आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
पुस्तक समीक्षा

डाक्टरका रूपमा गोविन्द केसीले देखेको नेपाल

शनिबार, ०९ जेठ २०८३, १० : ४३
शनिबार, ०९ जेठ २०८३

सारांश

  • डा. गोविन्द केसीले आफ्नो चार दशक लामो चिकित्सक पेसामा देशैभर खिचेका तस्बिरहरू समेटेर 'एक साधारण नागरिक तथा सामान्य डाक्टरले देखेको नेपाल' नामक पुस्तक प्रकाशित गरेका छन्।
  • पुस्तकमा नेपालका विभिन्न क्षेत्रका जनताका जीवनशैली, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, राजनीतिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, पर्यावरण लगायतका पक्षलाई तस्बिर र लेखनमार्फत उजागर गरिएको छ।
  • पुस्तक दुई भागमा विभाजित छ जसमा देशका अनुहार, भेसभुसा, भूकम्प, स्वास्थ्य सूचकाङ्क, जीविका, जङ्गल, अर्थतन्त्र, यातायात, वायु प्रदूषण, संस्था, तीर्थस्थल, संस्कृति, स्कुल, दरबार, धरोहर, भरिया, जलस्रोत, खेती, नदी, चाडपर्व, पशुपन्छी, हिमाल, पहाड, सहर, सडक, जलवायु परिवर्तन, ललितकला, मौसम, फूल, र नेपालको आनुवंशिक पुर्खा जस्ता विषय समेटिएका छन्।

हाड जोर्नी विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. गोविन्द केसीले तस्बिरहरूको सङ्गालो र सन्दर्भलाई समेटेर पुस्तक प्रकाशित गरेका छन् । करिब चार दशक लामो चिकित्सक पेसामा सक्रिय रहेका डा. केसीले ०७६ असोज २७ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट सेवा निवृत्त भएका थिए । यस अवधिमा देश भरी खिचिएकामध्ये केही तस्बिरहरू सङ्कलन गरी ‘एक साधारण नागरिक तथा सामान्य डाक्टरले देखेको नेपाल’ नामक पुस्तक बजारमा ल्याएका छन् उनले ।

पुस्तकमा डा. केसीले आफू पुगेका ठाउँका तस्बिरसँगै त्यो ठाउँबारे संक्षिप्त विवरण र  वस्तुगत अवस्था उजागर गरेका छन् । 

कलेज जीवनदेखि नै फोटोग्राफीको सोख भएका उनले बेलाबेला साथीहरूको क्यामरा लिएर प्राकृतिक दृश्य, पशुपन्छी र कहिलेकाहीँ आफ्नै तस्बिर खिचाउने गरेको स्पष्ट पारेका छन् । सन् १९८६ को जनवरीमा बङ्गलादेशको राज शाही मेडिकल कलेजबाट एमबीबीएसको इन्टर्नसिप सकिँदासम्म छात्रवृत्तिको रकमबाट जोगाएर राखेको चार हजार टका खर्चेर यासिका नामक जुमसहितको क्यामेरा किनेको प्रसङ्ग पनि पुस्तकमा छ । 

त्यहीबाट फोटोग्राफी यात्रा सुरु भएको लेखक डा. केसीले उल्लेख गरेका छन् । विशेषतः सन् १९९३ मा हाड जोर्नी विषयमा स्नातकोत्तर डिग्री हासिल गरेर आएयता देशभित्र डा. केसीले स्वास्थ्य शिविर गर्ने र स्वास्थ्यकर्मीलाई हाड जोर्नीसम्बन्धी आधारभूत तालिम दिने क्रममा उनले धेरै तस्बिर खिचेका थिए । 

देशका सबै जिल्ला र मानवीय सहायता तथा अध्ययनका क्रममा विश्वको स्विट्जरल्याण्ड, युरोपेली देशहरू, अस्ट्रेलिया लगायतका देशमा पुग्दा पनि डा. केसीले तस्बिर खिचेका थिए । पेसागत उत्कृष्टताका लागि देश घुमेर व्यवहारिक सिकाइ गर्नुपर्ने बोध लेखकलाई भएको देखिन्छ । 

डा. केसीले विभिन्न अध्ययन, तालिम र मानवीय सेवाका लागि विकसित र अर्धविकसित देशमा रहँदाको अनुभव पुस्तकबाट बाँडेका छन् । यात्राकै क्रममा देश विदेशका भौगोलिक क्षेत्र, आर्थिक अवसर अनुसारको चुनौती र यथार्थबारे बुझ्न सहयोग पुगेको उनको अनुभव छ । यात्राले ती देशका लोकतन्त्र, शासकीय व्यवस्था र सभ्यताबारे तुलनात्मक अध्ययन गर्न अवसर मिलेको लेखकको अनुभव छ ।  

‘यात्राका क्रममा लोकतन्त्र, शासकीय व्यवस्था र सभ्यताबारे नै तुलनात्मक अध्ययन गर्न पाएँ । शैक्षिक, राजनीतिक र सामाजिक मानक र विधिको शासनका हिसाबले पनि नेपाललाई अन्य मुलुकसित तुलना गर्ने अवसर पाएँ’, लेखक डा. केसीले उल्लेख गरेका छन् । 

प्राध्यापक पदबाट सेवा निवृत्त भएको ६ वर्ष पुरा गरिसक्दा पनि डा. केसीले देशभरिका मानिसलाई स्वास्थ्य सेवा दिने र तस्बिर खिच्ने काम जारी राखेका छन् । 

धेरैले लेखकलाई आत्मकथा वा संस्मरण लेख्न सुझाएका थिए । कतिपयले उनलाई बोल्न र त्यसका आधारमा जीवनी लेखिदिने पनि बताएका थिए । तर त्यस्ता सुझावलाई अस्वीकार गरी आफू प्रकाशित हुनुभन्दा पनि नेपालको अवस्था प्रकाशित गर्ने कुरामा उनले रुचि राखेको देखिन्छ । 

विभिन्न मुद्दा र प्रसङ्गमा पटक–पटक अनशन बसेका लेखक डा. केसीले – म कसरी आन्दोलनकारी बन्न पुगेँ भन्ने पुस्तकमार्फत पाठकहरूले बुझुन् भन्ने अपेक्षा राखेको देखिन्छ । 

यो पुस्तक दुई भागमा विभाजित छ । पहिलो भागमा देशका अनुहार र भेसभुसा, बालबालिका, भूकम्प, उल्लेखनीय रोग, बिरामी र केही स्वास्थ्य सूचकाङ्क, जीविका र जीवन शैली, जङ्गल र रुख बिरुवा, अर्थतन्त्र, यातायात, सरसफाइ, फोहोर व्यवस्थापन जस्ता विषयमा तस्बिरमार्फत जानकारी दिइएको छ । 

त्यस्तै वायु प्रदूषण र पर्यावरण, संस्था, दाउरा र गुइँठा, जिल्ला सदरमुकाम र जिल्लाका केही तथ्याङ्क, तीर्थस्थल, संस्कृति, स्कुल तथा शैक्षिक संस्था, नागरिक कर्तव्य र दायित्व, दरबार, धरोहर र स्मारकबारे पनि पुस्तकमा चर्चा गरिएको छ। 

दोस्रो भागमा भरिया, जलस्रोतको धनी, पानीमा गरिब, स्वास्थ्य संस्था, घर, वासर भवन, खेती र खाद्यपदार्थ, नदी, ताल तलैया, चाडपर्व, पशुपन्छी र किरा, किल्ला, हिमाल, पहाड र उपत्यका, गाउँ, सहर र गल्ली लगायतका तस्बिरहरू पस्किएका छन् । त्यसैगरी  सडक, गोरेटो र गुफा, जलवायु परिवर्तन र प्राकृतिक विपत्ति, ललितकला, वस्तुकला र हस्तकला, मौसम र हावापानी, फूल, नेपालको आनुवंशिक पुर्खौली तथा अन्तरसम्बन्ध, सेवा र भ्रमण जस्ता बिषय पनि पुस्तकमा समेटिएका छन् ।

पुस्तकको भाषा शैली सरल छ । लेखक डा. केसीले नेपालका विभिन्न क्षेत्रका जनताका जीवनशैली, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, राजनीतिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, पर्यावरण, वनस्पति, जनावर, पशुपक्षी, भौगोलिक विविधता लगायतका पक्षलाई तस्बिर र लेखनबाट पस्किएका छन् । 

माओवादी सशस्त्र द्वन्द्व, जनआन्दोलनदेखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनले पारेको प्रभावलाई पनि शब्द र तस्बिर मार्फत समेट्ने प्रयास गरिएको छ । पुस्तक राजनीतिज्ञ, समाजशास्त्री, मानवशास्त्री, नीति निर्माता, भूगोलविद्, इतिहासकार, शिक्षक, चिकित्सक, पत्रकार लगायत सबै पक्षलाई उपयोगी देखिन्छ ।  

पुस्तकमा भएका भाषागत त्रुटि र तस्बिरहरूको गुणस्तर सम्बन्धमा कुनै कमजोरी रहेका भए त्यसप्रति लेखकले क्षमाको अपेक्षा गरेका छन् । डा. जीवन क्षेत्रीले भाषा सम्पादन गरेका पुस्तकको लेखक र प्रकाशक डा. केसी आफै हुन् ।

चार सय २० पृष्ठको यस पुस्तकको डिजाइन ‘डिजाइन चौतारी’ले गरेको छ । यो पुस्तकको मूल्य ८०० रुपैयाँ रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप