बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
प्रचण्डसँग प्रश्नोत्तर

वामपन्थी आन्दोलनले ठुलो धक्का खायो, आजको आवश्यकता मूल रूपमा एमालेसहितको वाम एकता हो : प्रचण्ड

‘बालेन शाह नेतृत्वको सरकारको नियत गलत’
आइतबार, ०३ जेठ २०८३, १४ : १४
आइतबार, ०३ जेठ २०८३

सारांश

  • पुष्पकमल दाहाल 'प्रचण्ड' ले वाम एकता आवश्यक रहेको बताएका छन् ।
  • उनले एमालेसहितको वाम एकता अहिलेको आवश्यकता भएको तर तत्काल सम्भव नभएको बताए ।
  • प्रदेश सरकारहरूमा सबै दल मिलेर साझा सरकार बनाउनुपर्ने प्रचण्डको भनाइ छ ।

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय वाम एकताको कुरा अगाडि बढाइरहेका छन् । यसअघि एक दर्जन कम्युनिस्ट घटकसँग एकता गर्दा पनि कमजोर नतिजा ल्याएका उनी अहिले एमालेसहितको वाम एकता गर्नुपर्ने पक्षमा वकालत गरिरहेका छन् ।

यद्यपि तत्काल एकता सम्भव नहुने प्रचण्डले नै बताइरहेका छन् । शनिबार सुर्खेत आएका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग प्रश्नोत्तर कार्यक्रम राखे ।

सोही क्रममा उनले नेपाली कम्युनिस्ट पार्टीको भावी योजना, प्रदेश सरकारको भविष्य र वाम एकताको विषयमा पत्रकारका प्रश्नको जबाफ दिएका थिए । प्रस्तुत छ, प्रश्नोत्तर कार्यक्रममा प्रचण्डलाई सोधिएका प्रश्न र उनले दिएका जबाफको सम्पादित अंशः

तपाईंले पछिल्लो समय पटक–पटक वाम एकताको कुरा गरिराख्नु भएको छ, यो सम्भव छ ? यसमा गृहकार्य भइरहेको छ ?

हामीले नीतिगत रूपमा भर्खरै हाम्रो पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले आफ्नै पार्टीलाई पुनर्गठित गर्ने र महाधिवेशनसम्म लगेर विचार, राजनीति, संगठन हरेक दृष्टिकोणले नयाँ पार्टी बनाउने एउटा निर्णय गरेका छौँ ।

दोस्रो, कम्युनिस्ट आन्दोलनको एकता गरेर जानुपर्दछ, किनभने वामपन्थी आन्दोलनले गत फागुनको चुनावमा पक्कै पनि धक्का खाएको छ । एकताको आवश्यकता देखिएको छ भनेर नीतिगत निर्णय नै गरेका छौँ ।

तपाईंले भनेकोजस्तै त्यो नीतिगत निर्णयको साथसाथै विभिन्न वामपन्थी समूह र नेताहरूसँग औपचारिक–अनौपचारिक छलफल भइराखेको पनि छ, तर तत्कालै एकता भइहाल्ने, एउटै पार्टी बनिहाल्ने अवस्था त बनेको छैन । सहकार्य गर्दै गएर, समझदारी बनाउँदै गएर, विश्वास बढाउँदै लगेर एउटा बिन्दुमा गएर ध्रुवीकरण हुनुपर्छ भन्ने हाम्रो धारणा छ । म आफैँले पार्टीको संयोजकको हैसियतले त्यसमा पहल गरिराखेको छु ।

यसअघि नै झन्डै दर्जन कम्युनिस्ट घटकसँग तपाईंले एकता गरिसक्नु भयो, अब बाँकी रहेको एमाले हो । एमालेसँग केही छलफल भएको छ त ?

हाम्रो कुरा समग्र नै हो । वामपन्थी भनेको एमाले र नेकपामात्रै होइन, अरु पनि छन् । उनीहरूसँग पनि कुरा भनेको हो, तर अहिलेको अवस्थामा देशको परिस्थितिमा अर्थपूर्ण र परिणाममुखी एकता भनेको एमालेसँगै हो ।

एमालेसँग त यसअघि पनि (०७४ मा) एकता भएकै हो, त्यसमा तपाईंहरू फेल भइसक्नुभयो । जनताले पनि तपाईंहरूलाई पत्याएको अवस्था छैन, पुनः सम्भव छ त एकता ?

छ । वामपन्थी जनमत अहिले पनि नेपालमा ठुलो छ । मत परिवर्तन त ०६४ मा सबै माओवादीजस्तो देखिएको थियो, ०७४ मा नेकपाको दुई–तिहाइ नै थियो । अहिले रास्वपाको देखिएको छ । मत परिवर्तन जनताले यसो स्थिति हेरेर गर्ने कुरा नेपालमा स्वाभाविक हो, र फेरि वामपन्थी जनमतको दृष्टिकोणले हामीले एकताबद्ध भएर जाँदा फेरि पनि ठुलो जनमत आकर्षित गर्न सकिन्छ भन्ने आधार पनि छँदैछ ।

त्यसकारण एकदुई चोटी असफल भयो भन्दैमा केही फरक पर्दैन । तपाईंले माकुराको कथा त पढ्नुभएकै होला नि ! माथि चढ्न खोज्दा कति चोटी बल गरेपछि लास्टमा चढी छाड्छ । त्यस्तै हामीले राम्रो उद्देश्यको निम्ति कुनै काममा एकचोटी फेल भयो, अब सकियो भन्ने सोच्नु हुन्न । लगातार मेहनत गर्नुपर्छ, हामीले गरिरहेका छौँ । हेर्दै जानुहोला ।

हालकै नेपाली कम्युनिस्ट पार्टीभित्र प्रदेशमा तोकिएको जिम्मेवारीको विषयलाई लिएर व्यापक असन्तुष्टि देखिएको छ, जस्तो माओवादीको आधार इलाका कर्णालीमा साविक समाजवादीका नेतालाई जिम्मा दिइएको छ । वर्तमान पार्टी नै जोगाउन हम्मेहम्मे परेका वेला अन्य दलसँग एकताको कुरा सुहाउँदो भएन कि ?

मलाई त्यस्तो असन्तुष्टि भएकोजस्तो लाग्दैन । मलाई फेरि कार्यकर्ताले त्यस्तै ठानेको भन्ने कहीँ–कहीँ लाग्या त होला, तर तपाईंले भनेकोजस्तो आम रूपमा कार्यकर्ताको मनस्थिति त्यो पनि होइन । हाम्रो लिडरसिपले हिजो पनि वामपन्थी एकताको निम्ति त्याग, पहल गरेको र नेकपा बनाएर दुई–तिहाइको नजिक पु¥याएको पनि हो । अहिले फेरि पनि वामपन्थी एकताका लागि पहल गरेकोमा हाम्रा साथीहरूले, जनयुद्ध लडेर आएका साथीहरूले गर्व नै गरेका छन् । मलाई लाग्छ ९९ प्रतिशतले गर्व नै गरेका छन् । अझै एकताका लागि बल गरेकोमा खुसी छन् । अब केही–केही साथीलाई अलिकति तल–माथि परेकोजस्तो लागेको हुन सक्छ, तर एउटा बृहत्तर उद्देश्यको निम्ति, परिवर्तनको निम्ति यो कुरा माइनर हो । त्यसमाथि पनि हामी महाधिवेशनमा जाँदैछौँ भने आखिरमा महाधिवेशनमा जाँदा त सम्मेलनबाट निर्वाचित कमिटी बन्छ । जो साथीहरूले राम्रो योगदान गर्नुभएको छ, राम्रो भूमिका खेल्नुभएको छ, ती साथीहरू त अगाडि आइनै हाल्छन् ।

अब वर्तमान प्रदेश सरकारबारे कुरा गरौँ, अहिले प्रदेश सरकारमा नेकपा छैन, तर  प्रदेशमा कम्युनिस्ट घटकको सरकार बनाउने चर्चा पनि छ । यो विषयमा शीर्ष नेताहरूबिच छलफल भइरहेको हो ?

कुरा त मसँग सबैको भइरहेकै छ । हिजो पूर्णबहादुर खड्कासँग पनि एकछिन भेट भएको थियो । प्रमुख पार्टीहरूले प्रदेशका सरकारहरू हामी मिलेर बनाऔँ भनेर कतै कांग्रेसको तर्फबाट, कतै एमालेको तर्फबाट प्रस्ताव हामीकहाँ आउने गरेको थियो, आइराखेको पनि छ, तर हाम्रो पार्टी र संयोजकको हैसियतले मैले इन्कार गरेको छु । अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ । त्यसले फेरि जनतामा भ्रममात्रै सिर्जना गर्छ, अरुहरूलाई मद्दत पु¥याउन सक्छ ।

अहिले कांग्रेसलाई बाहिर पठाएर एमालेसँग मिलेर सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेससँग मिलेर सरकार बनाउने नीति आजको परिस्थितिमा गलत छ भनेर हामीले इन्कार गरेका छौँ । हामीले भनेका छौँ, यदि प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउनुप¥यो । त्यसमा चाहिँ सहमति हुन्छ ।

त्यसो ग¥यो भने लोकतन्त्र, गणतन्त्रका पक्षधर तथा हिजोको शान्ति सम्झौता र संविधान सभाका पक्षधर सबै शक्ति एक ठाउँमा आउँछ । त्यसले जनतालाई पनि एउटा ढाडस, एउटा राहत अहिले हुन्छ । सरकार पनि तुलनात्मक रूपले राम्रो चल्न सक्छ । त्यसकारण हाम्रो कुरो सर्वदलीय सरकार बनाउने हो । त्यो प्रदेश सभामा प्रतिनिधित्व भएका दलहरूको सरकार बनाउने हो भने हामी सहमत छौँ । होइन भने अहिले जसरी एमाले—कांग्रेसले चलाइराख्या छन्, चलाउनुस् । हामीलाई चाहिएको छैन भनेका छौँ । हामीलाई सरकारबारे कुनै हतारो छैन । हामी आफ्नो बाटोमा अगाडि बढिसकेका छौँ । अब हेरौँ, केही दिनभित्र सायद देखिन्छ– सर्वदलीय सरकार बन्छ कि यिनै सरकार अगाडि बढिराख्छ !

अब सरकारबारे, अहिले ट्रेड युनियन र विद्यार्थी संगठनहरूको बारे तपाईंको धारणा के हो ? सरकारको कार्यसम्पादनबारे समीक्षा ?

मैले यो विषयमा पार्लियामेन्टमा औपचारिक ढंगले र गम्भीर ढंगले विषय उठाएको छु । सर्वोच्च अदालतले पनि त्यसलाई अहिले ‘स्टे’ गरिदिएको छ । त्यसकारण ट्रेड युनियन या विद्यार्थीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउन खोज्ने कुरा अब अगाडि जाँदैन भन्ने हामीलाई विश्वास छ ।

अर्को, बालेन शाह नेतृत्वको सरकारको नियत ठिक देखिएन । अध्यादेश ल्याउनेदेखि सुकुमबासी समस्याको विषयमा समर्थन गर्नेभन्दा धेरै विरोध गर्नुपर्ने, प्रतिवाद गर्नुपर्ने कुरा देखिएको छ । हामीले आफ्ना कुरा संसदबाट पनि राखेका छौँ । सरकारले ध्यान नदिएको खण्डमा सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गर्ने दिन आउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप