बालेन एक फोबिया
सारांश
- बालेन शाहको उदयले पुराना राजनीतिज्ञहरूमा 'बालेन फोबिया' नामक एक नयाँ राजनीतिक डर पैदा भएको छ।
- यो फोबियाका लक्षणहरूमा सामाजिक सञ्जालमा बालेनको गतिविधि हेर्ने, उनको आलोचना गर्ने र काममा खोट खोज्ने जस्ता व्यवहारहरू पर्दछन्।
- बालेनले काम गरेर देखाउँदा र जनतालाई विकल्प दिएकाले पुराना नेताहरूको भाषणको खेती र लोभ देखाउने दिन अन्त्य भएको छ।
आजकल नेपालमा एउटा नयाँ रोग फैलिएको छ– ‘बालेन फोबिया’ । यो रोग खासगरी ती मानिसहरूमा देखिन्छ, जसले वर्षौँसम्म राजनीति भनेको आफ्नै घरको बिर्ता आफ्नो ससुरालीको पेवा भन्ठानेका थिए । जनतालाई चुनावको बेला सम्झने र चुनावपछि बिर्सने परम्परालाई लोकतन्त्रको संस्कार मानेका थिए ।
तर अचानक एउटा स्वतन्त्र युवक आयो र्याप गाएर व्यवस्थामाथि प्रश्न उठायो मेयरको चुनाव लड्यो जित्यो पुराना राजनीतिक गणितलाई उल्टाइदियो त्यही दिनदेखि धेरैको निद्रा हराएको छ । धेरैको झुटको व्यापार सकिएको छ । अहिले त्यही व्यक्ति प्रधानमन्त्री बनेको छ ।
जनताको मन जित्न खोज्दैछ । कसैलाई उनको बोलीले तर्सायो । कसैलाई उनको मौनताले । कसैलाई उनको निर्णयले टाउको दुख्यो भने कसैलाई उनको लोकप्रियताले । अनि सुरु भयो बालेन फोबिया । कर्मचारीहरू निजामती होउन् वा शिक्षक, विद्यार्थी होउन् वा प्राध्यापक राजनीतिमा देखे कारबाही गर्ने निर्णय खतरै फोबिया ।
यो फोबियाको लक्षण निकै रोचक छ । बिहान आँखा खुल्नासाथ सामाजिक सञ्जाल खोलेर आज बालेनले के गर्यो ? भनेर हेर्नु, दिउँसो चिया पसलमा बसेर देश चलाउने अनुभव छ र ? भन्नु अनि बेलुका टेलिभिजनको बहसमा बसेर यस्ता केटाले राजनीति बिगार्छन् भन्दै टाउको हल्लाउनु ।
अझ कतिपयलाई यस्तो डर छ कि कतै जनताले काम गर्ने मानिस खोज्न थाले भने आफ्नो राजनीतिक पसल नै बन्द हुन्छ कि ! त्यसैले बालेनका हरेक काममा खोट खोज्नु उनीहरूको राष्ट्रिय कर्तव्य जस्तै बनेको छ । सडक सफा गर्यो भने समस्या । डोजर चलायो भने समस्या । चुप लाग्यो भने समस्या । बोल्यो भने झन् ठुलो समस्या । आखिर समस्या बालेनमा होइन हो कि मनमा पसेको डर हो समस्या ।
हाम्रा पुराना राजनीतिक हिमायती महापुरुषहरूको हालत त झन् दयनीय छ । उखान टुक्का रमाइलो र खोक्रो लोभ देखाएर जनता लोभाउने दिनको अन्त्य भयो । उनीहरू वर्षौँदेखि भाषणको खेती गर्दै आएका थिए । विकासका सपना बेच्थे आश्वासनका फूल बाँड्थे अनि जनतालाई अब आउने चुनावमा भन्दै सधैँ भविष्यको टिकट काट्थे ।
तर बालेनले आएर त्यो पसलमै ताला लगाइदिए । उनले भाषण कम काम धेरै देखाउन थाले । अनि पुराना नेताहरूलाई ठुलो समस्या पर्दै गएको छ । अब जनतालाई के सुनाउने ? किनकि जनता अब भाषण भन्दा नतिजा हेर्न थालेका छन् । यही परिवर्तन नै धेरैका लागि त्रासदी बनेको छ । त्यसैले उनीहरूलाई बालेन कुनै व्यक्ति होइन एउटा राजनीतिक डर लाग्न थालेको छ ।
सामाजिक सञ्जालका केही स्थायी विश्लेषकहरूको हालत पनि कम रोचक छैन । उनीहरू हरेक बिहान एउटा नयाँ पोस्ट लेख्छन्, बालेन असफल हुँदैछन् । अब बालेन सकिए । यो लोकप्रियता धेरै टिक्दैन आदि आदि । तर अनौठो के भने यस्ता पोस्ट लेख्दा लेख्दै उनीहरूकै टाइमलाइन बालेनले भरिन्छ ।
उनीहरू बालेनलाई निन्दा त गर्छन् तर दिनभर बालेनकै चर्चा गर्छन् । यस्तो लाग्छ उनीहरूको राजनीतिक अस्तित्व नै बालेनमाथिको टिप्पणीमा टिकेको छ । उनीहरूका लागि बालेन आलोचना गर्ने विषय मात्र होइनन्, दैनिकी चलाउने ऊर्जा पनि हुन् । यो भन्दा ठुलो फोबिया के होला ?
नाम सुन्नासाथ केही मान्छेमा अनौठो प्रतिक्रिया देखिन थालेको छ । न आँखा दुख्छ, न टाउको, तर मन भित्र एउटा हल्का तनावको कम्पन सुरु हुन्छ । यही अवस्थालाई अहिले व्यंग्यात्मक रूपमा बालेन फोबिया भन्न थालिएको छ । यो कुनै मेडिकल रोग होइन, यो त राजनीतिक भावनाको एलर्जी जस्तै हो, जहाँ परिवर्तन देख्दा नै पुरानो आदतलाई चिलाउन थाल्छ ।
यस रोगको पहिलो लक्षण निकै स्पष्ट छ, जे गरे पनि आलोचना गर्नैपर्ने । प्रत्येक नयाँ निर्णयलाई डरको दृष्टिले हेर्ने बानी यसको दोस्रो लक्षण हो । पुरानो शैलीमा चलिरहेको राजनीति हल्लिएपछि केहीलाई यस्तो लाग्छ कि अब सबै प्रणाली नै ढल्छ । तर जनताले भने पहिलो पटक विकल्प देख्न पाएको महसुस गरेका छन् । यही अन्तरले फोबिया बढाइरहेको छ, एकातिर आशा अर्कोतिर पुरानो सहजता गुम्ने डर ।
बालेन फोबियाको सबैभन्दा गम्भीर असर परम्परागत सोचमा परेको छ । अब जनता प्रश्न गर्न थालेका छन् यदि एउटा ३६ बर्षको ठिटोले यति गर्न सक्छ भने वर्षौँदेखि सत्तामा बसेकाहरूले किन सकेनन् ? यही प्रश्न धेरैका लागि रातको निद्रा हराउने कारण बनेको छ । किनकि प्रश्नको जवाफसँगै जवाफदेहिता पनि आउँछ । अनि जवाफदेहिताबाट भाग्न चाहनेहरूका लागि बालेन एउटा त्रास बनेका छन् ।
उनीहरू चाहन्छन् जनता फेरि पुरानै शैलीमा फर्कून् । फेरि उही भाषणमा रमाउन थालून् । तर समस्या के छ भने बालेनले जनतालाई विकल्प देखाइदिएका छन् । विकल्प देखेपछि पुरानो भ्रममा फर्कन गाह्रो हुन्छ ।
प्रधानमन्त्री बनेपछि देशमा परिवर्तनको ठुलो आशा पलाएको छ तर यथार्थ हेर्दा जनताले अझै पनि परिणामको प्रतीक्षा गरिरहेका छन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल प्रशासन, युवालाई रोजगारी दिने जस्ता आकर्षक प्रतिबद्धता अघि सारेका छन्, जसले धेरैलाई उत्साहित बनायो ।
तर नेपाली प्रशासनको पुरानै सुस्त शैली कार्यालयहरूको ढिलासुस्ती, निर्णय कार्यान्वयनको कछुवा गतिले जनतामा प्रश्न पनि उठाएको छ । समर्थकहरू अलि समय दिनुपर्छ भन्दै आशा जगाइरहेका छन् भने आलोचकहरू घोषणाले मात्र देश बन्दैन भन्दै कटाक्ष गरिरहेका छन् ।
प्रधानमन्त्रीको मौन शैली बोल्दै बोल्दैनन नबोल्नु मौन हुनु नै एक फोबिया झन् कौतुहलता बढाएको छ काम भइरहेको छ कि योजना अझै कागजमै सीमित छ भन्ने प्रश्न चिया पसलदेखि संसद्सम्म गुञ्जिरहेको छ। अहिले देश यस्तो अवस्थामा छ जहाँ जनताले परिवर्तनको सपना देखिरहेका छन्, तर त्यो सपना वास्तविकतामा कहिले बदलिन्छ भन्ने उत्तर अझै भविष्यकै गर्भमा छ ।
बालेन व्यक्ति मात्र होइनन् एउटा मनोवैज्ञानिक कम्पन हुन् । उनले पुरानो राजनीतिक संरचनालाई हल्लाइदिएका छन् । पूर्व प्रधानमन्त्री जस्तालाई हिस्स बुढी खिस्स दाँत बनाइदिएका छन् । उनी कसैका लागि आशा हुन् कसैका लागि चुनौती र धेरैका लागि फोबिया ।
तर एउटा कुरा निश्चित छ फोबिया त्यही चीजसँग हुन्छ जसले डर पैदा गर्छ । डर त्यहीँबाट पैदा हुन्छ जहाँ परिवर्तनको सम्भावना हुन्छ । त्यसैले बालेन फोबियाको उपचार एउटा मात्रै छ काम गर्ने जवाफ दिने र जनताको विश्वास जित्ने । नत्र यो फोबिया अझ फैलिँदै जानेछ र एक दिन यस्तो अवस्था आउनेछ, जहाँ पुराना राजनीतिक रोगहरूको उपचार गर्न बालेन थेरापी नै आवश्यक पर्नेछ ।
(लेखक सामाजिक अभियन्ता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण