बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
न्यायको पर्खाइ

अभियन्ता रुबि किन छिन् अनसनमा ?

शिक्षकमाथि कुटपिट भएपछि सुरु भएको थियो विवाद
सोमबार, ०४ जेठ २०८३, २१ : ००
सोमबार, ०४ जेठ २०८३

सारांश

  • अभियन्ता रुबि खान निर्मला कुर्मीको न्यायका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेजमा अनसनमा छिन् ।
  • निर्मला कुर्मीको जग्गा हडप्ने षड्यन्त्र भएको आरोपमा प्रदेश सांसद बादशाह कुर्मी पनि जोडिएका थिए र रुबि खान समूहले उनलाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएको छ ।
  • प्रहरीको अनुसन्धानले निर्मला कुर्मीको १० वर्षअघि विवाह भई भारतमा मृत्यु भएको देखाएपनि रुबिले प्रहरी कर्मचारीलाई जिल्लामा फर्काउन माग गरेपछि विवाद बढेको छ ।

काठमाडौँ । नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेजमा अभियन्ता रुबि खान अनसनमा छिन् । निर्मला कुर्मीको न्यायका लागि आवाज उठाउँदै आएकी खान अहिले पनि यही माग राखेर अनसन बसेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । 

भारत माइती भएकी निर्मलाले नेपालगञ्जमा विवाह गरेकी थिइन् । उनका श्रीमानको २०६२ मा र दुई छोराको २०६६ मा मृत्यु भएको थियो । २०६९ सालमा उनको नाममा रहेको जग्गा अन्यत्र हस्तान्तरण भएको थियो । जग्गा हडप्ने षड्यन्त्र भएको आरोपमा प्रदेश सांसद बादशाह कुर्मी पनि निर्मला प्रकरणमा जोडिएका थिए । रुबि खान समूहले सम्पत्ति हडप्न खोज्ने समूहले निर्मला कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएको छ । २०७९ मा रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा यस सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएका थिए । 

सीआईबीका दुईवटा अनुसन्धान टोलीले यस विषयमा अनुसन्धान गरी प्रतिवेदन पेस गरेका थिए । प्रहरीको अनुसन्धानबाट निर्मला कुर्मी दश वर्षअघि अर्जुन कुर्मीसँग विवाह गरी भारत गएको खुल्न आएको छ । नेपालगञ्जमा मजदुरी गर्न आएका अर्जुनसँग घरजम गरेर बसेकी कुर्मीको २०७६ चैतमा भारतमा मृत्यु भएको अनुसन्धानले देखाएको प्रहरीको दाबी छ । 

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार विवाहको फोटो र मृत्यु संस्कारको फोटो फेला परेको छ । यद्यपि, विवाह र मृत्यु दर्ता पत्रको आधिकारिकता पुष्टि नभएपछि डीआईजी दिनेश आचार्य र एसएसपी कमल थापा नेतृत्वको समितिले भारतको उत्तर प्रदेशस्थित बहराइचमा निर्मला कुर्मीको मृत्यु भएको उल्लेख गर्दै नेपालमा ज्यान मुद्दा चलाउन नमिल्ने प्रतिवेदन बुझाएको थियो । प्रहरीले कुर्मीका पति अर्जुनको कागज गराएको छ । 

सीआईबीको छानबिन समितिले निर्मला कुर्मी प्रकरणमा ठगी, आपराधिक लाभ तथा विश्वासघात, किर्ते र सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई निर्देशन दिएको थियो । बाँकेका एसपी अंगुर जिसीले यस सम्बन्धमा भारतबाट कागजात मगाउने र अनुसन्धानको काम भइरहेको बताए । रुबि खानले कुर्मीको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई जिल्लामा फर्काउन माग गरेपछि २०८१ कार्तिक र माघमा अनुसन्धानमा संलग्न ४ जना प्रहरी कर्मचारीलाई सो घटनाको अनुसन्धानका लागि बाँकेमा खटाइएको प्रहरीको दाबी छ । 

आफ्नो अनसनबारे रुबिले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो अनिश्चितकालीन आमरण अनसन महिला हिंसासम्बन्धी घटनालाई राजनीतिकरण गर्दै न्याय प्रवाहमा आलटाल वा ढिलासुस्ती गरिने गैरजिम्मेवारपूर्ण रवैयाविरुद्ध हो ।’ हाल रुबि सञ्जिवनी मेडिकल कलेजको क्याबिनमा छिन् । 

रुबि र प्रहरीबिच ‘विवाद’

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका शिक्षक नारायण शर्मालाई वैशाख ३ गते एउटा समूहले कुटपिट गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिका–१० का निवासी शर्माको कुँडारमा बाख्राले बाली खाएको भेट्टाएपछि उनले बाख्रा समातेर बाँधेका थिए । बाख्रा लिन आएकी १३ वर्षीया बालिकालाई बाख्रा फिर्ता गर्नुअघि उनले अभिभावकलाई बोलाएर ल्याउन र बाख्रा छाडा नराख्न चेतावनी दिएका थिए । त्यसपछि आएका २०–२५ जनाको समूहले कुटेर शर्माको बायाँ हात भाँचिदिएका थिए । कुटपिटमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । बाँकेका एसपी अंगुर जिसीको दाबी छ –रुबिले पक्राउ परेकाहरूलाई मुद्दा नचलाउन आग्रह गरेकी थिइन् । जिसीले भने, ‘हामीले आक्रमणमा संलग्नलाई पक्राउ गरेर शिक्षकमाथि अभद्र व्यवहारमा अनुसन्धान थालेपछि रुबिको समूहले प्रहरीविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन सुरु गरेको हो ।’ 

प्रदर्शनकारीहरू मुस्लिम पक्षधर थिए । पीडित शिक्षक पक्षका हिन्दूहरूले त्यसको प्रतिकार गर्न खोजेपछि प्रहरीले रुबिलाई पक्राउ गरेको थियो । रुबिको समूहले शिक्षकले बाख्रा लिन गएकी बालिकालाई घरमा थुनेको र आमालाई कुटेको भन्दै शिक्षकविरुद्ध जाहेरी दर्ता गराउन खोजेका थिए । उक्त जाहेरी दर्ता नभएपछि वैशाख ८ गतेबाट उनीहरूले बाँकेका एसपी जिसीलाई कारबाहीको माग अघि सारेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

त्यसपछि रुबिले वैशाख १२ गते पत्रकार सम्मेलन गरी ७ बुँदे माग अघि सारिन् । त्यसक्रममा उनले निर्मला कुर्मीको अनुसन्धान अघि बढाउने लगायतका मागहरू राखेकी थिइन् । बाँकेका एसपी जिसी भन्छन्, ‘निर्मला कुर्मीको घटनामा अनुसन्धान रोकिएको छैन, सीआईबीको छानबिन प्रतिवेदन अनुसार अनुसन्धानको काम अघि बढिरहेको छ ।’ 

जिल्ला प्रशासन कार्यालय अगाडि हिन्दु पक्षले प्रतिकार गर्न खोजेपछि प्रहरीले वैशाख १५ गते रुबि समूहको ब्यानर खोसेको थियो । सोही दिन पक्राउ परेकी रुबिलाई प्रहरीले वैशाख १६ गते हाजिर जमानीमा रिहा गरेको हो । यस घटनापछि उनले अनसन सुरु गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप