मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सांसदहरूले संसद्मा उठाएका विषयहरू बेवारिसे भए : दंगाल

शुक्रबार, ०८ जेठ २०८३, १६ : ०६
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सांसदहरूले संसद्मा उठाएका जनसरोकारका विषयहरू सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
  • नेता दंगालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री तथा मन्त्रीहरू संसद्मा उपस्थित नभएको भन्दै आक्रोश व्यक्त गरे ।
  • उनले सरकारले संसद्प्रतिको उदासीनता देखाएको र नियमावली उल्लंघन गरेको आरोप लगाउँदै लोकतान्त्रिक मूल्यको उपहास नगर्न चेतावनी दिए ।

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सांसदहरूले संसद्मा उठाएका जनसरोकारका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

नेता दंगालले संसद बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीहरू प्रति आक्रोश समेत व्यक्त गरे । सरकारले हालसम्म पनि सांसदहरूले उठाएका विषयहरूलाई सम्बोधन नगरी बेवारिसे अवस्थामा राखेको उनको जिकिर थियो । नेता दंगालले सांसदहरूले उठाएका जनताका काम र मुद्दाहरूको कार्यान्वयनमा केन्द्रित हुन सरकारलाई सचेत गराए ।

संसदप्रतिको सरकारी उदासीनता र नियमावलीको उल्लंघनबारे प्रस्ट पार्दै नेता दंगालले भने, ‘सांसदहरूले संसद्मा उठाएका विषयहरू बेवारिसे भए । अहिलेसम्म एक जना माननीय मन्त्री यो रोष्टममा उपस्थित भएर तिनलाई रेसपोन्स गर्ने काम भएको छैन । त्यो भएको हुनाले म अविलम्ब जोडदार माग गर्न चाहन्छु–नियमावली बमोजिम पनि यी विषयहरू ७ दिन भित्र नेपाल सरकारसँग संसद्का उठाइएको विषयहरूको जवाफ, स्पष्टीकरण के हो ? त्यो कुरा सरकारको तर्फबाट राख्न पर्ने थियो ।’

‘हामी २१ औँ बैठकमा अघि बढिरहेका छौँ । त्यसो भएको हुनाले हामीले उठाएका विषयहरू बेवारिसे भए । यसप्रतिको रेसपोन्स राज्यले देखाएन । यति मात्रै होइन, तिनको कार्यान्वयनको स्टाटस के छ ? त्यसको बारेमा पनि जनप्रतिनिधिमूलक संस्थालाई अद्यावधिक गर्नु, गराउन राज्यको धर्म हो । अनि त त्यो जनताको बिचमा जान्छ । त्यसो भएको हुनाले म सम्माननीय अध्यक्षज्यूमार्फत नेपाल सरकारलाई अनुरोध र आग्रह गर्न चाहन्छु–सभामा उठाइएको समसामयिक, जनसरोकारका विषयहरूलाई सरकारको तर्फबाट अविलम्ब सम्बोधन होस् । त्यसको यथोचित कार्यान्वयन होस् ।’

नेता दंगालले सरकार जनप्रतिनिधिमूलक संस्था संसद्प्रति जबाफदेही हुने कुरामा आनाकानी गरिरहेको आरोप लगाए । संसद्मा उठाइएका सवालहरूको जवाफ नआउँदा जनताका समस्या जहाँको त्यही रहने भन्दै उनले सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताको उपहास नगर्न चेतावनी समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप