बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तीव्र तनावले दिमागमा गहिरो असर पार्ने, पुराना याद कमजोर हुने

सोमबार, ११ जेठ २०८३, १३ : ४४
सोमबार, ११ जेठ २०८३

सारांश

  • तीव्र तनावले मानिसको सोच्ने, बुझ्ने र पुराना यादहरू जोडेर राख्ने क्षमतामा असर पार्ने नयाँ अध्ययनले देखाएको छ ।
  • ह्याम्बर्ग विश्वविद्यालयको अध्ययनअनुसार एक्युट स्ट्रेसले दिमागमा स्मृतिहरूबीचको सम्बन्धलाई कमजोर बनाउँछ, जसले निर्णय क्षमतामा प्रभाव पार्छ ।
  • एफएमआरआई स्क्यानमा तनावग्रस्त व्यक्तिहरूको हिप्पोक्याम्पस भागमा गतिविधि कम देखिएको छ, जसले नयाँ जानकारीलाई पुराना स्मृतिसँग जोड्न नसकेको संकेत गर्छ ।

काठमाडौं । तीव्र तनावले मानिसलाई मानसिक रूपमा त असर गर्छ नै यसले दिमागको सोच्ने, बुझ्ने तथा पुराना यादहरू जोडेर राख्ने क्षमतामा पनि प्रभाव पार्ने नयाँ अध्ययनले देखाएको छ । 

ह्याम्बर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा अचानक उत्पन्न हुने तनाव अर्थात् “एक्युट स्ट्रेस”ले दिमागमा स्मृतिहरूबीच बन्ने सम्बन्धलाई कमजोर बनाउने तथ्य सार्वजनिक भएको हो । वैज्ञानिकहरूका अनुसार यही कारणले तनावको अवस्थामा मानिस सही निर्णय लिन र तार्किक निष्कर्ष निकाल्न कमजोर बन्न सक्छ । मानसिक स्वास्थ्य र दिमागको कार्यप्रणाली बुझ्नका लागि यो अध्ययनलाई महत्वपूर्ण मानिएको छ ।

तनावले दिमागलाई कसरी असर गर्छ ?

अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार तनावमा रहेका बेला दिमागले नयाँ जानकारीलाई पुराना स्मृतिसँग प्रभावकारी रूपमा जोड्न सक्दैन । सामान्य अवस्थामा दिमागले पुराना यादहरूलाई पुनः सक्रिय बनाएर नयाँ कुराहरू बुझ्न सहयोग गर्छ । तर तनावको अवस्थामा यो प्रक्रिया कमजोर हुने अध्ययनमा उल्लेख गरिएको छ । वैज्ञानिकहरू भन्छन्, यही कारण तनावको समयमा मानिसहरू धेरै पटक अन्योलमा पर्ने र निर्णय लिन कठिनाइ अनुभव गर्ने गर्छन् ।

के देखियो एफएमआरआई स्क्यानमा ?

अध्ययनका क्रममा वैज्ञानिकहरूले सहभागीहरूको दिमागी गतिविधि बुझ्न एफएमआरआई अर्थात् फंक्शनल म्याग्नेटिक रेजोनान्स इमेजिङ प्रविधिको प्रयोग गरेका थिए । जाँचमा तनावग्रस्त व्यक्तिहरूको दिमागको “हिप्पोक्याम्पस” भागमा सामान्यतया अनुहार र दृश्यसँग सम्बन्धित स्मृतिका बेला सक्रिय हुने गतिविधि कम भएको पाइएको थियो । यसको अर्थ उनीहरूको दिमागले नयाँ जानकारीलाई पुराना स्मृतिसँग मजबुत रूपमा जोड्न नसकेको हो । अनुसन्धानकर्ताहरूका अनुसार तनावले दिमागका स्मरणशक्ति र सोच्ने क्षमतासँग सम्बन्धित भागहरूलाई प्रत्यक्ष असर पु¥याउँछ ।

व्यवहारिक प्रदर्शनमा पनि पर्छ प्रभाव ?

अध्ययनमा एउटा रोचक तथ्य पनि देखिएको छ । व्यवहारिक परीक्षणमा तनावग्रस्त व्यक्तिहरूको प्रदर्शन अत्यन्त कमजोर देखिएन । धेरैजसो अवस्थामा उनीहरूले सही उत्तर दिन सफल भएका थिए । तर एफएमआरआई स्क्यानमा भने उनीहरूको दिमागभित्र स्मृतिहरूबीचको सम्बन्ध कमजोर देखिएको थियो । वैज्ञानिकहरूका अनुसार दिमागभित्र हुने सूक्ष्म परिवर्तनहरू तत्काल व्यवहारमा नदेखिन सक्छन्, तर स्क्यानिङ प्रविधिले ती परिवर्तनलाई स्पष्ट रूपमा देखाउन सक्छ । यसले तनावले भित्री रूपमा दिमागलाई कसरी असर गर्छ भन्ने बुझ्न सहयोग पुग्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । 

किन महत्वपूर्ण मानिएको छ अध्ययन ?

विशेषज्ञहरूका अनुसार मानसिक तनाव र दिमागको कार्यप्रणाली बुझ्न यो अध्ययनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । ओरेगन विश्वविद्यालयका न्यूरोसाइन्टिस्ट ब्रायस कुह्लले व्यवहारिक परीक्षण र न्यूरल इमेजिङलाई एकसाथ प्रयोग गरेर दिमागको वास्तविक अवस्था बुझ्ने विधि निकै प्रभावकारी भएको बताएका छन् । यस अनुसन्धानले भविष्यमा तनाव, मानसिक दबाब तथा स्मृतिसम्बन्धी समस्याको उपचार विकास गर्न सहयोग पु¥याउन सक्ने विश्वास वैज्ञानिकहरूको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप