विकासमा ढिलासुस्तीले परियोजना महँगा भए, जलविद्युतको लगानीमै बहस हुन सक्छ: ऊर्जा मन्त्री
सारांश
- ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा ढिलासुस्तीले परियोजना महँगो भएको बताएका छन् ।
- उनले अन्तर्राष्ट्रिय मुद्रास्फीति र आन्तरिक ढिलासुस्तीले लागत बढेको र यसले जलविद्युत क्षेत्रको लगानीमा बहस सिर्जना हुन सक्ने चेतावनी दिए ।
- मन्त्री श्रेष्ठले सार्वजनिक खरिद र ठेक्का व्यवस्थापनका जटिलतालाई औँल्याउँदै यस्ता समस्याले एफडिआई र निजी क्षेत्रको मनोबलमा नकारात्मक असर पारेको बताए ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको बताएका छन् ।
समयमै काम नसकिने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीकै सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको उनको भनाइ छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिसँगै आन्तरिक ढिलासुस्तीले विकासको लागत बढाएको उल्लेख गरे । जुन मूल्यमा पहिले नै काम भइसक्नुपर्ने थियो, त्यो नहुँदा अहिले महँगोतर्फ जानुपरेको उनले प्रस्ट पारे । विशेषगरी जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी यसरी नै महँगो हुँदै जाने हो भने एउटा बिन्दुमा पुगेर यो लगानी सान्दर्भिक कि असान्दर्भिक भन्ने ठूलो बहस सिर्जना हुने चेतावनी उनले दिए ।
बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलतालाई औँल्याए । बिचैमा ठेक्का रद्द हुने र कामहरू रोकिने अवस्थाले अन्योल सिर्जना गरेको भन्दै उनले यस्ता छिद्रहरूलाई बजेटपछि घनीभूत छलफल गरेर बन्द गर्नुपर्नेमा जोड दिए । यस्तो अस्थिरताले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) र निजी क्षेत्रको मनोबलमा नकारात्मक असर परेको उनको तर्क थियो ।
आफ्नो भनाइ राख्ने क्रममा मन्त्री श्रेष्ठले भने, ‘हामीले धेरै नै मूल्यवृद्धिको कुरा गर्यौँ । यो खाडीका कुराहरूले गर्दा भएको हो, तर त्योसँगसँगै टाइम कन्जुमिङ कुराले गर्दा हाम्रो विकास निर्माण ढिलो मात्र भइरहेको छैन कि, महँगो पनि हुँदैछ । यही हुनुपर्ने चिजहरू पहिला भइदिएको भए जुन कस्टमा हुन्थ्यो, अहिले ढिलो हुँदै गइरहेको कस्टले गर्दा हामी महँगोतिर पनि गइरहेका छौँ । अब हाइड्रोको कुरा गर्दा मलाई के लाग्छ भन्दा, त्यसको निजी क्षेत्रले त्यसमा लगानी गर्दाखेरि जुन रेटमा त्यो बन्नुपर्ने हो, भन्दा महँगो हुँदै जाँदा एउटा पोइन्टमा गएर त हाइड्रोको लगानी सान्दर्भिक वा असान्दर्भिक नै ठूलो बहसको विषयमा पनि हामी जान्छौँ होला । तर अहिले पनि ढिलो चाहिँ भइसकेको छैन ।’
उनले थपे, ‘अर्को टाइम कन्जुमिङ कस्तो छ भन्दा, हामीले सबै चिज गरेर दिसक्यौँ, एउटा पोइन्टमा गएर अब ठेक्का रद्द भइदिन्छ । यस्तो बिचमा परेको हुन्छ कि, सो त्यसमा के गर्ने भन्ने चिजमा एकदम धेरै अन्योलता र जटिलता छ । त्यसमा पनि म माननीय सभापतिमार्फत समितिलाई के निवेदन गर्छु भने, यस्ता लुपहोल्सहरूलाई हामीले अब कसरी क्लोज गर्ने भन्ने चिजमा अझ बजेट पश्चात हामी अझ घनीभूत छलफलहरू यसमा गर्नुपर्छ जस्तो लाग्छ । यसले एफडिआईमा पनि असर गर्छ । निजी क्षेत्रको लगानीलाई प्रेरणा र प्रोत्साहित गर्न असर गर्छ । अब यो चिजहरूले गर्दा व्यावहारिक भएन, इन्टरनेसनल बेस्ट प्राक्टिस हामी एफडिआई भन्छौँ, लगानी भित्राउने भन्छौँ, तर हाम्रो यो संरचनाले त्यसलाई कतिको सहयोग गरेको छ कि छैन भन्नेबारे पनि छलफल हुन जरुरी छ ।’
विकास निर्माणको कार्यलाई गुणस्तरीय बनाउन मन्त्री श्रेष्ठले पूर्वाधार समितिलाई सक्रिय अनुगमनका लागि समेत आग्रह गरे । मन्त्रालयले गर्ने काममा समितिले कुनै योजनाको अनुगमन गर्ने प्रणाली बनायो भने त्यसले काम गर्न प्रेरित गर्ने र जिम्मेवार मानिसहरूलाई दायरामा ल्याउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण