प्लेअफको आशा जीवित राख्न दिल्ली र राजस्थान भिड्दै
सारांश
- आईपीएल २०२६ अन्तर्गत दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्लेअफको आशा जीवित राख्न आइतबार दोस्रो खेल हुँदैछ।
- दिल्ली १२ खेलबाट १० अंकसहित सातौँ र राजस्थान ११ खेलबाट १२ अंकसहित पाँचौँ स्थानमा छ।
- दुवै टोलीबीच हालसम्म ३१ खेल भएका छन् जसमा समान १५-१५ खेल जितेका छन्।
नयाँ दिल्ली । आईपीएल २०२६ मा आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्। यो म्याच नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलिनेछ।
दुवै टोलीलाई प्लेअफको दौडमा टिकिरहन यो जित आवश्यक छ। दिल्ली १२ खेलबाट १० अंकसहित अंकतालिकाको सातौँ स्थानमा छ भने राजस्थान ११ खेलबाट १२ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ।

- दुवै टोली ३२औँ पटक आमनेसामने हुँदै
दुवै टोलीबिच हालसम्म ३१ म्याच भएका छन्। जसमा दिल्ली र राजस्थान दुवैले समान १५-१५ खेल जितेका छन्। एउटा खेल ‘टाई’ भएको थियो, जसमा राजस्थान विजयी बनेको थियो।
यस सिजन यी दुई टोली दोस्रो पटक भिड्न लागेका हुन्। जयपुरमा खेलिएको अघिल्लो म्याच दिल्लीले जितेको थियो।
- स्टार्क भर्सेस सूर्यवंशीको रोमाञ्चक भिडन्त
यस म्याचको सबैभन्दा रोचक भिडन्त मिचेल स्टार्क र वैभव सूर्यवंशीबिच हुनेछ। वैभवले ११ खेलमा २३६.५५ को स्ट्राइक रेटमा ४४० रन बनाएका छन्, जसमा ४० छक्का समावेश छन्।

अर्कोतर्फ, ४०० भन्दा बढी टेस्ट विकेट लिइसकेका मिचेल स्टार्क आईपीएलमा कहिले महँगो साबित हुन्छन् त कहिले म्याच जिताउने स्पेल फ्याँक्छन्। यदि उनले सुरुवाती स्विङ र सीम पाए भने वैभवलाई मुस्किल पर्न सक्छ।
- दिल्लीको कमजोरी: स्पिन जोडी
दिल्लीका लागि सबैभन्दा ठूलो चिन्ता आफ्ना स्पिनरहरूको खराब फर्म हो। कप्तान अक्षर पटेल र कुलदीप यादवको जोडीले यस सिजन न विकेट लिन सकेको छ न त रन नै रोक्न सकेको छ।
लुङ्गी एनगिडीलाई छाडेर दिल्लीको पेस अट्याक पनि सामान्य नै रहेको छ। टी नटराजन र मुकेश कुमार महँगो साबित भएका छन्। यद्यपि, अक्षर पटेल टोलीका शीर्ष विकेट लिने बलर हुन्। त्यस्तै, केएल राहुल १२ खेलमा ४७७ रनसहित टोलीका टप रन स्कोरर हुन्।

- राजस्थानका लागि कप्तान रियानको फर्म चिन्ताको विषय
राजस्थानका लागि कप्तान रियान परागको फर्म चिन्ताको विषय बनेको छ। उनले १० खेलमा १४३ को स्ट्राइक रेटमा जम्मा २०७ रन बनाएका छन्। उता, वैभव सूर्यवंशी, यशस्वी जैसवाल र ध्रुव जुरेलको तिकडी दिल्लीका बलरहरूमाथि भारी पर्न सक्छ। वैभव ११ खेलमा ४४० रनसहित टोलीका टप रन स्कोरर हुन्।
यद्यपि, राजस्थानको बलिङ अट्याक बलियो छ। जोफ्रा आर्चर १५ विकेटसहित टोलीका शीर्ष विकेट लिने बलर हुन्।
जसमाथि रहनेछ नजर
- यशस्वी जैसवाल
प्रतियोगिता अघि बढ्दै जाँदा यशस्वी जैसवालको प्रदर्शन खस्किँदै गएको छ। आफ्ना पहिलो चार इनिङ्समा उनले ९१.५० को औसतमा १८३ रन बनाएका थिए। तर पछिल्ला सात इनिङ्समा उनले १८.९० को औसतमा मात्र १३२ रन बनाएका छन्।

जैसवाल र स्टार्कबिच २०२४-२५ को बोर्डर-गावस्कर ट्रफीदेखिको इतिहास छ र उनीहरूबीच खासै राम्रो सम्बन्ध देखिँदैन। यसै महिनाको सुरुमा भएको अघिल्लो भिडन्तमा जैसवालले पहिलो बलमै छक्का प्रहार गरेका थिए, तर सोही ओभर नसकिँदै स्टार्कले उनलाई आउट गरेका थिए।
- ट्रिस्टन स्टब्स
ट्रिस्टन स्टब्स यस सिजन सबैभन्दा सुस्त सुरुवात गर्ने ब्याट्सम्यानमध्ये एक हुन्, जसको पहिलो १० बलमा स्ट्राइक रेट जम्मा १११ रहेको छ। यसरी ब्याटिङ गर्नुको पछाडिको मुख्य उद्देश्य पिच र परिस्थितिलाई बुझ्नु अनि त्यसपछि आक्रामक खेल्नु हो।

तर सेट भइसकेपछि पनि स्टब्सको स्ट्राइक रेट खासै राम्रो छैन- २० बल क्रस गरेपछि उनको स्ट्राइक रेट १४० मात्र रहन्छ। यद्यपि, उनी यी तथ्याङ्कले देखाएभन्दा निकै उत्कृष्ट खेलाडी हुन्।
- अरुण जेट्ली स्टेडियमको पिच रिपोर्ट
अरुण जेट्ली स्टेडियमको पिच आईपीएलमा ब्याट्सम्यानहरूका लागि सहयोगी मानिन्छ। सपाट पिच र ६०-६६ मिटरको छोटो बाउन्ड्रीका कारण यहाँ ‘हाई-स्कोरिङ’ म्याचहरू हुने गर्छन्। यहाँ आईपीएलका १०३ म्याच खेलिएका छन्।
यहाँ ४७ पटक पहिले ब्याटिङ गर्ने र ५३ पटक लक्ष्य पछ्याउने टोलीले जितेका छन्। एक खेल रद्द भएको थियो भने दुई खेल सुपर ओभरमा पुगेका थिए।
- दिल्लीमा आज वर्षाको सम्भावना छैन
दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबिचको खेलका दौरान मौसम गर्मी रहने सम्भावना छ। वर्षाको कुनै सम्भावना छैन। साँझपख गर्मी र उमस (ह्युमिडिटी) ले खेलाडी र दर्शकहरूलाई समस्यामा पार्न सक्छ। दिउँसोको तापक्रम ३८°C देखि ४०°C को बीचमा रहनेछ, जुन साँझसम्म ३०°C को हाराहारीमा पुग्नेछ।

के पराग मैदानमा फर्किंदैछन्?
यस म्याचअघि परागले नेटमा अभ्यास गरेका छन्। उनी राजस्थानको १२ सदस्यीय टोलीमा फर्किने बलियो सम्भावना छ। दिल्लीले टप अर्डर सम्हाल्न केएल राहुल र आफ्नो लयमा फर्किन कुलदीप यादवमाथि नै भरोसा गर्ने सम्भावना छ किनभने ती स्थानका लागि उनीहरूसँग सीमित विकल्पहरू मात्र छन्।
- दिल्ली क्यापिटल्स (सम्भावित ११): १. अभिषेक पोरेल, २. केएल राहुल (विकेटकिपर), ३. साहिल पारख, ४. डेभिड मिलर, ५. आशुतोष शर्मा, ६. अक्षर पटेल (कप्तान), ७. ट्रिस्टन स्टब्स, ८. माधव तिवारी, ९. कुलदीप यादव, १०. मिचेल स्टार्क, ११. लुङ्गी एनगिडी, १२. मुकेश कुमार।
- राजस्थान रोयल्स (सम्भावित ११): १. यशस्वी जैसवाल, २. वैभव सूर्यवंशी, ३. ध्रुव जुरेल (विकेटकिपर), ४. रियान पराग (कप्तान), ५. डोनोभान फरेरा, ६. शुभम दुबे, ७. रविन्द्र जडेजा, ८. जोफ्रा आर्चर, ९. रवि विश्नोई/यश पञ्जा, १०. नान्द्रे बर्गर/एडम मिल्ने, ११. ब्रिजेश शर्मा, १२. तुषार देशपाण्डे।
तथ्याङ्क र रोचक जानकारी
- सूर्यवंशीले यस सिजन पावरप्लेमा सर्वाधिक (३०) र समग्रमा पनि सर्वाधिक (४०) छक्का प्रहार गरेका छन्। उनको कुल ४४० रनमध्ये ५०% भन्दा बढी रन मैदान बाहिर बल पठाउन सक्ने उनको सहज क्षमताको नतिजा हो। र, दिल्ली एउटा सानो क्रिकेट मैदान हो।
- डेथ ओभरमा दिल्ली निकै खतरनाक ब्याटिङ टोली हो। उनीहरूले प्रति ओभर ११.४ को दरमा रन बनाएका छन्, जुन लिगकै दोस्रो उत्कृष्ट हो। डेभिड मिलर (स्ट्राइक रेट २३०) र आशुतोष शर्मा (स्ट्राइक रेट २१९) यसका मुख्य कडी हुन्।
- राजस्थानसँग यस परिस्थितिलाई नियन्त्रण गर्ने उपायको रूपमा जोफ्रा आर्चर छन्, जसको सबै टी-२० क्रिकेटमा मिलरविरुद्ध उत्कृष्ट रेकर्ड छ: ५ इनिङ्समा १९ रन दिएर २ पटक आउट, जहाँ मिलरको स्ट्राइक रेट ९० मात्र छ।
- डोनोभान फरेरा डेथ ओभरमा खतरनाक हुन सक्छन् । उनी १७ देखि २० ओभरको बिचमा जम्मा तीन पटक मात्र क्रिजमा आएका छन्। तर यति नै खेल्दा पनि उनी लिगको अन्तिम ओभरहरूमा सर्वाधिक छक्का (११) प्रहार गर्ने खेलाडी बनिसकेका छन्, जहाँ उनको प्रति छक्का बल अनुपात २.६३ रहेको छ।
- मुकेश कुमारले हालसम्म लिएका ६ विकेटमध्ये ४ विकेट बायाँहाते ब्याट्सम्यानका हुन्, जसमा उनको औसत २४.२५ र इकोनोमी रेट ९.०९ रहेको छ। दिल्लीले उनलाई शीर्ष क्रममा जैसवाल र सूर्यवंशीविरुद्ध उतार्ने सम्भावना छ। यस आईपीएलमा दायाँहाते ब्याट्सम्यानविरुद्ध मुकेशको तथ्याङ्क: औसत १०८ र इकोनोमी रेट ११.७८ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण