शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

ठमेलमा अश्लील क्रियाकलापको मोलमोलाई गर्ने ७ विदेशी नागरिकमाथि प्रहरीको कारबाही

शुक्रबार, ०८ जेठ २०८३, २१ : ५६
शुक्रबार, ०८ जेठ २०८३

काठमाडौँ। काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जना विदेशी नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर २६ स्थित ठमेल एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक एवं सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेक्ने काम भइरहेको थियो। 

ती विदेशी नागरिकहरूले बाटोमा अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी सर्वसाधारणलाई दुःख हैरानी दिइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

त्यसरी सर्वसाधारणलाई हैरानी दिएपछि वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सम्झाइबुझाई गर्ने प्रयास गरेको थियो। प्रहरीले सम्झाउन खोज्दा ती विदेशी नागरिकहरू उल्टै डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूमाथि नै जाइलागेका थिए। उनीहरूले प्रहरीमाथि अपशब्द प्रयोग गरी गालीगलौज गर्ने र धक्कामुक्का समेत गरेपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका ती सातै जना विदेशी नागरिकहरूमाथि अनुसन्धान सुरु भइसकेको छ। 

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ। 

प्रहरी वृत्त लैनचौरले यस घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप