बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रास्वपा सांसदहरूलाई सभापतिको आग्रह, ‘जनताका मुद्दामा संसद्‍मा प्रखर रूपमा प्रस्तुत हुनू’

शुक्रबार, ०८ जेठ २०८३, १५ : ५८
शुक्रबार, ०८ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सङ्गठन, संसद र सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउन सातै प्रदेशका सांसदहरूसँग अन्तरक्रियात्मक अभियान सुरु गरेको छ । 

यस अभियान अन्तर्गत शुक्रबार कोशी र मधेस प्रदेशका सांसदहरूसँग पार्टी सभापतिले छुट्टाछुट्टै छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलमा सांसदहरूले चुनावका बेला भोगेका अनुभव, राष्ट्र र जनताको अपेक्षा तथा पार्टी र सरकारबीचको समन्वयकारी भूमिकाबारे आफ्ना धारणा राखेका थिए ।

रास्वपा सचेतक प्रकाशचन्द्र परियारका अनुसार सभापतिले सांसदहरूलाई वडादेखि संघसम्मको गतिविधि, आगामी महाधिवेशनमा देखा परेका चुनौती र संसदीय भूमिकालाई कसरी जनमुखी बनाउने भन्ने विषयमा निर्देशनात्मक सुझाव दिएका छन् । छलफलका क्रममा सांसदहरूको कार्यसम्पादनलाई गुणस्तरीय बनाउने, कानुनी जटिलताहरू निराकरण गर्ने र पार्टीको विधान अनुरूप सरकारको कार्यसम्पादनमा सहयोग पुर्‍याउने विषयमा समेत गहन विमर्श भएको छ । सभापतिले सांसदहरूलाई आफ्नो व्यक्तित्व निर्माण गर्दै जनताका मुद्दामा प्रखर रूपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

छलफलको उद्देश्यबारे जानकारी दिँदै सचेतक परियारले भने, ‘पार्टी सभापतिले पार्टी, संसद र सरकारको समन्वयमा भइरहेका कार्य, आसन्न महाधिवेशनको तयारी र सांसदहरूले भोगिरहेका समस्याबारे विस्तृत छलफल गर्नुभएको छ । सांसदहरूले आफ्ना क्षेत्रका समस्या र जनताका अपेक्षालाई सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउन र सरकारको कामलाई नतिजामुखी बनाउन यो अन्तक्र्रिया केन्द्रित थियो ।’

झापा क्षेत्र नं. ५ का सांसदको अनुपस्थितिबारे सोधिएको प्रश्नमा सचेतक परियारले मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीसँग पार्टी सभापतिको नियमित समन्वय र सहकार्य भइरहेको बताए । आगामी बजेट निर्माणको व्यस्तताका कारण केही विशिष्ट परिस्थितिहरू उत्पन्न हुनु स्वाभाविक भएको उनको तर्क छ । यसैबीच, सहकारी पीडितहरूलाई सरकारी ढुकुटीबाट रकम वितरण गर्ने तयारीका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सचेतक परियारले उक्त विषयमा आगामी दिनमा विस्तृत छलफल गर्न सकिने बताए । 

संसदीय दल र पार्टी नेतृत्वले सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको र उचित समयमा आधिकारिक धारणा सार्वजनिक गर्ने संकेत उनले गरे । रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाउन र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूलाई सातै प्रदेशमा निरन्तरता दिने योजना बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप