बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आफ्नै परिवार र आफन्तलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आयो : महर

आइतबार, ०३ जेठ २०८३, १६ : ५५
आइतबार, ०३ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभएर विचार, अनुशासन र दृष्टिकोणको सङ्गम भएको बताएका छन् ।
  • उनले राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग सम्बन्ध र सञ्चार गर्न नसकेको स्वीकार गर्दै पार्टीका कार्यक्रमहरूमा ४० वर्षभन्दा बढी उमेरकाहरूको सहभागिता ९० प्रतिशतभन्दा बढी देखिने गरेको बताए ।
  • महरले आफ्नै परिवार र आफन्तलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आएको तर्क गर्दै पार्टीले कार्यशैली र सञ्चार पद्धतिमा सुधार गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभएर विचार, अनुशासन र दृष्टिकोणको सङ्गम भएको बताएका छन् । 

राजनीतिक गतिविधिहरूमा युवा पुस्ताको न्यून उपस्थितिलाई लिएर उनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

आइतबार मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले परिकल्पना गरेको युवा उमेर र विचारको फ्युजन भएको उल्लेख गरे । पछिल्लो समय पार्टीका कार्यक्रम र आन्दोलनहरूमा युवा सहभागिताको खाडल बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । 

महरले राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग ‘कनेक्सन’ (सम्बन्ध) र ‘कम्युनिकेसन’ (सञ्चार) गर्न नसकेको स्वीकार गरे । महरले भने, ‘युवा भनेको उमेर मात्र होइन, यो एउटा विचार, अनुशासन र परिवर्तनप्रतिको समर्पण पनि हो । यदि कोही युवा छ तर निष्क्रिय भएर अरूबाट मात्र अपेक्षा गर्छ भने, त्यसलाई वास्तविक युवा मान्न सकिँदैन । हाम्रा कार्यक्रमहरूमा ९० प्रतिशतभन्दा बढी सहभागीहरू ४० वर्ष माथिका देखिन्छन् । नयाँ पुस्ता अर्थात् ‘जेनजी’ को उपस्थिति नदेखिनुमा हाम्रा कमी–कमजोरीहरू कहाँ रहे, त्यसको तथ्यपूर्ण खोजी हुनुपर्छ । हामीले केवल कुराले मनाउने कोसिस मात्र गर्‍यौँ, तर वास्तविक सम्बन्ध स्थापित गर्न सकेनौँ ।’

नेता तथा कार्यकर्ताहरूले आफ्नै परिवार र आफन्तलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आएको उनको तर्क छ । मुख्य सचेतक महरले युवाहरूलाई राजनीतिमा आकर्षित गर्न र आन्दोलनसँग जोड्नका लागि पार्टीले आफ्नो कार्यशैली र सञ्चार पद्धतिमा सुधार गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप