शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एपीजी–आईसीआरजीका प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री खनाललाई

ग्रे लिस्टबाट बाहिर निस्किन के के भयो कुराकानी ?
मङ्गलबार, ०५ जेठ २०८३, १६ : ५९
मङ्गलबार, ०५ जेठ २०८३

काठमाडौँ । एसिया प्रशान्त समूह (एपीजी) सचिवालयका सह–कार्यकारी सचिव डेभिड श्याननको नेतृत्वमा रहेको एपीजी–अन्तराष्ट्रिय सहयोग समीक्षा समूह (आईसीआरजी)को संयुक्त प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । 

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न प्राविधिक सहयोग र मूल्यांकन गर्ने उद्देश्यका साथ यो प्रतिनिधिमण्डल हिजो सोमबारदेखि नेपाल भ्रमणमा छन् ।

भेटका अवसरमा प्रतिनिधिमण्डलले वित्तीय सुशासन, सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका क्षेत्रमा नेपालले हालसम्म गरेका प्रगति र सुधारहरूबारे परराष्ट्रमन्त्री खनाललाई जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

साथै, ग्रे लिस्टबाट पूर्ण रूपमा बाहिर निस्कनका लागि नेपालले आगामी दिनमा गर्नुपर्ने थप कानुनी तथा संरचनागत सुधारका विषयमा समेत ब्रिफिङ गरिएको बताइएको छ ।

परराष्ट्रमन्त्री खनालले नेपालप्रति प्रदर्शन गरेको लामो समयदेखिको सहयोग र सद्भावका लागि एपीजी–आईसीआरजी प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै मन्त्री खनालले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम नेपालको राष्ट्रिय क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

नेपालले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा थप दृढताका साथ काम गरिरहेको उल्लेख गर्दैै मन्त्री खनालले एपीजीसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै जतिसक्दो चाँडो ग्रे लिस्टबाट बाहिर निस्कनेमा विश्वस्त रहेको धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

एसिया प्यासिफिक ग्रुप सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एफएटीएफको क्षेत्रीय संगठन हो । त्यसको नेपाल पनि सदस्य हो । आईसीआरजीले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा कमजोर कानुनी व्यवस्था भएका देशहरूको अनुगमन र समीक्षा गर्ने काम गर्दछ ।

नेपाल आईसीआरजीको निगरानीमा रहेको छ । यसबाट बच्नका लागि नेपालले कानुनी कुराहरू सुधार गर्ने प्रकृयामा रहेको मन्त्री खनालले बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप