आर्बेलोआले रियल छाड्ने पक्का, मोरिन्हो फर्किने चर्चा
सारांश
- रियल म्याड्रिडका प्रशिक्षक अलभारो आर्बेलोआले कमजोर सिजनपछि पद छाड्ने घोषणा गरेका छन् ।
- आगामी सिजन आफू टोलीको प्रशिक्षक नरहने पुष्टि गर्दै आर्बेलोआले जोसे मोरिन्हो क्लबमा फर्किन लागेको चर्चा व्यापक छ ।
- आर्बेलोआले यदि मोरिन्होलाई उत्तराधिकारी बनाइयो भने आफू उनको टोलीमा नबस्ने बताएका छन् ।
म्याड्रिड । रियल म्याड्रिड प्रशिक्षक अलभारो आर्बेलोआले आफ्नो कमजोर सिजनपछि पद छाड्ने घोषणा गरेका छन् ।
आर्बेलोआले आगामी सिजन आफू टोलीको प्रशिक्षक नरहने पुष्टि गरेका हुन् । यसबिच अनुभवी प्रशिक्षक जोसे मोरिन्हो क्लबमा फर्किन लागेको चर्चा व्यापक रूपमा भइरहेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी सिजन आफू टोलीको प्रशिक्षक नरहने हो कि भन्ने प्रश्नमा उनले ‘हो’ भन्दै पुष्टि गरे । त्यही समयमा अनुभवी प्रशिक्षक जोसे मोरिन्हो क्लबमा फर्किन लागेको चर्चा व्यापक रूपमा भइरहेको छ ।
‘लोस ब्लाङ्कोस’ अर्थात् रियल म्याड्रिडले शनिबार एथलेटिको विलबाओसँग आफ्नै मैदान स्यान्टियागो बर्नबहुमा यस सिजनको अन्तिम ला लिगा खेल खेल्दैछ ।
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत जनवरीमा मात्र जाबी अलन्सोको स्थानमा आर्बेलोआलाई नियुक्त गरेका थिए । स्पेनिस प्रशिक्षक आर्बेलोआले यदि पोर्चुगाली प्रशिक्षक मोरिन्होलाई आफ्नो उत्तराधिकारी बनाइयो भने आफू उनको प्रशिक्षण टोलीमा नबस्ने बताएका छन् ।
आर्बेलोआले भने, ‘मोरिन्होसँग उत्कृष्ट प्राविधिक टोली छ, उनीसँग राम्रो समूह छ । यदि उनी म्याड्रिड आए भने आफ्नै टोली लिएर आउनेछन् ।’
उनले थपे, ‘म उहाँसँग रहने कुनै सम्भावना छैन । अब मेरो भविष्यबारे... सोमबारदेखि सोच्नेछु ।’
सन् २००९ देखि २०१६ सम्म रियल म्याड्रिडका लागि खेलिसकेका तथा पछि युवा स्तरमा प्रशिक्षणसमेत गराएका आर्बेलोआले यो खेल ‘बिदाइ’ जस्तो भन्दा पनि ‘फेरि भेटौँला’ जस्तो होस् भन्ने आशा रहेको बताए ।
उनले भने, ‘म आशा गर्छु यो फेरि भेटौँला होस्... मैले सधैँ यो क्लबलाई आफ्नो घर ठानेको छु । म २० वर्षदेखि विभिन्न भूमिकामा म्याड्रिडसँग जोडिएको छु ।’
‘यो सिजनमा रियल म्याड्रिडको प्रशिक्षकका रूपमा मेरो अन्तिम खेल हुनेछ । तर जीवनकै अन्तिम खेल हो कि होइन, मलाई थाहा छैन ।’
‘हामीलाई भविष्य थाहा हुँदैन । म यो क्षणको आनन्द लिनेछु र जित निकाल्ने प्रयास गर्नेछु’ उनले भने ।
यो सिजन रियल म्याड्रिडले उपाधिविहीन भएर अन्त्य गर्दैछ ।
एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण