सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भिडियो वार्ता

विशेष महाधिवेशनको हस्ताक्षर पार्टीले रोकिसकेको छ : पद्मा अर्याल (भिडियो कुराकानी )

सोमबार, ०४ जेठ २०८३, १२ : ४६
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ, जसमा नेताहरूको कार्यविभाजन र चुनावी समीक्षा गरिनेछ ।
  • पार्टीभित्र विशेष महाधिवेशनको माग उठिरहे पनि हालसम्म औपचारिक रूपमा छलफल नभएको र हस्ताक्षर अभियान रोकिएको सचिव पद्मा अर्यालले बताइन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्रीले संसदीय अभ्यासको परम्परा तोडेको र यसले गम्भीर असर पार्ने अर्यालको भनाइ छ ।

काठमाडौँ । लामो समयपछि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । यो बैठकले नेताहरूको कार्यविभाजनदेखि चुनावी समीक्षासम्म गर्ने बताइएको छ ।

फागुन २१ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब छ । पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । यस्तो अवस्थामा अध्यक्ष ओलीले सहजै नेतृत्व छोड्लान् ? सचिवालयमा यो विषय प्रवेश हुन्छ ? एमाले सचिव पद्मा अर्यालसँग रातोपाटीले सोधेको छ ।

प्रस्तुत छ, सचिव अर्यालसँग रातोपाटीका लागि फणीन्द्र नेपालले गरेको कुराकानी : 

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ । लामो समयपछि बस्न लागेको बैठकका एजेन्डा के–के हुन् ?

हाम्रो पार्टीको बैठक यसअघि नै बसिसक्नुपर्ने थियो । परिस्थितिले साथ दिएन । चुनाव सकेर आउनेबित्तिकै बस्दा अलि हतारो हुन्छ कि भन्ने भयो । हतारोको छलफलले कहिलेकाहीँ ठिक ठाउँमा पनि पुर्‍याउँदैन भनेर हप्ता–दश दिनभित्र गर्न खोजिएन । अब त्यही बिचमा अध्यक्षको बुवा बित्नुभयो र अध्यक्ष दुःखमा पर्नुभयो । दुःखबाट अध्यक्ष निस्किएपछि बस्नुपर्ला भनेको, फेरि वर्तमान सरकारले अध्यक्षलाई गिरफ्तार गर्‍यो । उहाँ १२–१३ दिन हिरासतमा बस्नुपर्ने खालको परिस्थिति आयो ।

त्यहाँबाट सकिएपछि उहाँको स्वास्थ्य समस्या भएर अप्रेसन गर्नुपर्ने स्थिति बन्यो र अहिले पनि स्वास्थ्य लाभ गरिहनुभएको छ । अबको बैठकमा पनि उहाँ लामो समय बस्न सक्नुहुन्छ भन्ने मलाई लाग्दैन । बैठकमा लामो समयसम्म हामीजसरी बस्न सक्ने स्थिति उहाँको छैन ।

तसर्थ, लामो समयदेखि नचलिरहेको बैठकलाई सुरुवात गर्ने, तत्काल गर्नुपर्ने कामहरूको योजना बनाउने र तलतिर पनि कामहरू सुरु गर्ने गरीे बैठक आयोजना भएको छ र त्यही ढङ्गले नै यो बैठक सकिन्छ भन्ने मलाई लाग्छ ।

  • निर्वाचनको समीक्षा र नेताहरूको कार्यविभाजनमा एमाले ढिला गरेको छ । यो बैठकमार्फत कसरी हुँदैछ नेताहरूको कार्य विभाजन ?

यो विषयमा महासचिव कमरेडले गृहकार्य गर्नुभएको छ । हामी प्रदेशका इन्चार्जको हैसियतमा सबै केन्द्रीय सदस्यहरूलाई अलि बढी भूगोलमा केन्द्रित गरौँ भन्ने मनसायका साथ क–कसलाई के–के गर्दा ठिक होला भनेर एकभन्दा धेरै केन्द्रीय सदस्य भएका जिल्लाका साथीहरूसँग सामान्य सुझाव माग्ने काम भएको छ (पदाधिकारी लेभलको नभएर त्योभन्दा मुनिको हकमा) ।

स्थायी र पोलिटव्युरो गठन नभएकाले केन्द्रीय सदस्यहरूको हकमा यसो गर्दा ठिक होला कि भनेर भूगोल केन्द्रित कार्ययोजना बनाउने गरी तयारी भएको छ । त्यसैले पहिलो नम्बरमा कार्य विभाजन टुङ्गिन्छ । आजको आवश्यकता सङ्गठनमा अनुभव भएका, पब्लिकसँग राम्रो छाप भएका, पब्लिकले पत्याउने खालका मान्छेहरू सबै भूगोलमा जानुपर्ने खाँचो छ । अब त्यसो भन्दैगर्दा फेरि भूगोल बाहिर पनि हाम्रो कार्यक्षेत्र त छ । केन्द्रीय लेभलबाट पनि सम्पादन गर्नुपर्ने धेरै महत्त्वपूर्ण जिम्मेवारी छन् । तसर्थ, नेतृत्वको तह केही तल, केही माथि भएर दुवै ढङ्गले नै म्यानेज हुन्छ भन्ने मेरो बुझाइ छ ।

  • निर्वाचनको परिणामले एमाले अत्यन्त कमजोर भएको त देखिएकै छ । पार्टी रिफर्म गर्नुपर्ने कुरा भित्रैबाट पनि उठिरहेको छ । अरु दलले ०८४ को तयारी नै थालिसकेको अवस्थामा एमालेले कुनै योजना बनाइरहेको छ कि ?

पहिलो कुरा हामीले गएको निर्वाचनको क्षतिका कारण के–के हुन् भनेर पत्ता लगाउनुपर्ने छ । यसमा सबैका विश्लेषणहरूलाई प्रस्तुत गरेर त्यसलाई एकीकृत गर्दै सारांश निकालेर एउटा निष्कर्षमा पुग्ने कुरा हो । त्यसरी निकालिएको निष्कर्ष साझा निष्कर्ष हुन्छ । त्यसका निम्ति पनि यो बैठक पर्याप्त हुँदैन ।

  • व्यक्तिगत रूपमा तपाईंले पनि विश्लेषण अवश्य गर्नुभएको होला । आफ्नो विश्लेषणको आधारमा एमालेले चुनावमा यस्तो धेरै क्षति बेहोर्नुको कारण के होला भन्ने लाग्छ ?

मेरो निजी कुरा र आफ्नो विश्लेषण भन्न सकिन्छ । व्यक्तिगत भन्दा पनि संस्थागत विश्लेषण गर्दा उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो । संस्थागत कुराको हकमा विश्लेषण गर्न बाँकी छ, जुन एउटै बैठकले गर्छ जस्तो लाग्दैन । किनभने त्यसका निम्ति धेरै समय चाहिन्छ । अहिले पार्टी अध्यक्ष धेरै समय बैठकमा बस्न सक्ने अवस्थामा हुनुहुन्न । तसर्थ, अलि राम्रो भइसकेपछि पार्टीको केन्द्रीय कमिटीको बैठकमा यी विषयमा छलफल हुन्छन् र निष्कर्ष निस्किछ भन्ने मलाई लाग्छ ।

हामीले देखेको कुराको हकमा दुई–तीन वटा कुरा हो । समीक्षा गर्दै गर्दा हामीले आफूतिर पनि फर्किनुपर्छ । हामी कहीँ चुक्यौँ कि ? हाम्रा नीति समस्या भए कि ? हाम्रा कार्यक्रमका समस्या भए कि ? हाम्रा शैलीमा समस्या भए कि ? यो पनि एउटा पाटो हो । त्यसमा पनि हामीले हेर्नुपर्छ । हेर्दैगर्दा हामीमा नीतिको समस्या होइन । नीतिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नको निम्ति हामीले जे शैली अपनायौँ, त्यहाँनेर खोटपूर्ण कुरा थुप्रै छन् । हाम्रा अभ्यासमा कार्यशैलीसित जोडिएका कुरा, नीतिलाई कार्यान्वयन गर्नको निम्ति जो उत्प्रेरक भएर गएको छ, उसका शैली व्यवहार पनि महत्त्वपूर्ण हुन्छन् ।

  • एमालेको नीतिमा समस्या छैन भने नेतृत्व र कार्यशैली दुई वटा समस्या देखिए । नेतृत्व असफल भयो भनेर भन्ने हो त त्यसो भने ?

नेतृत्व र कार्यशैलीको चर्चा गरिरहँदा पनि हामीले माथिको मात्रै नेतृत्व हो भन्ने ठान्नु हुँदैन । हाम्रा स्थानीय नेतृत्वहरू छन् । हाम्रा मातहत कमिटीका नेतृत्व छैन ? चुनावकै कुरा गर्ने हो भने त सबैभन्दा बेसी जिम्मेवारी र दायित्व त तलको छ नि । जहाँ भूगोल छ, त्यो भूगोलमा जनतामा, मतदातामा आधारित हुने भनेको त हाम्रा स्थानीय कमिटीहरू हो । त्यसैले स्थानीय कमिटीहरूको भूमिकाको पनि हामीले चर्चा गर्न जरुरी छ । आफूहरूले आफ्नो दायित्व निर्वाह गर्न सक्ने खालको भूमिका खेल्न सक्नुभयो कि सक्नुभएन ? स्थानीय नेता, केन्द्रबाट खटाइएका नेतृत्वहरूले पनि त्यो खालको भूमिका निर्वाह गर्न सके कि सकेनन् भन्ने कुरा पनि हेर्नुपर्छ । त्यसपछि हामी, जो माथि छौँ, माथि भएकाहरूका पनि के–के भए त समस्या भन्ने कुरा हामीले चर्चा गर्नुपर्छ ।

तल जाँदा तलको मात्रै कुरा गर्ने, माथि आउँदा माथिको मात्रै कुरा गर्ने, माथिकाले तल देखाउने, तलकाले माथि देखाउने, यो चिजले हामी सही ठाउँमा, सही निष्कर्षमा पुग्दैनौँ ।

  • तर जिम्मेवारी त मूल नेतृत्वले लिनुपर्छ, होइन र ?

जिम्मेवार मूल नेतृत्वले पर्छ, तर एक जना मूल नेतृत्वको कारणले मात्रै यी सबै परिस्थिति सिर्जना हुन्छन् भन्ने निष्कर्ष निकाल्नु हुँदैन । हामीसित जोडिएर पनि, तलकासित जोडिएर पनि के छन् त भन्ने कुरालाई हामीले खोजी गर्नुपर्छ र सबै सच्चिनु पर्छ । जहाँ–जहाँ समस्या छ, ती ठाउँमा हामी सबै म–म गरेर सच्चिने बेला यो बेला हो ।

  • पार्टीमा नेतृत्व असफल भयो, रूपान्तरण गर्नैपर्छ भनेर हस्ताक्षर अभियान चलाउनेदेखि विशेष महाधिवेशनको मागसम्म उठेको छ । यो विषयमा छलफल हुन्छ ?

जनसङ्गठनको तहबाट नेतृत्व गर्नुभएका साथीहरूले हस्ताक्षरको कुरा ल्याउनुभएको थियो । त्यो बेला एकदमै प्रतिकूल समय थियो । पार्टीले सूचना पाउनेबित्तिकै साथीहरूसित बसेर छलफल गरेर पार्टीको विधि छ, विधान छ । पार्टीमा कुनै नयाँ चिज गर्न पर्दा पनि पार्टीको विधि र विधानले नै गर्ने हो । तसर्थ अहिलेको जे बेला हो, त्यो बेला सान्दर्भिक बेला होइन, तपाईंहरू यसो नगर्नुस् भनेर पार्टीले त्यसलाई रोकिसकेको अवस्था हो ।

  • हस्ताक्षर अभियान रोकिएकै हो र ?

हो, तत्कालै रोकेको अवस्था हो । अहिले पनि रोकिएकै छ । अब जहाँसम्म विधान महाधिवेशनसित अथवा विशेष महाधिवेशनसित जोडिएका कुरा हुन्, त्यो छिटफुट रूपमा कसैले आफ्नो व्यक्तिगत धारणा बोल्या होला । संस्थागत रूपमा अहिलेसम्म हाम्रो पार्टीको जति पनि सचिवालयका बैठक बसे, त्यो सचिवालयको बैठकमा कुनै पनि नेताले औपचारिक रूपमा त्यो विषय प्रवेश गराउनुभएको छैन । तसर्थ बाहिर कसले के–के भन्छ भन्ने होइन । यत्रो महासागरमा को के बोल्छ, त्यो हरेक बोल्ने व्यक्तिको जबाफ दिएर साध्य हुँदैन । पार्टी चलाउने भनेको एउटा विधिले हो । हामी चल्ने भनेको एउटा पद्धतिले हो । अब पार्टीको बैठक बस्दै गर्दा कहीँबाट विषय प्रवेश गरेछ भने पार्टीको बैठकले छलफल गर्छ र त्यसलाई एउटा निष्कर्ष निकाल्छ ।

  • पार्टी पदाधिकारीले नै यो विषय प्रवेश गराउने तयारी गरिरहेको बुझेर अध्यक्षले बैठकलाई सारिरहनुभएको छ भन्ने आशङ्का पनि छ नि ?

के–के भइरहेका छन् भन्ने जे चर्चा परिचर्चा बाहिर चलेको छ, त्यो सूचनाको आधारमा बैठक सारेको हो भन्ने मलाई लाग्दैन । किनभने अहिले पनि उहाँ हामीजसरी दुई घण्टा बस्न सक्नुहुन्छ जस्तो म ठान्दिनँ । उहाँको घाउ अझै पनि राम्रो बनिरहेको छैन । त्यसैले स्वास्थ्य प्रतिकूलताकै कारणले ढिलो भएको हो । अब बैठकमा प्रवेश गरिसकेपछि बैठकको विषय, छलफलको विषय त बनिहाल्ला, तर अहिलेसम्म बैठकमा विषय प्रवेश गरेको पनि छैन । प्रवेश नगरेको विषयमा अहिले छलफल गर्नु मैले उचित छैन ।

  • उपाध्यक्ष विष्णु पौडेलदेखि शंकर पोखरेलसम्मले भन्नुभएको छ कि रूपान्तरण अब जरुरी भइसक्यो । यसले त तपाईंहरूको १९ सदस्य सचिवालयको समीकरण त बदलिने देखियो नि ?

रूपान्तरण भन्नेबित्तिकै एउटा मात्रै विषय होइन । नीतिको रूपान्तरण, नेतृत्वको रूपान्तरण अनि कार्यशैलीको रूपान्तरण, व्यवहारको रूपान्तरण, हाम्रा कार्यनीतिको रूपान्तरण, यी विविध कुरा छन् । त्यसैले रूपान्तरण भन्नेबित्तिकै ठ्याक्कै एउटा प्रमुख नेतामा गएर उसलाई फाल्ने हो भन्ने अर्थ लाउन पनि हुँदैन । हाम्रा कहाँ–कहाँ कमजोरी देखिन्छन् ? हामीले समीक्षा गरिसकेपछि समीक्षाका प्रतिवेदनका आधारमा कहाँ–कहाँ के–के कमजोरी देखिए, के चिजलाई सच्याउनुपर्ने देखियो, त्यसपछि नै हामीले एजेन्डा प्रस्तुत गर्ने हो ।

  • अध्यक्षको उमेर र स्वास्थ्य अवस्थालगायत सबै कारणले गर्दा उहाँले सहजै मार्गप्रशस्त गरिदिएर नयाँ पुस्तालाई नेतृत्व हस्तानतरण गर्नु एमालेजनका लागि राम्रो भन्ने विश्लेषणमा तपाईं के भन्नुहुन्छ ?

मैले यो विषयमा बोलिसकेँ जस्तो लाग्छ । मैले के कुरा बोलेँ भन्नुहोला भने चुनावसित जोडिएर एमाले पार्टीको सेरोफेरोमा जे खालका चर्चा परिचर्चा भएका छन्, त्यो पार्टीको ध्यानाकर्षणको विषय नै हो । तर पार्टीमा औपचारिक रूपमा प्रवेश नहुँदासम्म कसले के भन्यो भन्ने आधारमा कुनै टिप्पणी गर्ने वा धारणा बनाउन जरुरी छैन । जुन बेला पार्टी कमिटीमा त्यो विषय प्रवेश गर्छ, त्यो बेला मैले पनि आफ्ना विचारहरू राख्ने हो ।

  • यस्ता विषयहरू पार्टी कमिटीमा प्रवेश गराउने अथवा अध्यक्ष ओलीका सामु यो कुरा भन्न सक्ने हैसियत अथवा हिम्मत कुनै नेताको छैन भन्ने पनि गरिन्छ । यसैगरी अघि बढ्ने हो भने पार्टीमा कुनै दिन विष्फोटको अवस्था आउनपनि सक्छ भनिँदैछ नि ? 

यस्तो विस्फोटको ठाउँमा छ भन्ने मलाई लाग्दैन । म फेरि दोहोर्‍याउँछु, औपचारिक बैठक बस्दै गर्दा औपचारिक बैठकमा विषयहरू प्रवेश गरुन्, अनि त्यसपछि हामी त्यो विषयमा छलफल गरेर एउटा निष्कर्ष निकाल्छौँ । हामीभित्रको समस्या समाधान गर्न हामी योग्य नै छौँ र गर्छौँ भन्ने विश्वास म दिलाउँछु ।

  • यसको अर्थ अझै पनि एमालेको नेतृत्व ओलीबाट बाहिर जानु हुनुहुँदैन भन्ने हो ?

हाम्रो नेतृत्व परिवर्तनको पनि विधि छ, प्रक्रिया छ । अहिले कसले के भन्यो भन्ने कुरा होइन । त्यसैले बैठक बस्न दिनुस् । बैठकबाट हामीले हाम्रो पार्टीको आन्तरिक जीवनलाई कसरी व्यवस्थित गर्ने, कसरी अगाडि बढाउने भन्ने हामी नै निर्णय गर्छौं । बाहिर छलफल गर्ने विषय होइन ।

  • एमालेजस्तो पार्टीप्रति कार्यकर्ता र अरु जनताले समेत गरेको चिन्ता र प्रश्नलाई सम्बोधन गर्नुपर्ने होइन ?

मैले भनिसकेँ ।

  • विषय प्रवेश गराउने जिम्मेवारी त तपाईंहरू पदाधिकारीकै होला नि भन्न खोजेको मैले ?

ठिक छ, पहिलो कुरा चुनावसित जोडिएको छ तर समीक्षा भनेपछि त ठ्याक्कै चुनावको रिजल्टको मात्रै समीक्षा हुँदैन । त्योभन्दा अगाडिको पनि समीक्षा होला । त्यसैले बैठक बस्न दिनुस्, बैठकमा हामीलाई छलफल गर्न दिनुस् । हामीले के–के कमजोरी औँल्याउँछौँ । यहाँ–यहाँ हामी चुक्यौँ, यो–यो कमजोरी भयो भनेपछि त्यो कमजोरी हटाउन के गर्न पर्ला भन्ने प्लान पनि बनाउँछौँ । त्यसैले धेरै नहतारिनुस् । हामीलाई हाम्रा कुरा छलफल गर्न दिनुस् ।

  • अहिले सरकारले नीति तथा कार्यक्रम ल्यायो । नीति तथा कार्यक्रमको तपाईंहरूले विरोध पनि गर्नुभयो, संसद् नै अवरुद्ध गर्नुभयो । बहुमत सरकारको पक्षकै भएकाले कार्यक्रम पारित भयो । किन विरोध गर्नुभएको थियो ?

नीति कार्यक्रमसित जोडिएर हामीले संशोधन दियौँ । कहाँ–कहाँ के–के थप्न सकिन्छ, जनसरोकारका विषय, राष्ट्रका सरोकारका विषयमा । हामीले नीति तथा कार्यक्रमसित जोडिएर हामीलाई लागेका कुराहरू संशोधन मार्फत र पार्टीका तर्फबाट बोल्ने वक्तामार्फत हाम्रा विचारहरू प्रस्तुत गरेका हौँ । त्यसैले त्यसलाई संशोधन गर्नपर्छ, अझै परिष्कृत गर्न पर्छ भन्ने कुरा हाम्रो सुझाव हो ।

जहाँसम्म विरोधको कुरा हो, विरोध हाम्रो किताबसित होइन हैन । नीति कार्यक्रमलाई सुझाव दिएको हो । नीति तथा कार्यक्रम भनेको सरकारको हो । यद्यपि राष्ट्रपतिज्यूले प्रस्तुत गर्नुभयो, तर राष्ट्रपतिज्यूले प्रस्तुत गरे पनि कार्यक्रम सरकारको हो । सरकार भनेपछि प्रमुख दायित्व कसको ? प्रधानमन्त्रीको । र हाम्रो अभ्यासले नीति कार्यक्रम सरकारको भएको हुनाले छलफलमा बस्ने, उठेका प्रश्नहरू राजनीतिक प्रश्न, नीतिगत प्रश्न जे–जे आउँछन् त्यसको व्याख्या गर्ने र आफ्नो प्रतिबद्धता व्यक्त गर्ने र सांसदहरूले उठाएका प्रश्नलाई स्पष्ट गर्ने दायित्व प्रधानमन्त्रीकै हो । हामीले विगतमा पनि त्यही गर्दै आएका हौँ । आज पनि त्यही नै छ । सरकार कहाँबाट जन्मिन्छ ? संसद्बाट जन्मिन्छ । सरकार वा प्रधानमन्त्री बन्ने संसद्बाटै हो । सरकार टिक्ने पनि संसद्को विश्वासमा हो । त्यसैले जुन संस्थाले आफूलाई जन्म्यायो, त्यो संस्थाप्रति उत्तरदायी हुनुपर्छ कि पर्दैन ? जिम्मेवार हुनुपर्छ कि पर्दैन ? यो नीतिगत प्रश्न पनि हो र व्यावहारिक प्रश्न पनि हो । हाम्रो संविधानले पनि कार्यपालिकालाई स्वतन्त्रै हो त भनिदिएको छैन । व्यवस्थापिकाप्रति जवाफदेही हुने कुरा प्रस्टै बोलेको छ । नियमावली छ संसद् सञ्चालन गर्ने । सरकारको नीति तथा कार्यक्रमभन्दा महत्त्वपूर्ण कार्यक्रम के हुन्छ प्रधानमन्त्रीका लागि ? एक वर्षसम्म सरकार कसरी अगाडि बढ्दै छ ? एक वर्षमा सरकारका प्राथमिकताका विषय के–के हुन् भनेर एउटा मार्गनिर्देश गर्ने, सरकारको एक वर्षे यात्राको मार्गनिर्देश गर्ने नीति कार्यक्रममा सरकारको प्रमुखको ध्यान जाँदैन, त्यो प्राथमिकताको विषय बन्दैन भने उहाँको प्राथमिकताको विषय के हो त भन्ने प्रश्न उठ्छ । हाम्रो प्रश्न पनि यही हो । तर उहाँले नमान्नु विगतको परम्परा तोड्ने कुरा होइन । संसद्लाई व्यवस्था गर्ने कुरा, सार्वभौम सत्ता संसदलाई नगण्य ठान्ने कुरा, आफूलाई जन्माएको संस्थालाई अनादर गर्ने कुरा त त्यो उहाँको समस्या हो, हाम्रो समस्या होइन । हाम्रो विषयपछि सभामुखले पनि जबाफ दिने बेलासम्म ल्याउने कुरा गर्नुभएको थियो ।

  • नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले संसदीय परम्परा, मूल्य–मान्यता तोड्नुभयो यसले केही असर गर्छ र ?

मज्जाले गर्छ । विश्वको इतिहास हेर्नुस् । संसदीय अभ्यास गरेका विश्वका मुलुकहरूको इतिहास हेर्नुभयो भने जहाँ पनि कार्यपालिका व्यवस्थापिकाप्रति जबाफदेही नै छ । दोस्रो कुरा, हाम्रै विगतको कुरा हेर्नुस् । हाम्रा पूर्वप्रधानमन्त्रीज्यूहरूले नीति कार्यक्रममा त अहिलेसम्म कुनैले जबाफ नदिएको छैन । सबै नीति कार्यक्रममा प्रधानमन्त्रीले नै जबाफ दिएको छ । त्यो बाहेक आफैँले समय मागेर पनि राष्ट्रिय महत्त्वका विषयहरू संसद्लाई जानकारी गराएको अवस्था छ ।

तेस्रो कुरा भनेको जब कि संसद्ले निर्वाचित गरेको प्रधानमन्त्री संसद्प्रति नै जवाफदेही हुँदैन भने कस्तो लोकतन्त्र हो यो ? तसर्थ नयाँ पुरानो तोड्ने नाममा संस्कार तोड्न पाइँदैन । पुरानो तोड्ने नाममा लोकतान्त्रिक मूल्य र मान्यतालाई निस्तेज गर्न पाइँदैन । पुरानो तोड्ने नाममा आफ्नो दायित्वबाट भाग्न पाइँदैन । त्यसैले केही फरक पर्‍यो होइन, गम्भीर फरक पार्छ । सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी र त्यो पार्टीको सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले हठ कसे उहाँलाई केही कुरा सिकाउला र सम्भवतः भोलिका दिनमा आउनुहोला ।

  • जेनजी आन्दोलन, निर्वाचन परिणाम र सरकार गठन भइसक्यो । पुराना पार्टीहरू पाखा लागे, नयाँ पार्टी उदाए । यही अवस्थामा कम्युनिस्ट एकताको राग अलाप्न थालिएको छ । के एकता प्रक्रिया अघि बढेको हो ?

हामी विगतमा एकता अभ्यास गरेर आएका पनि हौँ । मेरो यत्ति भनाइ छ कि हतारमा गरेको कुराले राम्रो नतिजा दिँदैन । विगतमा पनि हामीले गरेकै हो, तर टिकाउन सकिएन । यसो गर्दा ठुलो नोक्सान भयो । तसर्थ वामपन्थी एकताको विरोध गर्नु छैन । तर अहिले समीक्षा छैन, केही कार्ययोजना बनाएको पनि छैन । अनि एकैपटक एकता भन्ने कुरा व्यावहारिक र मेल नखाने कुरा हो ।

बरु भन्न सकिन्छ, हामी कार्यगत एकतामा जाऔँ । त्यो छलफल पनि चलिरहेकै छ । कार्यगत एकताको कुरा जरुरी पनि छ, तर पार्टी एकताका सवालमा केमा आधारित भएर गर्ने ? नीतिमा आधारित भएर, विचारमा आधारित भएर, सिद्धान्तमा आधारित त होला । भनेपछि त्यसो गर्न अलिकति समय लाग्छ । भर्खर भइहाल्छ भन्ने मलाई लाग्दैन ।

  • तर, नेताहरूको कार्यशैली हेर्दाखेरि हतारमा एकता गरिहाल्ने अनि फुर्सदमा पछुताउने देखिएको छ नि ?

त्यही भएर विगतको शिक्षा लिनुपर्छ भनेँ त मैले । त्यसैले सोचिबिचारी हुन्छ, त्यस्तो बाहिर हल्लाखल्ला भए जस्तो भइहाल्ने स्थिति म देख्दिनँ । सोचिबिचारी, परिस्थिति परिपक्व बनाएर गर्ने एकता गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप