शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
नाटकको असर

किन रोकियो मञ्चन भइरहेको ‘लुसिफर राइजिङ’ ?

सोमबार, ११ जेठ २०८३, १६ : ४८
सोमबार, ११ जेठ २०८३

सारांश

  • थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ राजनीतिक धम्कीका कारण एकाएक रोकिएको छ ।
  • नाटक निर्माण संस्था ‘मझुवा बगर’ले अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण शो रोक्न बाध्य भएको जनाएको छ ।
  • नाटकको शीर्षकमा रहेको ‘लुसिफर’ शब्दलाई लिएर केही व्यक्तिले सुरुदेखि नै निर्देशकलाई फोनमार्फत असन्तुष्टि जनाउँदै आएका थिए ।

काठमाडौँ । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक आइतबार एकाएक रोकिएको छ ।

नाटक निर्माण संस्था ‘मझुवा बगर’ले एक सूचना जारी गर्दै राजनीतिक धम्कीका कारण नाटकको मञ्चन रोक्न बाध्य भएको जनाएको छ । सूचनामा भनिएको छ, ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण हामी नाटक ‘लुसिफर राइजिङ’को शो रोक्न बाध्य भएका छौँ । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’ 

मझुवा बगरले ‘एक थिएटर नेपाल’को हल भाडामा लिएर उक्त नाटक मञ्चन गरिरहेको थियो । नाटक रोकिनुको कारण ‘राजनीतिक धम्की’ भनिए पनि कसले र किन यस्तो गर्‍यो भन्नेबारे स्पष्ट खुलाइएको छैन । पछिल्लो समय ‘लुसिफर’ शब्दलाई प्रधानमन्त्री बालेन्द्र शाहका आलोचकहरूले उनलाई लक्षित गरी प्रयोग गर्ने गरेका छन् । सोही शब्द नाटकको शीर्षकमा रहेकाले सरकारको दबाबमा नाटक रोकिएको हुन सक्ने अनुमान धेरै कलाकर्मीको छ । यसप्रति उनीहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाइरहेका छन् । 

नाट्यकर्मी अनुप बरालले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ताको रक्षाका नाममा राज्यले कला–संस्कृतिमाथि अंकुश लगाउने, सिर्जनात्मक अभिव्यक्तिलाई कुण्ठित गर्ने वा कलाकारलाई धम्की दिने कार्य कुनै हालतमा स्वीकार्य छैन । कला प्रश्न गर्ने माध्यम हो । जब राज्य प्रश्नसँग डराउन थाल्छ, त्यहीँबाट लोकतान्त्रिक मूल्यहरू कमजोर हुन्छन् ।’

बरालको यो धारणालाई नाट्यकर्मी दिया मास्केले पनि फेसबुकमा सेयर गरेकी छन् ।

त्यस्तै, अर्का नाट्यकर्मी राज शाहले कसैको दबाब, धम्की र लालचमा नेपाली रङ्गमञ्च नझुक्ने बताए । उनले भने, ‘पञ्चायतकालमा नाटक सेन्सर हुने, नाटक गर्दा मण्डलेबाट कुटिने र प्रहरीले पक्राउ गर्ने कुरा अग्रजहरूबाट सुनेका थियौँ । तर, नाटक नै रोक्नुपर्ने गरी राजनीतिक दबाब आएको हाम्रै पालामा भोग्नुपर्‍यो ।’ 

यसैबिच, ‘एक थिएटर नेपाल’का सञ्चालक सौजन सेनेहाङले नाटक किन रोकियो भन्नेबारे आफूलाई स्पष्ट जानकारी नभएको बताए । उनले भने, ‘आइतबार बिहान ८ देखि १० बजेको बीचमा निर्देशक सहलेसलाई अज्ञात नम्बरहरूबाट धम्कीपूर्ण फोन आएको सुनेको छु । त्यसपछि कलाकारहरूसँग सल्लाह गरी उहाँले नाटक रोक्ने निर्णय लिनुभयो ।’ 

सेनेहाङका अनुसार नाटकको शीर्षकमा रहेको ‘लुसिफर’ शब्दलाई लिएर केही व्यक्तिले सुरुदेखि नै निर्देशकलाई फोनमार्फत असन्तुष्टि जनाउँदै आएका थिए । उनले थपे, ‘धम्की सरकारी पक्षबाट आएको हो वा कुनै समूहबाट, त्यो स्पष्ट भइसकेको छैन । यस विषयमा निर्देशकले वक्तव्यमार्फत सार्वजनिक गर्ने भन्नुभएको छ ।’

थिएटर सञ्चालनमा आएदेखि यस किसिमको अवस्था पहिलोपटक भोग्नुपरेको उनले बताए । यस विषयमा बुझ्न निर्देशक सहलेससँग पटक–पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

के हो नाटक ‘लुसिफर राइजिङ’ ? 

शक्तिशाली व्यक्तिहरूको क्रियाकलापमा आधारित यो नाटक गत जेठ १ गतेदेखि मञ्चन भइरहेको थियो । भदौ २३ गतेको ‘जेनजी आन्दोलन’को पृष्ठभूमिमा एउटा सुकुमबासी बस्तीमा महिलामाथि घटेका घटनालाई नाटकको विषय बनाइएको छ ।

सहलेसद्वारा लिखित तथा निर्देशित यो नाटकमा मानिसभित्रको अन्तरद्वन्द्व, शक्ति, राक्षसी प्रवृत्ति र त्यसले आम मानिसमा पार्ने प्रभाव समेटिएको छ । नाटकमा अनोज पाण्डे, तारा, बुद्धिराम चौधरी, मिलनबहादुर खड्का, सुब्रतराज सिलवाल र एडन बातीलगायतका कलाकारले अभिनय गरेका थिए । नाटक जेठ २० गतेसम्म मञ्चन गर्ने तय गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप