ताइवानले द्वन्द्व भड्काउँदैन, न सार्वभौमिकता त्याग्छ : राष्ट्रपति लाइ
सारांश
- ताइवानका राष्ट्रपति लाई चिङ–तेले ताइवानले द्वन्द्व नभड्काउने तर सार्वभौमसत्ता नत्याग्ने बताएका छन् ।
- अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटवार्तामा ताइवानको स्वतन्त्रताको विषय उठेपछि लाईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
- राष्ट्रपति लाईले ताइवान, रिपब्लिक अफ चाइना एक सार्वभौम तथा स्वतन्त्र लोकतान्त्रिक देश भएको र यसको भविष्य ताइवानी जनताले नै निर्णय गर्ने बताएका छन् ।
ताइपेइ । ताइवानका राष्ट्रपति लाई चिङ–तेले ताइवानले कुनै पनि प्रकारको द्वन्द्व भड्काउन नचाहने तर आफ्नो सार्वभौमसत्ता कुनै हालतमा नत्याग्ने बताएका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भएको उच्चस्तरीय भेटवार्तामा ताइवानको स्वतन्त्रताको विषय उठेपछि लाइले यस्तो प्रतिक्रिया दिएका हुन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले ट्रम्पसँग ताइवान दुई देशीय सम्बन्धकै ‘सबैभन्दा महत्वपूर्ण मुद्दा’ भएको बताएका थिए । उनले यस विषयलाई गलत ढंगले व्यवस्थापन गरिए द्वन्द्व निम्तिन सक्ने चेतावनीसमेत दिएका थिए । बेइजिङ भ्रमणपछि ट्रम्पले पनि ताइवानलाई स्वतन्त्रताको बाटो नअपनाउन चेतावनी दिएका थिए । उनले अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजसँगको अन्तर्वार्तामा ‘म कसैलाई स्वतन्त्र हुन प्रोत्साहन गर्न चाहन्नँ’ भनेका थिए ।
यद्यपि ट्रम्पले ताइवानसम्बन्धी अमेरिकी नीति परिवर्तन नभएको स्पष्ट पार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताए। उनले सी जिनपिङ ताइवानको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै आफूले कुनै प्रतिबद्धता नगरेको पनि भने । अमेरिका लामो समयदेखि ताइवानको सहयोगी रहँदै आएको छ । अमेरिकी कानुनअनुसार वासिङ्टन ताइवानलाई आत्मरक्षाका लागि आवश्यक साधन उपलब्ध गराउन बाध्य छ ।
राष्ट्रपति लाइ र उनकी पूर्ववर्ती साइ इङ–वेनले लामो समयदेखि ताइवानलाई पहिले नै सार्वभौम राष्ट्र मानिने भएकाले औपचारिक स्वतन्त्रता घोषणा आवश्यक नरहेको धारणा राख्दै आएका छन् । लाइले फेसबुकमार्फत दिएको प्रतिक्रियामा ‘ताइवानको स्वतन्त्रता भन्ने कुनै मुद्दा छैन’ भन्दै ‘ताइवान, रिपब्लिक अफ चाइना एक सार्वभौम तथा स्वतन्त्र लोकतान्त्रिक देश हो’ उल्लेख गरेका छन् ।
उनले ताइवानको भविष्यबारे निर्णय सम्पूर्ण ताइवानी जनताको इच्छाअनुसार हुनुपर्ने बताएका छन् । साथै ताइवानले तनाव बढाउने काम नगर्ने तर दबाबका कारण राष्ट्रिय सार्वभौमसत्ता, सम्मान तथा लोकतान्त्रिक जीवनशैली नत्याग्ने स्पष्ट पारेका छन् ।
लाइले समानता र सम्मानको आधारमा चीनसँग स्वस्थ संवाद तथा आदानप्रदानका लागि ताइवान तयार रहेको पनि बताएका छन् । तर ‘एकीकरण’ को नाममा ताइवानमाथि दबाब सिर्जना गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण