बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक सवारीमा अब ‘लगेज ट्याग’ अनिवार्य, ट्राफिक प्रहरी र व्यवसायीबिच समझदारी

शुक्रबार, ०८ जेठ २०८३, १७ : ५५
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • सार्वजनिक सवारी साधनमा यात्रुहरूको सामान हराउने, चोरी हुने वा साटिने समस्या समाधान गर्न लगेज ट्याग प्रणाली लागू गरिने भएको छ ।
  • यात्रुको ब्यागमा एउटा ट्याग टाँसिनेछ र अर्को यात्रुलाई दिइनेछ, जसले सामान फिर्ता प्रक्रियालाई सुरक्षित बनाउनेछ ।
  • यातायात व्यवसायीले प्रणाली लागू गर्नुपर्नेछ र ट्राफिक प्रहरीले अनुगमन तथा जनचेतना फैलाउने काम गर्नेछ ।

काठमाडौँ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सामान हराउने, चोरी हुने वा साटिने समस्यालाई न्यूनीकरण गर्न लगेज ट्याग प्रणाली लागू गरिने भएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच यससम्बन्धी समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

यस प्रणाली अन्तर्गत अब सार्वजनिक सवारी साधनमा यात्रुको ब्याग वा लगेज राख्दा अनिवार्य रूपमा दुईप्रति ट्याग जारी गरिनेछ । एउटा ट्याग यात्रुको सामानमा टाँसिनेछ भने अर्को ट्याग यात्रुलाई सुरक्षित राख्न दिइनेछ । गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानको ट्याग भिडाएर मात्र सामान फिर्ता दिइने व्यवस्था मिलाइने समझदारी पत्रमा उल्लेख छ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरूको लगेज तथा झिटीगुन्टा हराउने, चोरी हुने वा साटिने गुनासाहरू बढ्दै गएपछि सामानको सुरक्षा सुनिश्चित गर्न र सेवालाई विश्वसनीय बनाउन यो कदम चालिएको हो । आधुनिक प्रविधिको प्रयोग गर्दै क्युआर कोड, बारकोड वा नम्बरिङ सहितको ट्याग प्रयोग गरी सामानको पहिचान सहज बनाउने उद्देश्य राखिएको छ ।

सम्झौता अनुसार यातायात व्यवसायीले आफ्नो मातहतका सवारी साधनमा यो प्रणाली अनिवार्य लागू गर्नुपर्नेछ भने चालक र सह–चालकलाई यसबारे तालिम दिनुपर्नेछ । ट्राफिक प्रहरीले यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र जनचेतना फैलाउने काम गर्नेछ ।

यदि ट्याग टाँसिएको सामान व्यवसायीको लापरबाहीका कारण हराएमा वा क्षति भएमा प्रचलित कानुन वा आपसी सहमति अनुसार यात्रुलाई उचित क्षतिपूर्ति समेत दिइने व्यवस्था गरिएको छ ।

यस प्रणालीमा सङ्कलन गरिने यात्रुको व्यक्तिगत विवरण (नाम, फोन नम्बर आदि) पूर्ण रूपमा सुरक्षित राखिने र व्यावसायिक वा अनधिकृत प्रयोजनका लागि प्रयोग नगरिने प्रतिबद्धता जनाइएको छ । यो सम्झौता हस्ताक्षर भएको मिति (२०८३ जेठ ०८) बाट लागू भई प्रारम्भिक रूपमा १० वर्षसम्म कायम रहनेछ।

समझदारी पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका तर्फबाट केन्द्रीय अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप