बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोनाल्डो राखेर २७ सदस्यीय विश्वकप खेल्ने पोर्चुगिज टोली घोषणा, प्रशिक्षकले सम्झिए जोटा

मङ्गलबार, ०५ जेठ २०८३, १९ : १९
मङ्गलबार, ०५ जेठ २०८३

लिस्बन । क्रिस्टियानो रोनाल्डोलाई राखेर पोर्चुगल राष्ट्रिय फुटबल टोलीले आगामी विश्वकप फुटबलका लागि २७ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले मंगलबार टोली सार्वजनिक गर्दा ४१ वर्षीय रोनाल्डोलाई पनि राखेका हुन् । रोनाल्डोले करिअरको छैटौँ विश्वकप खेल्ने तय भएको हो । लिस्बनस्थित फुटबल केन्द्रमा आयोजित कार्यक्रममा प्रशिक्षक रोबेर्टो मार्टिनेजले टोलीमा २७ खेलाडी रहेको जानकारी दिए ।

उनले गत वर्ष सवारी दुर्घटनामा निधन भएका फरवार्ड डिएगो जोटालाई सम्झिए । उनले दिवंगत जोटालाई सम्झँदै भने, ‘उनी हाम्रो शक्ति र हाम्रो खुसी थिए । उनलाई गुमाउनु अत्यन्त पीडादायी क्षण थियो । तर त्यसको भोलिपल्टदेखि नै हामीले उनको सपना पूरा गर्न संघर्ष गर्ने जिम्मेवारी महसुस गर्‍यौँ । राष्ट्रिय टोलीमा उनले देखाएको समर्पण, साहस र उदाहरण सधैँ हाम्रो साथमा रहनेछ ।'

मार्टिनेजका अनुसार टर्की क्लब गेन्चलरबिर्लिगी अंकाराबाट खेलिरहेका गोलरक्षक रिकार्डो भेल्हो टोलीसँग यात्रा गर्नेछन् । तर आधिकारिक २६ सदस्यीय अन्तिम सूचीमा भने उनी कुनै गोलरक्षक घाइते भए मात्र समावेश हुन सक्नेछन् । 

नेसन्स लिग विजेता पोर्चुगलले विश्वकपको समूह चरणअन्तर्गत पहिलो खेल जुन १७ मा ह्युस्टनमा कंगो गणराज्यसँग खेल्नेछ । त्यसपछि जुन २३ मा उही मैदानमा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह चरणको अन्तिम खेल जुन २७ मा मियामीमा कोलम्बियाविरुद्ध हुनेछ । 

यसपटकको विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।

पोर्चुगलको यस्तो छ २७ सदस्यीय टोली 

गोलकिपरः
डियोगो कोस्टा, जोजे सा, रुई सिल्भा, रिकार्डो भेल्हो

डिफेन्डरः
जोआओ कान्सेलो, डियोगो डालोट, नुनो मेन्डेस, रुबेन डियास, गोन्सालो इनासियो, टोमास अराउजो, रेनाटो भेइगा, नेल्सन सेमेडो

मिडफिल्डरः
ब्रुनो फर्नान्डेस, बेर्नार्डो सिल्भा, भिटिन्हा, जोआओ नेभेस, रुबेन नेभेस, माथेउस नुनेस, सामुएल कोस्टा

फरवार्डः
क्रिस्टियानो रोनाल्डो, राफाएल लियाओ, गोन्सालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो, फ्रान्सिस्को कोन्सेइसाओ, फ्रान्सिस्को ट्रिन्काओ, गोन्सालो गुएडेस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप