'बच्चाहरू स्कुल जान नपाएर मानसिक तनावमा छन्, टोलाउन थालिसके'
सारांश
- सुकुमबासी बालबालिकाहरू स्कुल जान नपाएर मानसिक तनावमा परेका छन्, जसले गर्दा उनीहरूमा निद्रा नलाग्ने, खान नरुच्ने र टोलाउने जस्ता समस्या देखिएका छन्।
- रोजगारी गुमाएका सुकुमबासी परिवारहरूलाई दैनिक गुजारा चलाउन, बालबालिकाको डाइपर र औषधिको खर्च जुटाउन गाह्रो भएको छ।
- सुकुमबासीहरूलाई अस्थायी सेल्टरमा राखिए पनि सरकारका तर्फबाट उनीहरूको दीर्घकालीन व्यवस्थापन, स्वास्थ्य र शिक्षाको सुविधाबारे ठोस पहल भएको छैन।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको जनशक्ति विकास प्रतिष्ठानको विभागीय प्रमुख हुन्, रश्मि श्रेष्ठ । उनी नेपाल रेडक्रसमा १२ वर्षदेखि आबद्ध छिन् । राजधानीका विभिन्न स्थानहरू खाली गरेर उठाइएका सुकुमबासीहरूलाई नेपाल रेडक्रस सोसाइटी बनेपाले अस्थायी बसोबासको व्यवस्था गरेको छ ।
अस्थायी सेल्टरमा सुकुमबासी के कस्ता समस्यासँग जुधिरहेका छन् ? रश्मिसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानीः
नेपाल रेडक्रस सोसाइटी बनेपाले सुकुमबासीहरूलाई बस्नका लागि व्यवस्था गरेको छ । व्यवस्थापन कस्तो छ ?
वैशाख २४ गते सुकुमबासीहरूलाई यहाँ तीनवटा गाडीमा ल्याइएको हो । हामीले नाम इन्ट्री गरेर ११० जनालाई राख्यौँ । एकजना ९ दिनको सुत्केरीसहित विभिन्न उमेर समूहका व्यक्तिहरू यहाँ हुनुहुन्छ ।
स्कुल जाने बालबालिकाहरू कति हुनुहुन्छ ?
हामीले त्यो दिन डाटाहरू डिटेलिङ गर्दै जाँदाखेरि १८ वर्ष मुनिका बालबालिकाहरू भेट्यौं । जसमा १६ बालिका र १० बालक गरेर २६ जना हुनुहुन्छ । तिमध्ये दुई–तीन जनाबाहेक सबै स्कुल जाने बच्चाहरू नै हुन् । त्यसमा थप २०–२२ वर्षका चार–पाँच जना कलेज जानेहरू पनि हुनुहुन्छ ।
बढी कुन उमेर समूहका हुनुहुन्छ ?
ज्येष्ठ नागरिक ७ महिला, ९ पुरुष हुनुहुन्छ । बाँकी स्कुल, कलेज पढ्ने बालबालिका छन् । सबै उमेर समूह गरेर जम्मा ११० जना हुनुहुन्छ ।
सुकुमबासीहरूसँग केही दिन घुलमिल गर्नुभयो । उहाँहरूको मानसिकता कस्तो पाउनुभयो ?
एकदम गाह्रो छ । भिन्न उमेर समूह र विविध आवश्यकता भएका व्यक्तिहरू हुनुहुन्छ । एक जना नाबालक, सुत्केरी महिला छिन्, उनलाई पोषणयुक्त खानेकुराको अभाव छ । उनलाई पोस्टपार्टम केयरको जरुरत छ ।
एकजना नन–भर्बल अटिजम भएको १० वर्षको नानी हुनुहुन्छ । हुन त उहाँको बुवाआमा पनि सँगै हुनुहुन्छ, तर उहाँको बेसिक हाइजिन केयरदेखि लिएर सबै बुवाआमाले गर्नुपर्ने बाध्यता छ । ठुला समस्याहरू छन् । एकजना कलर ब्लाइन्ड फिमेल अडल्ट पनि हुनुहुन्छ । उहाँसँग छोरी पनि छ । छोरीको आफ्नै आवश्यकताहरू छ । यस्तै दीर्घ रोगीहरू छन् ।
हामीलाई चाहिँ गाह्रो के छ भने बयोवृद्धालाई मात्र होइन कि, अडल्टहरू पनि कुनै न कुनै रोगले ग्रस्त छन् । जस्तै हाइपरटेन्सनको, डाइबेटिजको, इन्सुलिन नै लाउनुपर्ने, आस्थमाको, सीओपीडीको, धेरै केसेजहरू पनि छन् । उहाँहरूले नियमित औषधि सेवन गर्नुपर्ने, कसैले सुइ लगाउनु पर्ने हुन्छ । कति जनासँग औषधि पनि छैन । घर भत्काउँदा उहाँहरूको हस्पिटलको कागजपत्र पुरिएको छ ।
हामीले हेल्थ स्क्रिनिङ पनि राखेका थियौँ । सीडीओ साबले समन्वय गर्नुभएर धुलिखेलको डीएचओबाट हेल्थ फ्यासिलिटीको टीम आएर स्क्रिनिङको काम पनि भयो । केही औषधि आएपछि राहत भएको छ । बिरामीलाई इन्सुलिनको कमी छ । डायबिटिजको औषधि, हाइपरटेन्सनको औषधि त डोज नै छुटाउन मिल्दैन । उहाँहरूको डर भनेको औषधिकै ठुलो समस्या छ ।
औषधिको सेवन गरिरहनुभएकाहरूलाई चाहिँ अलि बढी समस्या छ ?
एकदमै समस्या छ । आज बिरामीले सुई लगाउनुभयो, अर्को हप्ताका लागि उहाँसँग छैन । हामीले त्यसको लागि डीएचओसँग कम्युनिकेसन गरिरहेका छौँ । त्यो ठुलो चुनौती छ । तर, हिजो हामीले सीडीओसँग समन्वय गरेर आवश्यक पर्यो भने नजिकैका दुईटा ठुलो हस्पिटलमा इमर्जेन्सी केयर गर्नेबारे छलफल गर्यौँ । दुईटा हस्पिटलसँग समन्वय गर्न पत्राचार गर्ने आश्वासन दिनुभएको छ । हामी आशावादी छौँ । भोलि केही त्यस्तो दुर्घटना नहोस् । इमर्जेन्सी केयर आवश्यक पर्यो दुईटा हस्पिटलले सहयोग गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।
रोजगारी गुमाएका सुकुमबासी महिलाहरूको के गुनासो छ ? उहाँहरू कस्तो तनावमा हुनुहुन्छ ?
महिला मात्र होइन, पुरुषहरू पनि तनावमा हुनुहुन्छ । उहाँहरू यहाँ आउनुभयो, तर व्यवसाय या जागिर विभिन्न ठाउँमा थिए । पुरुषहरू कोही सेक्युरिटी गार्डमा, ड्राइभिङ पेसामा हुनुहुन्थ्यो । महिलाहरू घरमा सरसफाइ, दैनिक ज्याला मजदुरी गर्ने, सानो–नाङ्लो पसल गर्नु हुँदो रहेछ । अहिले त्यो सबै गुम्यो । जसको रोजगारी छ, उहाँलाई बनेपादेखि चाबहिल, वनस्थलीसम्म पुग्न टाढा छ । दुई, तीन घण्टा पुग्नै समय लाग्छ । गाडी भाडा पनि महँगो छ । त्यो समस्याले जागिर या काममा जान पाउनुभएको छैन । व्यवसाय त गुमिहाल्यो । अलिअलि भएको खर्च पनि सकियो । रोजगारी पनि गुम्यो । बच्चाहरूलाई डाइपर किन्नु पर्यो, औषधि किन्नु पर्यो भने पैसा छैन । बच्चालाई छोडेर काममा जान पाउनुभएको छैन । रोजगारीको त एकदमै ठुलो इस्यु छ अहिले ।

स्कुल पढ्ने विद्यार्थीहरूले कस्तो समस्यासँग जुधिरहेका छन् ?
योचाहिँ एकदमै अलार्मिङ इस्युको रूपमा लिन्छु म । एक कक्षादेखि आठ कक्षासम्म तुरुन्त स्कुल जान चाहन्छु भनेर नाम टिपाउनेको संख्या २०–२२ जना पुगेको छ । डीएचओको म्यामसँग कोअर्डिनेसन गरेर यहाँ नजिकैको एउटा सरकारी विद्यालय दुप्केश्वरमा केही समयको लागि सुरु गर्न सकिन्छ कि भनेर समन्वय गरेका छौँ । जेठ महिना सुरु भइसक्यो । भर्ना कहाँ गर्ने, पढाइ के हुन्छ भनेर बालबालिकाहरू एकदम अन्योलमा छन् । खाली समय कति मोबाइल हेर्नु ? पढ्ने बानी छुट्यो ।
फर्मल सेटिङमा पढेका बच्चाहरूलाई यो इन्फर्मल सेटिङमा पढाउन गाह्रो छ । एक कक्षादेखि आठ कक्षासम्मका बच्चाहरूको उमेर समूह मिल्दैन, एउटै ठाउँमा राख्न पनि मिलेन ।
बच्चाहरू स्कुल जान नपाएर मानसिक तनावमा छन् । निन्द्रा नलाग्ने, सुत्दाखेरि झस्याङ्ग हुने, खान नरुच्ने, टोलाउने समस्याहरू देखिएका छन् । बच्चादेखि लिएर सबै उमेर समूहमा एउटै प्रकारको समस्या देखिएको छ । मानसिक स्वास्थ्य एकदमै ठुलो अलार्मिङ इस्यु बनेको छ । यो समस्यालाई कसरी सम्बोधन गर्ने ? हामीले समन्वय गर्नुपर्ने तत्कालको टड्कारो आवश्यकता छ अहिले ।
यहाँ सुत्केरी महिला पनि राखिएकी छिन् । उनको अवस्था कस्तो छ ?
यहाँ आएको पहिलो दिन नै हामीले सीडीओ साबसँग समन्वय गर्यौँ । डीएचओबाट हेल्थ स्क्रिनिङका लागि आउनुभयो । महिला स्वास्थ्यकर्मी पनि नै आउनुभयो । हाम्रो तर्फबाट बच्चा र आमालाई आवश्यक पर्ने बेसिक सामानको एउटा झोला, डिग्निटी किट पनि दिएका छौँ । औषधिले नै उहाँलाई पुग्नेछ । तर उहाँले अरू केयर, पोषणयुक्त खानाको अभाव छ । त्यसको व्यवस्थापनमा कमी छ ।
बनेपाको अग्लो स्थानमा छौँ हामी । यो अलिकति चिसो ठाउँ हो । कतिपय लगाएकै कपडामा हिँड्नुभएको छ । कति जनाले ओढ्ने–ओछ्याउने, कपडा टिप्न नै भ्याउनुभएन । फेर्ने कपडा नभएको गुनासो गर्नुभएको छ । भएका कपडाहरू मैलिसके, चेन्ज गर्न अर्को जोर छैन । हामीले यहाँ भएकाबाट अलिअलि उठाएर दिइरहेका छौँ । तर डिग्निटीको पनि कुरा छ । फेर्ने लुगा पर्याप्त छैनन् ।
टिजमको समस्या हुनेलाई कस्तो कठिनाइ छ ?
अटिजम भएकी १० वर्षकी अझै पनि डाइपर लाउनुहुन्छ । उहाँको बुवाआमाको रोजगारी गुम्यो । भएका डाइपर पनि सकिन थाले । बच्चा बोल्दैन, स्कुल पनि जाँदैन । चौबिसै घण्टा बच्चालाई केयर गर्नुपर्ने अवस्था छ । त्यसको लागि स्पेशल केयर, स्पेसल स्कुल, स्पेसल मेडिकल अटेन्सन चाहियो, त्यो पनि हामीले अहिलेसम्म आइडेन्टिफाई गरेर लिङ्क गर्न सकिराखेका छैनौँ ।
बस्तीमा डोजर चल्दा धेरैजसो सुकुमबासीले लुगा कपडा उठाउन पाएनन् । अहिले पर्याप्त लुगा छन् कि छैनन् ?
बनेपाको अग्लो स्थानमा छौँ हामी । यो अलिकति चिसो ठाउँ हो । कतिपय लगाएकै कपडामा हिँड्नुभएको छ । कति जनाले ओढ्ने–ओछ्याउने, कपडा टिप्न नै भ्याउनुभएन । फेर्ने कपडा नभएको गुनासो गर्नुभएको छ । भएका कपडाहरू मैलिसके, चेन्ज गर्न अर्को जोर छैन । हामीले यहाँ भएकाबाट अलिअलि उठाएर दिइरहेका छौँ । तर डिग्निटीको पनि कुरा छ । फेर्ने लुगा पर्याप्त छैनन् ।
खानपिनको प्रबन्ध कसरी मिलाइएको छ ?
यहाँ आएको दिन र त्यसको भोलिपल्ट उग्रचण्डी होटलमा व्यवस्थापन भयो । त्यसपछि कृष्ण सूर्य दर्शन पार्टी प्राइभेट लिमिटेडसँग क्याट्रिङ सर्भिसको सेवा लियौं । यो टेम्पोररी सेटलमेन्ट कहिलेसम्म हो भन्ने अन्योलतामा सबैजना छौँ । हामी सर्भिस प्रोभाइडरदेखि लिएर जो विस्थापित परिवारहरू हुनुहुन्छ, उहाँहरूको पहिलो प्रश्न नै जहिले पनि एउटै छ । हामीलाई यहाँबाट कहिले सार्छ, कहाँ सार्छ, सरकारले हामीलाई के गर्छ ? भनेर सोधिरहनुहुन्छ । जसको जवाफ हामीले अझै दिन सकिराखेका छैनौँ । छिटोभन्दा छिटो सरकारले विस्थापित परिवारलाई सही ठाउँमा न्यूनतम स्वास्थ्य र शिक्षाको सुविधासहित व्यवस्थापन गरिदिनुभए राम्रो हुन्छ ।
सरकारले यहाँ राखिएका सुकुमबासीको कसरी समन्वय गरिरहेको छ ?
सीडीओ साबले सुरुमा हामीलाई तपाईंहरूलाई जति पनि मलाई जानकारी छैन, इन्फर्मल्ली, फर्मल्ली रूपमा जानकारी छैन भन्नुभएको थियो । कति जना आउने भयो, के गर्नुभयो भनेर हामीलाई सोध्दै हुनुहुन्थ्यो सीडीओ साबले । काठमाडौँका सुकुमबासीहरूलाई यहाँ स्थानान्तरण गरेपछि उहाँको कार्यक्षेत्रमा नपरेर उहाँलाई धेरै जानकारी नभएको हुन सक्छ । रेडक्रसमा ल्याइसकेपछि हाम्रो जिम्मेवारी र दायित्व हो ।
११० जनालाई राख्ने हाम्रो क्षमता छैन, हामीले त्यती ठुलो संख्या राख्न सक्दैनौँ भन्यौँ । पछि सीडीओ कार्यालयसँग गएर कोअर्डिनेसन गर्यौँ । प्रहरी कार्यालय, डीएसपी कार्यालयमा गएर सेक्युरिटीको लागि कोअर्डिनेसन गर्यौँ । खानेपानी र फोहोर व्यवस्थापनको लागि पनि सीडीओ साबलाई पनि पत्राचार गरेका छौँ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले कोअर्डिनेसन गरिरहनुभएको छ । रेडक्रसले बिहानको नास्ता, खाना, दिउँसोको खाजा र बेलुकाको खानाको व्यवस्थापन गरिरहेको छ ।
सुकुमबासीहरूलाई यहाँ पुर्याइसकेपछि सरकारका कुनै प्रतिनिधि यहाँ फर्केर आएका छन् कि छैनन् ?
छैनन् । हामी आफैँले कोअर्डिनेसन गरेर काभ्रे सीडीओ कार्यालय गयौँ । सेक्युरिटी, खानेपानीलगायत विषयमा छलफल गर्यौं । काभ्रेको सीडीओ साब आफै यहाँ आउनुभयो । बाँकी काठमाडौँबाट अहिलेसम्म कुनै पनि सरकारी प्रतिनिधिहरूको उपस्थिति छैन । लिस्ट उहाँहरूले भेरिफाइ गरेर गएपछि सहरी विकासका कर्मचारीहरू ‘हामी अब लाग्यौँ’ भनेर जानुभयो ।
सरकारले आवश्यक समन्वय गरिरहेको छ ?
पहिलो दिन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट कर्मचारी आउनुभएको थियो, जसलाई सहरी विकास मन्त्रालयको काठमाडौँ उपत्यका विकास प्राधिकरणले कोअर्डिनेसन गर्नुभएको रहेछ । उहाँहरू आएर जिम्मा लगाएर जानुभयो ।
सुकुमबासीलाई जिम्मा लगाएर गईसकेपछि फोनमा कोअर्डिनेसन भयो । खानपिनको व्यवस्थापनका लागि जुन समस्या आयो, त्यसबारे जानकारी गरायौं । उहाँहरू फर्केर आउनुभएको छैन ।
रेडक्रसले हाम्रै जिम्मा हो भनेर जनस्वास्थ्य टोली मगाएर सबैको स्वास्थ्य परीक्षण गराएका छौँ । सुत्केरी, दीर्घ रोगीलाई औषधि मगाइदियौँ । कतिपयलाई इन्सुलिनको सुई लाउनुपर्ने हुँदोरहेछ, कसैलाई मेन्टल्ली समस्या छ, दीर्घकालीन औषधि खाइरहनुपर्ने हुनुहुन्छ । उहाँहरूको बारेमा एकदमै चिन्ता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण