‘लुसिफर राइजिङ’ स्थगनबारे एक थिएटर नेपालको स्पष्टीकरण
काठमाडौँ । एक थिएटर नेपालले पछिल्लो समय थापागाउँस्थित आफ्नो हलमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ A GEN–Z PLAY’ अनिश्चितकालका लागि स्थगित भएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ।
थिएटरका अध्यक्ष अनिल सुब्बाले साेमबार जारी गरेको विज्ञप्तिमा नाटक निर्माण तथा प्रस्तुति संस्था मझुवा बगरले “अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण” नाटकको मञ्चन रोक्न बाध्य भएको जनाएको उल्लेख गरिएको छ।
तर, नाटकका निर्देशक सहलेशले सामाजिक सञ्जालमार्फत नाटक रोक्ने पक्ष कुनै सरकारी निकाय वा राजनीतिक दल नभएको दाबी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए।
यस विषयमा एक थिएटर नेपालले भने आफूहरूलाई कस्तो दबाब आयो, किन आयो, कसले दियो वा कुन माध्यमबाट दियो भन्नेबारे कुनै आधिकारिक जानकारी नरहेको स्पष्ट पारेको छ। संस्थाले नाटक मञ्चनका लागि हल उपलब्ध गराउने भूमिका मात्र निर्वाह गरेको उल्लेख गर्दै यस घटनाबारे संस्थागत वा व्यक्तिगत रूपमा कुनै जानकारी नभएको जनाएको हो।
थिएटरले आगामी दिनमा नाटकको नियमित मञ्चन हुने वा नहुने विषयमा छिट्टै जानकारी गराइने पनि बताएको छ। साथै, नाटक स्थगित हुँदा दर्शकमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै यस विषयलाई गम्भीर रूपमा लिइदिने रङ्गकर्मी, प्रशासनिक निकाय, सञ्चार गृह तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको छ।
कला र अभिव्यक्ति स्वतन्त्रताप्रति सम्मान जनाउने सम्पूर्ण दर्शक तथा शुभेच्छुकप्रति धन्यवाद समेत व्यक्त गरिएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण