मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २

अमेरिकामाथि नेपालको सानदार जित

शुक्रबार, ०८ जेठ २०८३, १७ : २१
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकालाई १ सय २२ रनले हराएको छ ।
  • नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रन बनाएको थियो ।
  • अमेरिकाले ३१८ रनको लक्ष्य पछ्याउँदै गर्दा १९५ रनमा अलआउट भयो ।

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनले हराएको छ ।

३ सय १८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९५ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले ५६ रनको योगदान दिए । त्यस्तै, नोसथुस केन्जीगेले २९ रन बनाए । सञ्जय जहाङ्गिरले २७ रन तथा सेहान जयसूर्याले २६ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ३ विकेट लिए । ललित राजवंशी र गुल्सन झाको नाममा २–२ विकेट रह्यो । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रन बनाएको थियो ।

नेपाली समय अनुसार बिहान ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान नसुकेकाले केही ढिला गरी सुरु भएको थियो । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

शेखले ५७ बलमा ६ चौकाको मद्दतले ४३ रन जोडे भने भुर्तेलले ३९ बलमा २९ रन जोडे । उनले ५ चौका प्रहार गरे ।

त्यसपछि कप्तान रोहित पौडेल र ईशान पाण्डेले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । पाण्डेले टोलीका लागि सर्वाधिक ८४ रनको योगदान दिए । ८३ बलको सामना गर्दै उनले ८ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित अर्धशतक बनाउन चुके । उनले ५९ बलमा २ चौका र १ छक्काको मद्दतले ४६ रन बनाए । टोलीका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक पारी खेल्दै अर्धशतक बनाए । उनले मात्र ३६ बलमा ५९ रन जोडे । उनले यस क्रममा ४ चौका र ४ छक्का हिर्काए ।

गुल्सन झाले १२ बलमा १५ रन बनाउँदै पभेलियन फर्किए । आरिफ शेखले १० बलमा १८ रन बनाए । सोमपाल कामी अन्तिम ओभरमा ५ रन बनाएर रन आउट भए ।

अमेरिकाका लागि शुभम रंजानले ३ विकेट लिए । रुसिल उगारकर र मिलिन्द कुमारले १–१ विकेट हात पारे ।

सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण मानिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेल यो शृङ्खलाको अन्तिम खेल हो ।

यो खेलले लिग २ को अङ्क तालिकामा निकै ठुलो महत्त्व राख्दछ। यस प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थानमा रहने टोलीहरूले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्नेछन् भने बाँकी टोलीहरू कठिन प्ले–अफ मार्गमा धकेलिनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप