वाम आन्दोलनको नयाँ पुनर्गठन: इतिहासको समीक्षा र भविष्यको कार्यदिशा
सारांश
- नेपालको वाम आन्दोलनले राणा शासनदेखि गणतन्त्र स्थापनासम्म निर्णायक योगदान पुर्याएको छ।
- तर आज यो आन्दोलन वैचारिक संकट, नेतृत्वको स्वेच्छाचारी संकट, संगठनात्मक अराजकता र जनताको अविश्वासबाट गुज्रिरहेको छ।
- नयाँ वाम पुनर्गठनका लागि नयाँ विचारको विकास, जनआधारित संगठन, नेपालीपन र समाजवादी कार्यक्रम, सामूहिक नेतृत्व, जनसम्बन्ध, भूराजनीति र विज्ञान प्रविधिको प्रयोग अनिवार्य छ।
नेपालमा वाम कम्युनिस्टहरू सधैँ क्रान्तिका साधन बने । त्याग, बलिदान र समर्पणका कीर्तिमान बने । वाम आन्दोलनले देशको राजनीतिक, सामाजिक र वर्गीय चेतनाको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको इतिहास हाम्रो सामु ताजै छ ।
राणा शासनका विरुद्धको संघर्षदेखि पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध र जनआन्दोलन हुँदै गणतन्त्र स्थापनासम्म निर्णायक योगदान पुर्याएको छ । सामन्तवाद, शोषण, र विभेदका विरुद्ध नेपाली जनतालाई संगठित बनाएर आन्दोलित गर्ने मुख्य भूमिका वाम पार्टीहरूले नै गर्न सकेका हुन् ।
यति ठुलो त्याग, तपस्या र बलिदानको कीर्तिमानको ऐतिहासिकता बोकेको वाम आन्दोलन आज गम्भीर वैचारिक संकट, नेतृत्वको स्वेच्छाचारी संकट, संगठनात्मक अराजकता र जनताको अविश्वासबाट गुज्रिरहेको छ । वाम आन्दोलन संकटको नयाँ कोर्समा प्रवेश गरेको कारण वैचारिक, नीति सिद्धान्त, नेतृत्व प्रणाली र संगठनात्मक पुनर्गठन अनिवार्य बन्न पुगेको छ । यो आलेखमा हामी यही विषयमा चर्चा गर्ने छौँ ।
वाम आन्दोलनका सकारात्मक योगदान
नेपालका वामपन्थी शक्तिहरूले जनतालाई राजनीतिक चेतना दिने काम गरे । मजदुर, किसान, उत्पीडित समुदाय, महिला, दलित, जनजाति लगायतका वर्गहरूलाई अधिकारको निम्ति संगठित र आन्दोलित गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी राज्य व्यवस्था, धर्मनिरपेक्षता र गणतन्त्रात्मक संविधान निर्माणमा ऐतिहासिक पहलकदमी लिए । त्यसै गरी शिक्षा, स्वास्थ्य, अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका पक्षमा जनतालाई एकताबद्ध गर्दै संघर्षहरू गरे । नेपालका कुनै पनि राजनीतिक परिवर्तन वाम आन्दोलनबिना सम्भव भएको छैन ।
कमजोरी र असफलताको समीक्षा
वाम आन्दोलनले आफ्नो ऐतिहासिक जिम्मेवारी अनुसार समाजवादी रूपान्तरणको स्पष्ट धारणा निर्माण गर्न सकेन । आन्दोलन केवल सत्ता र शक्ति केन्द्रित बन्दै गयो, कुर्सीमा पुगेपछि जनता बिर्सने गर्दा जनतासँगको सम्बन्ध कमजोर बन्दै गयो । विचारभन्दा गुट, सिद्धान्तभन्दा पद, संगठनभन्दा व्यक्तिगत स्वार्थ हावी हुन थाले । नेतृत्वमा आलोचना सहन नसक्ने सामन्ती प्रवृत्ति बढ्यो । युवापुस्तालाई अवसरहरूबाट वञ्चित गर्दै जाँदा पार्टी र आन्दोलनहरू वृद्ध नेतृत्वको घेरामा मात्र सीमित बन्न पुग्यो । पार्टीहरू वृद्धाश्रम जस्ता भए । जनताको परिवर्तनको आशा बालुवामा पानी खन्याए जस्तो बन्यो । उल्टो भ्रष्टाचार, तस्करी, दलाली, अवसरवाद र कुर्सी मोहले वाम आन्दोलन र पार्टीहरूलाई तहसनहस बनाए ।
कम्युनिष्ट नेताहरू र पार्टीभित्र नै वैचारिक स्पष्टता देखिएन । समाजवादको बहसभन्दा चुनावी गणित र शक्ति संघर्ष प्रमुख बन्न पुग्यो । यिनै कारण वाम आन्दोलन विघटन हुँदै हुँदै आज विसर्जनको डिलमा उभिएको छ । केही मान्छे रहनु मात्र पार्टी हुनु होइन, सैद्धान्तिक मान्यता, संगठनात्मक विधि र कमजोर वैचारिकीका कारण दिनानुदिन विघटन भइरहेको वाम आन्दोलनले इमानदार नेता–कार्यकर्ता र कम्युनिष्टप्रेमी जनतामा निराशा पैदा गरेको छ ।
नयाँ पुनर्गठनको रोडम्याप
१. नयाँ विचारको विकास वाम पुनर्गठनको आधार– नयाँ विचारको निर्माणको अर्थ सिद्धान्त त्याग्नु कदापि होइन, बरु त्यसलाई वस्तुगत धरातलसँग जोड्नु हो । समाजको चरित्र र गतिलाई सही रूपमा पकड्नु हो । आज कम्युनिष्ट आन्दोलन गम्भीर वैचारिक मोडमा उभिएको छ । मूलतः वैचारिक अलमलले कम्युनिष्ट संगठनहरू भताभुङ्ग भएका छन् । यस्तो अवस्थामा केवल पार्टी एकता वा नेतृत्व परिवर्तनले मात्र आन्दोलन पुनर्जीवित नहुन सक्छ, यसको लागि नयाँ विचारको विकास अनिवार्य बन्न जान्छ । रूढिवाद र जड विचारले समाजलाई गति पैदा गर्न सक्दैन । पुराना नाराहरूमा आजको समाज आकर्षित बन्न सकेन भन्नुको अर्थ पुराना विचारहरूलाई पनि समाजले स्वीकार नगरेको हो ।
वामपन्थी कम्युनिष्टहरूलाई जोड्न सक्ने विचारको निर्माण पुराना मान्यताहरू नभत्काएसम्म सम्भव छैन । आज कोही अब्बल दर्जाको क्रान्तिकारी कोही दक्षिणपन्थी, यो स्लोगनको अन्त्य भइसकेको छ । हामी कुनै पार्टी वा नेता बनेर होइन, कम्युनिष्ट बनेर सोचौँ, समाजवादी बनेर सोचौँ । नयाँ अध्ययन अनुसन्धान गरौँ, मौलिक नेपाली विचारको निर्माण गरौँ । विश्वभर निर्माण भएका मालेमावादी सिद्धान्त होऊन् वा अरू दार्शनिकहरू, सबैको सम्मान गर्दै सकारात्मक कुराहरू ग्रहण गरौँ । हामी हाम्रो आफ्नै वैचारिक धरातल खडा गरौँ, मात्र वाम कम्युनिस्टहरू नयाँ ठाउँमा आउने आधार बन्न सक्छ ।
२. जनआधारित र अनुशासित संगठन– नयाँ वाम संगठन केवल चुनाव केन्द्रित संरचना मात्र होइन, समाज रूपान्तरणको जीवित शक्तिको रूपमा व्यक्त हुनुपर्दछ । संगठन गाउँदेखि सहरसम्म जनताको जीवनसँग जोडिएको हुनुपर्दछ । संगठनभित्रको जनवाद, पारदर्शिता र कार्यसम्पादनलाई बलियो गरी पक्रेको हुनुपर्दछ । गुट, व्यक्तिवाद र दासत्वको अन्त्य गरी नीति विचारको आधारमा संगठनहरू व्यक्त हुनुपर्दछ । युवापुस्ता, श्रमिक, किसान, विद्यार्थी र बुद्धिजीवीहरूलाई क्षमता, योग्यता र योगदानको आधारमा नेतृत्व विकास गर्ने कुरामा स्पष्ट प्रणाली निर्माण गरिनुपर्दछ । विज्ञान र प्रविधिको विकास अनुरूप आधुनिक संगठनात्मक परिचालन शैली अपनाउन आवश्यक छ ।
३. नेपालीपन र समाजवादी कार्यक्रम– पुराना भद्दा अरू देशका नक्कल होइन, नेपाली समाजको यथार्थता बोकेको विचार निर्माण गर्न जरुरी छ । समाजवाद र क्रान्ति केवल कार्यकर्ता र जनतालाई झुक्याउन अलमल्याउन नाराको रूपमा व्यक्त गर्ने होइन, जनताको दैनिक जीवनमा व्यक्त हुने आर्थिक र सामाजिक कार्यक्रम बनाउनु पर्दछ । रोजगारी, शिक्षा, कृषिको आधुनिकीकरण, स्वास्थ्य प्रविधि र राष्ट्रिय अर्थतन्त्रको विकासलाई केन्द्रमा राखेर नयाँ आर्थिक दृष्टिकोण निर्माण गर्न जरुरी छ ।
विचारमा रूढिवाद र जडता होइन, आजको समाजको चरित्र अनुरूपको व्यावहारिक, विकसित र वैज्ञानिक विचारको निर्माण गर्न जरुरी बन्न गएको छ । मार्क्सवादको मूल मर्म वर्गीय मुक्ति र समानताको कुरा हो, यसलाई पनि आजको समाजको विकास र आवश्यकता अनुरूप विकास र व्याख्या गर्न जरुरी बनेको छ ।
४. सामूहिक नेतृत्व प्रणाली– नेतृत्व आन्दोलनको दिशा निर्धारण गर्ने शक्ति हो तर हाम्रा अभ्यासहरू व्यक्ति केन्द्रित भएका छन् । एउटै व्यक्तिको वरिपरि पार्टी घुम्ने तरिकाले संस्थागत नेतृत्व प्रणाली रोकिएको छ । नेताले पढेका, भनेका, जानेका र सुनेका कुराहरू अरू कार्यकर्ता जति योग्य, सक्षम भए पनि नेताकै कुरा सही मान्नुपर्ने बाध्यता हाम्रो नियति बनेको छ । अब सामूहिक नेतृत्व प्रणाली, उचित जिम्मेवारीको बाँडफाँड र आवधिक कार्यकालको निर्माण गर्न जरुरी बनेको छ । मृत्युसम्म पनि आफैँले नेतृत्व गरिरहने, हस्तान्तरण र पुस्तान्तरणको कुरा उठ्दा पार्टीहरू विभाजन गर्न तयार हुने तर नेतृत्व त्याग्न तयार नहुने प्रवृत्ति नेपालका पार्टीहरूको वास्तविक नियति हो । यसलाई बदल्न अनिवार्य छ । नेता शासक होइन, सेवक हो । जनताको सेवा गर्नु उसको धर्म हो भन्ने संस्कृतिको स्थापना गर्न जरुरी छ । आदर्श, नैतिकता र जनउत्तरदायित्व नेतृत्वका मापदण्ड बनाउन जरुरी छ ।
५. आन्दोलनको मुख्य आधार जनसम्बन्ध– जनताको समर्थनबिनाको आन्दोलन धेरै दिन टिक्न सक्दैन । आज धेरै पार्टीहरू चुनावमा मात्र जनता सम्झने अवस्थामा छन् । जनतालाई भोट बैंक बनाउने र नेताले आफ्नो दुनो सोझ्याउने स्थितिको अन्त्य गरिदिनु पर्दछ । यो अवस्थाले नेपालका वाम पार्टीहरू यो संकटमा पुगेका हुन् । जनताको दैनिक जीवन, बेरोजगारी, महँगी, शिक्षा, स्वास्थ्य, कृषि, वैदेशिक पलायन, श्रम शोषण जस्ता प्रश्नहरूसँग पार्टी र नेता अनिवार्य जोडिनु पर्दछ । जनताको बीचमा राजनीतिक शिक्षा, सामाजिक सेवा र अधिकारको संघर्षको संस्कृति निर्माण गर्नु पर्दछ । प्रचारको निम्ति मात्र होइन, वास्तविक जीवनमा उपस्थित हुने आन्दोलनको उठान जरुरी भएको छ ।
६. भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध– नेपाल दुई ठुला शक्ति चीन र भारतको बीचमा रहेको संवेदनशील देश हो । चीन विश्वशक्तिको प्रतिस्पर्धामा छ भने भारत पनि आर्थिक र प्रविधिमा सन्तुलित विकासको अवस्थामा छ । त्यसैले नेपालको वाम आन्दोलनले राष्ट्रिय स्वाधीनता, सन्तुलित कूटनीति र राष्ट्रिय हितलाई प्रमुख विषय बनाउन जरुरी हुन्छ । कुनै पनि वैदेशिक शक्ति केन्द्रको प्रभावमा होइन, नेपालको हित अनुरूप विश्वसँगको सम्बन्ध विस्तार र विकास गर्न जरुरी छ । विश्व राजनीति बहुध्रुवीय बन्दै गएको अवस्थामा सन्तुलित कूटनीति, आर्थिक सहकार्य र राष्ट्रिय स्वाधीनताको नीति मजबुत बनाउन आवश्यक हुन्छ । त्यस्तै विश्वभर भइरहेका समाजवादी वाम आन्दोलन र सत्ताहरू सँगको सहकार्य, श्रमिक अधिकार, जलवायु, न्याय र शान्तिको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता पनि आवश्यक रहन्छ ।
७. नयाँ वाम आन्दोलनको आधार : विज्ञान र प्रविधिको प्रयोग– आजको विश्वले डिजिटल युगमा प्रवेश गरिसकेको छ । कुनै पनि राजनीतिक आन्दोलन, राज्य व्यवस्था वा अर्थतन्त्र विज्ञान र प्रविधिको प्रयोगबिना अगाडि बढ्न सक्दैन । जसले आजको विज्ञान र प्रविधिलाई सही रूपमा प्रयोग गर्न सक्दछ, उही शक्ति मात्र विजयी हुन्छ । नेपालको वाम आन्दोलनलाई युग सुहाउँदो बनाउन वा विजयी बनाउन विज्ञान र प्रविधिलाई मुख्य आधार बनाउनै पर्दछ । नेपालका राजनीतिक शक्तिहरूले प्रविधिलाई केवल प्रचारको विषय मात्र बुझे, तर यसलाई उत्पादन, शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी, अवसर र समाज रूपान्तरणमा स्पष्ट रूपमा जोड्न सकेनन् । परिणामतः युवा शक्ति विदेश पलायन हुन पर्यो र देशको उत्पादन प्रणाली कमजोर बन्यो । अबको वाम शक्तिले समाजवादलाई व्यवहारमा लागू गर्न विज्ञान र प्रविधिलाई जीवनसँग जोड्नु पर्दछ । कृषि क्षेत्रमा आधुनिक प्रविधि, सिँचाइ, कृषि अनुसन्धान र कृषि उद्योगको रूपमा जोड्न जरुरी छ । शिक्षा प्रणाली केवल प्रमाणपत्रमुखी होइन, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी छ । सूचना प्रविधिमा कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल अर्थतन्त्र, अनुसन्धान र नवप्रवर्तनमा राज्यले लगानी बढाउनु पर्दछ । युवाहरूलाई विदेश पलायन गर्नुभन्दा देश भित्र नै प्रविधि र उद्यम मार्फत अवसरहरू सिर्जना गर्ने नीति निर्माणमा जोड दिनु पर्दछ । हामीले विज्ञानलाई केवल प्रयोगशालाको विषय मात्र बुझ्ने गर्दछौँ, यो प्रयोगशालामा सीमित विषय मात्र होइन, यो त समाज रूपान्तरणको शक्ति मान्नु पर्दछ । २१ औँ शताब्दीको वाम आन्दोलन ज्ञान, प्रविधि, उत्पादन र वैज्ञानिक चेतनाबाट मात्र बलियो बन्न सक्दछ । विज्ञान र प्रविधिलाई आत्मसात् गर्न नसक्ने आन्दोलनले आजको समाजको नेतृत्व गर्न सक्दैन ।
निष्कर्ष
आज कम्युनिष्ट आन्दोलन इतिहासकै संकटपूर्ण मोडमा आएर उभिएको छ । पुराना नारा र नीतिहरूले मात्र आजको जनताको मन जित्न सक्दैन । इतिहासप्रति इमानदार बनेर समीक्षा गरौँ, विचारमा स्पष्टता कायम गरौँ, सक्षम र योग्य नेतृत्व चयन गरौँ । जनतासँगको सम्बन्ध गहिरो बनाऔँ, आधुनिक कम्युनिष्ट पार्टी, विज्ञान प्रविधिलाई बुझेको आजको समाजको चरित्र बुझेको सिङ्गै देशलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी निर्माण गरौँ । हाम्रा घमण्ड, अहंकार सबै त्यागौँ, आजका सबै कम्युनिष्ट नामका पसलहरू बन्द गरौँ, नयाँ आधुनिक वाम पुनर्गठन गरौँ । नत्र हामी कसैलाई इतिहासले माफी दिने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण