पूर्ण व्यवस्थापन र संयोजनको भूमिका मदनदास श्रेष्ठले निभाएका थिए । यो चलचित्र पञ्चायती व्यवस्था रजत जयन्तीसितको सरोकारमा केन्द्रित थियो । व्यावसायिक नभए तापनि यो चलचित्रले नेपाली जनमनलाई जितेको थियो ।

विजय मल्लले मनोवैज्ञानिक नाटक तथा आख्यान लेखनमा सिद्धिप्राप्त गरेकै थिए । मनोविज्ञानमा आधारित उनका कृति प्रायः सर्वप्रिय नै पनि भए । यसबारे सर्वत्र प्रशंसाका सिल पनि उनिए । यसै सन्दर्भमा नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि सुप्रसिद्ध स्रष्टा प्रा.डा.दयाराम श्रेष्ठले मल्लको मनोविज्ञानमा आधारित कथाको निष्कर्ष दिँदै लेखे— ‘विजयबहादुर मल्ल अन्तर्यथार्थ सन्धान गर्ने प्रतिभाशाली कथाकार हुन्, जसले यौन संवेगको विशिष्ट रूपलाई कथाको विषय बनाएर मनोविज्ञानका मान्यतामा आख्यानीकरण गरेका छन् ।’

नाट्यसम्राट् बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’नामक नाटक हेरेपछि विजय मल्लको किशोर मनमा नाटकप्रतिको मोह जागृत भएको थियो । अनि त्यही नाटकले नै उनीभित्र नाटक सिर्जनाको भावनाले श्रीगणेश गरेको थियो । त्यसैले बाँचुन्जेल मल्लले पनि आफ्नो नाटकगुरुका रूपमा समकै अर्चना गरिरहे । अन्ततः उनी पनि समकै हाराहारीका नाटक लेखककै रूपमा स्थापित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप

छुटाउनुभयो कि ?