वरसाइत : दाम्पत्य रक्षाको प्रेरक पर्व
सारांश
- वट सावित्री पर्व, जसलाई वरसाइत पनि भनिन्छ, विवाहिता महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुखद वैवाहिक जीवनको कामना गर्दै मनाउने एक महत्वपूर्ण पर्व हो।
- यो पर्व जेष्ठ महिनाको अमावस्याको दिन मनाइन्छ र यसमा वटवृक्षको पूजा गर्ने परम्परा छ, जुन सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजबाट फर्काएर ल्याएको पौराणिक कथासँग जोडिएको छ।
- वरसाइत पूजामा विशेष सामग्रीहरू प्रयोग गरिन्छन् र नवविवाहिताको लागि यो पर्व विशेष तामझामका साथ मनाइन्छ, जसमा माइतीबाट 'भार' पठाउने चलन रहेको छ।
मिथिला समाजमा ‘सावित्री–सत्यवान’को एक पौराणिक प्रतीकात्मक कथा नारी पर्वका रूपमा प्रचलित छ । पतिव्रता नारी सावित्रीले अकाल मृत्युको सिकार हुन पुगेका पति सत्यवानलाई आफ्नो सत्यनिष्ठा र दृढ संकल्पको बलले यमराजबाट फर्काएर ल्याएको घटना नै यस पर्व र कथाको केन्द्रमा रहेको छ । यो घटना एक वटवृक्ष (वरको रुख) मुनि घटेको हुनाले प्रतीकात्मक रूपमा वटवृक्षको पूजा गर्ने परम्परा बस्यो, जसलाई वट सावित्री पर्व वा वरसाइत पर्व भनेर भनिन्छ ।
वरसाइत पर्व जेष्ठ मासको अमावस्याको दिन पर्दछ । यो व्रत विवाहिताहरूले आफ्ना पतिको स्वास्थ्य र दीर्घायुको लागि र सुखद वैवाहिक जीवनको लागि लिने गर्दछन् । वरसाइत पूजा सधवा स्त्रीले जीवनभर गर्ने गर्दछन् । तर विवाह भएको प्रथम वर्षमा भने यो पूजा विशेष तामझामका साथ सम्पन्न हुन्छ । विवाहपछिको पहिलो वरसाइत पूजा बृहत आयोजनका साथ गर्नुपर्ने हुन्छ । वरसाइत पूजाका लागि नवविवाहिताको घरमा माइतीबाट ठुलो डालोमा नववस्त्र तथा अन्य पूजन सामग्रीहरूको भार (पाहुर) पठाइने परम्परा छ । त्यस्तो वस्तु जो कुनै कुटुम्ब वा इष्टमित्र कहाँ व्यवहार पठाइन्छ, मिथिलामा त्यसलाई ‘भार’ भनिन्छ, जसले दुई परिवारबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
पहिलो वरसाइत पूजा प्रायः ससुरालीमा नै आयोजन गरिन्छ तर आवश्यकता वा परिस्थिति अनुसार माइतीमा पनि गर्नुमा कुनै रोक रहेको पाइँदैन । तर माइतीमा वरसाइत मनाउँदा ससुरालीले ‘भार’ माइत पठाई दिने चलन छ ।
मिथिलामा वटसावित्री पर्व एउटा अत्यन्त महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक उत्सव हो । विवाहिताहरू यस दिन नयाँ रातो वा पहेँलो वस्त्रमा सजिएर वरसाइत पूजामा बस्छन् । वरसाइत पूजा वटवृक्ष मुनि वा प्रतीकात्मक रूपमा वटवृक्षकै पूजा हुने भएको र वटवृक्ष घर वरिपरि नहुने हुँदा पूजाको लागि वटवृक्षमै पुग्नुपर्ने हुन्छ । स्वास्थ्य अवस्था वा अन्य कुनै कारणले बाहिर ननिस्कने महिलाहरूले वटवृक्षको डाल मगाई त्यो डाल आँगनमा पूजाकै लागि रोपी पूजाको अर्को दिन उखेली पूजाको निर्माल्यसँगै जलाशयमा सेलाइदिने गरिन्छ ।
बरसाइत पूजाका सामग्रीहरू पूजाको प्रकृतिअनुसारै अनौठो किसिमको रहेको देखिन्छ । यस पर्वमा प्रयोग हुने सामग्रीहरू प्राकृतिक र परम्परागत हुन्छन्, जसमा मिथिलाको मौलिकता झल्किन्छन् । पूजाको फूलपातबाहेक सबै पूजा सामग्री भारमै आएको हुन्छ । भारमा आउने सामग्रीहरूमा बाँसबाट बनेको बियनी (हातले हम्कने पंखा), डाली (टोकरी), पातिल, कनिया–पुतरा (सावित्री र सत्यवानको प्रतीक सरह कपडा वा माटोबाट बनेका दुलहा–दुलहीका आकृतिहरू), माटोको सानो भाँडोमा धानको लावा (भुटेको धान) जसको मुखमा धागोले १४ वटा बड़ (मासको दालको परिकार), वरको फल, धागो (रक्षासूत्र), सिन्दूर, काजर, बेसारको धुलो, चामलको पिठो (अरिपणका लागि), भिजाएको चना, आँप, केरा र अन्य ऋतु फलहरू हुन्छन् ।
वरसाइत पूजा दिउँसै गरिन्छ । सधवा स्त्रीहरूले नुहाइधुवाइ गरी नयाँ वस्त्र धारण गरी सामान्य पूजन सामग्री डालीमा लिई वटवृक्षमा पुगी वटवृक्षलाई जल, फूल, चन्दन, धूप, दीप, नेवैद्य आदि अर्पण गरी पूजा गर्दछन् र त्यससँगै रक्षासूत्रले वटवृक्षलाई पटकपटक बेरेर बियनिले हम्किन्छन् । उनीहरूका लागि वरसाइत पूजा यसरी पूरा हुन्छ । तर नवविवाहिताले गर्ने वरसाइत पूजामा झण्डै दुई प्रहरको समय लाग्दछ ।
नवविवाहिताले गर्ने पूजाका लागि वटवृक्षमुनि वा आँगनमा अरिपण बनाइएको हुन्छ । अरिपणमा वरको रुख, सावित्री–सत्यवान, यमराज र उनको वाहन (राँगो) को चित्र कोरिएको हुन्छ । छरछिमेकको महिलाहरूलाई वरसाइत पूजाको निम्तो दिइएको हुन्छ । पूजाको बेला महिलाहरूको राम्रै भीडभाड हुन्छ । वरसाइत पूजाको प्रारम्भ र समापन परम्परागत लोकगीतबाट हुन्छ । पूजाको क्रममा पनि गीतगान भइरहेकै हुन्छ । वटवृक्षको विधिवत पूजा तथा रक्षासूत्र बेर्ने कार्य पूरा भएपछि वटसावित्रीको व्रत कथा श्रवण गरिन्छ । पूजाका क्रममा उनीहरूले वरको रुखलाई रक्षासूत्रले १०८ पटक वा क्षमता अनुसार बेरेर ‘रक्षा सूत्र’ बाँध्छन् । पूजापछि बियनिले वृक्षलाई हम्कने चलन छ ।
वटसावित्री पूजाको प्रसाद केवल खाने कुरा मात्र नभई यो धार्मिक आस्था र स्वास्थ्य विज्ञानको सुन्दर मिश्रण हो । यस पूजाको सबैभन्दा अनिवार्य प्रसाद भिजाएको काँचो चना हो । कतिपय ठाउँमा भिजाएको चामल र मुँगको दाल पनि चढाइन्छ । भनिन्छ, सावित्रीले यमराजलाई पछ्याउँदै गर्दा तीन दिनसम्म अन्न त्याग गरेर केवल चना र फलफूल खाएर व्रत बसेकी थिइन् । त्यसैले यो प्रसादले उनको त्याग र निष्ठालाई प्रतिनिधित्व गर्छ ।
पूजाको समयमा र विशेष गरी वरको रुखमुनि व्रतालुहरूले समूहमा बसेर गाउने गीतहरूमा भक्ति, समर्पण र पतिको दीर्घायुको कामना हुन्छ । वरसाइत पूजा सुरु गर्दा देवी भगवती र गौरीको वन्दना गीत गान गरिन्छ । त्यसपछि वरसाइतका पारम्परिक गीतहरू गाइन्छ । वरसाइत गीतहरूमा प्रायः शृंगार, पति–पत्नी प्रेम, वरसाइत पूजाको विशिष्टता, सावित्रीको साहस र सत्यवानप्रतिको प्रेमको वर्णन पाइन्छ ।
यस्ता गीतहरूमा वरसाइत पुजव हम यौ सजना..., नही जाउ अहाँ पिया विदेश यौ.., चलु चलु सखी कैरके शृंगार पूजन वटवृक्ष... रहेको पाइन्छ । खासगरी नवविवाहिताको पूजा गीतहरूमा नयाँ दुलहीको पहिलो वरसाइतमा गाउने गीतहरूमा अलि बढी उत्साह र उमङ्ग रहेको हुन्छ । वर गाछक पात, सावित्री सती भेलि हो, सत्यवानक प्राण, यम सँ फिर्ता आनलि हो...“
सावित्री र सत्यवानको कथा महाभारतको वनपर्वमा उल्लेख गरिएको एउटा अत्यन्तै प्रेरक पौराणिक कथा हो, जसले प्रेम, पतिव्रत धर्म र दृढ संकल्पको शक्तिलाई दर्शाउँछ ।
मद्र देशका राजा अश्वपतिकी छोरी सावित्री अत्यन्तै सुन्दरी र गुणवती थिइन् । उनले आफ्ना लागि आफैँ वर खोज्ने क्रममा वनमा बस्ने सत्यवानलाई रोजिन् । सत्यवान साल्वा देशका अन्धा राजा द्युमत्सेनका छोरा थिए, जसको राज्य खोसिएपछि उनीहरू वनमा तपस्वीको जीवन बिताइरहेका थिए ।
सावित्रीले सत्यवानलाई रोजेपछि देवर्षि नारदले सत्यवानको आयु अब मात्र एक वर्ष बाँकी रहेको भविष्यवाणी गरेका थिए । राजा अश्वपतिले छोरीलाई अर्को वर रोज्न आग्रह गरे, तर सावित्रीले भनिन्, ‘मैले मनैदेखि उनलाई पति स्वीकार गरिसकेँ, अब जे भए पनि म उनैसँग विवाह गर्छु ।’ सत्यवानको मृत्यु हुने भनिएको दिनमा उनी सत्यवानसँगै वनमा दाउरा काट्न गएकी थिइन् । वनमा दाउरा काट्दै गर्दा सत्यवान अचानक बिरामी भए र सावित्रीको काखमा टाउको राखेर प्राण त्यागे ।
सत्यवानले प्राण त्यागेपछि यमराज त्यहाँ आइपुगे । यमराजले सत्यवानको प्राण लिएर दक्षिण दिशातिर जान लाग्दा सावित्री पनि पछि–पछि जान थालिन् । यमराजले सावित्रीलाई फर्किन धेरै आग्रह गरे, तर सावित्रीले आफ्नो बुद्धिमानी र धर्मका कुराले यमराजलाई प्रभावित पारिन् । प्रसन्न भएर यमराजले उनलाई सत्यवानको प्राणबाहेक तीनवटा वर माग्न भने । सावित्रीले आफ्ना ससुराको आँखाको ज्योति र हराएको राज्य फिर्ता, आफ्ना पिताका सय जना सन्तान र आफू सय जना पुत्रकी आमा बन्न पाऊँ भन्ने वर मागिन् । सावित्रीले पछ्याएकोबाट दिक्क भएका यमराजले तत्कालै तथास्तु भनिदिए । तर सावित्रीले सत्यवानबिना आफू आमा बन्न सम्भव नहुने तर्क गरेपछि यमराज आफ्नै वचनमा बाँधिएको थाहा पाए र उनले विवश भएर सत्यवानको प्राण फिर्ता गरिदिए ।
सत्यवानले वटवृक्षमुनि नै पुनर्जन्म पाएका थिए, त्यसैले यस रुखलाई कृतज्ञता स्वरूप पूजा गर्ने चलन बसेको हो । यस कथाले सावित्रीको चतुर्याइँ र साहसको वर्णन गर्छ, जसले मृत्युका देवतालाई समेत परास्त गरिन् ।
वरसाइत पूजामा दिउँसो उपवास बस्ने चलन छैन । पूजापछि भोजन गरिन्छ । यो पूजामा सात्विक आहार लिइन्छ, जसले शरीर र मनलाई शुद्ध राख्ने विश्वास गरिन्छ । जेठको गर्मीमा दिनभरि व्रत बस्दा शरीरमा पानी र ऊर्जाको कमी हुन्छ । भिजाएको चनाले व्रत तोडेपछि शरीरलाई तुरुन्तै शक्ति दिन्छ र पाचन प्रक्रियामा मद्दत पुरÞ्याउँछ । वरसाइतमा आमन्त्रित महिलाहरूलाई खिर पुडी खुवाई मात्र व्रतालुले आफूले पनि खिर पुडी नै खान्छन् । वरसाइत मान्ने सबै महिलाले पूजाको रातमा भने खाना खाँदैनन् ।
यस पर्वले महिलाहरूलाई सामूहिक रूपमा भेला हुने, लोकगीतहरू गाउने र आपसमा खुसी साटासाट गर्ने अवसर प्रदान गर्दछ । यसले समाजमा नारी शक्तिको सम्मान र वैवाहिक बन्धनको पवित्रतालाई झल्काउँछ ।
व्रत कथा अनुसार, जब सत्यवानको प्राण गयो, सावित्रीले उनको शरीरलाई वरको रुखको जरामा लुकाएर राखेकी थिइन् ताकि कुनै हिंस्रक जनावरले क्षति नपु¥याओस् । वरको रुखले आफ्नो विशाल छाया दिएर सत्यवानको शरीरलाई सुरक्षित राखेको थियो । त्यसैले सावित्रीले यमराजबाट प्राण फिर्ता ल्याएपछि सबैभन्दा पहिले त्यो रुखलाई धन्यवाद दिँदै पूजा गरेकी थिइन् । वटवृक्षको आकार, दीर्घायु (अक्षयवत) र झुण्डिएका जराहरू (स्तम्भको जरा) को लागि परिचित छ । यसलाई हिन्दू धर्ममा पवित्र मानिन्छ र त्रिमूर्ति (ब्रह्मा, विष्णु र शिव) को निवास मानिन्छ । वटवृक्ष एक सदाबहार रूख हो, जुन ठुलो क्षेत्रमा फैलिन सक्छ । यसको हाँगाहरूबाट जराहरू जमिनमा बढ्छन्, नयाँ हाँगाहरू बनाउँछन् ।
वटवृक्षको पूजाले दीर्घायु प्रदान गर्छ । आयुर्वेदमा, वटवृक्षको बोक्रा, दूध, पातहरू र फलहरू घाउ, गिजाको समस्या र छालाको रोगको उपचार गर्न प्रयोग गरिन्छ । यसले ठुलो मात्रामा अक्सिजन उत्सर्जन गर्छ र यसको पातहरू अनिकालको समयमा पशु चाराका रूपमा प्रयोग गरिन्छ ।
मिथिलामा प्रकृतिको पूजा गर्ने परम्परा छ । मिथिलामा सनातन धर्मावलम्बीहरूले धर्म कीर्तिका लागि वर र पिपलको वृक्ष रोप्ने, स्याहार गर्ने र ठुलो भएपछि दुबै वृक्षको विवाह गराउने चलन छ । मिथिला संस्कृतिमा वर (बोट) र पिपलको विवाह गराउनु केवल एउटा धार्मिक अनुष्ठान मात्र नभएर यो प्रकृति र मानवबीचको गहिरो सम्बन्धको प्रतीक पनि हो ।
हिन्दू धर्ममा वरलाई भगवान शिव र पिपललाई भगवान विष्णुको रूपमा पुजिन्छ । यी दुईको विवाहले समाजमा दाम्पत्य जीवनको पवित्रता, मेलमिलाप र वंश विस्तारको सन्देश दिन्छ । मिथिलामा वर–पिपल रोप्नु र विवाह गराउनुलाई ठुलो ’पुण्य’ को काम मानिन्छ । जसरी सन्तानको विवाह गरिन्छ, त्यसरी नै वृक्षको विवाह गरिदिँदा पितृहरूले मुक्ति पाउने र कर्तालाई यश मिल्ने विश्वास गरिन्छ । यस्ता विवाह उत्सवमा गाउँलेहरू भेला हुने, भोज खाने र सामूहिक खुसी साटासाट गर्ने हुनाले यसले सामाजिक सद्भाव र एकतालाई मजबुत बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण