आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: नयाँ सरकार पुरानै शैलीमा, पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाको ५ प्रस्ताव

मङ्गलबार, १२ जेठ २०८३, ०० : ००
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • नयाँ सरकारले राजनीतिक नियुक्ति खारेज गरे पनि पुरानै शैलीमा नयाँ नियुक्ति गर्दा असन्तुष्टि बढेको छ ।
  • शेरबहादुर देउवा र आरजु राणा देउवाविरुद्धको पक्राउ पुर्जी सर्वोच्च अदालतले निष्क्रिय पार्दै पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र एकता कायम राख्नका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. नयाँ सरकार पुरानै शैलीमा

सबैजसो निकायका राजनीतिक नियुक्ति खारेज गरेको सरकार यतिबेला रिक्त स्थानमा नयाँ नियुक्तिको तयारीमा छ । केही संस्थामा सरकारले नियुक्ति गरे पनि विवाद र असन्तुष्टि सतहमा आएको छ । नयाँ सरकार भए पनि पुरानै शैलीमा अघि बढेको भन्दै असन्तुष्टि बढ्न थालेको हो । 

२. देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जारी भएको पक्राउ पुर्जीमा प्रचलित कानुनको प्रक्रिया अवलम्बन नभएको भन्दै निष्क्रिय गरिदिएको छ । अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेशसमेत दिएको छ । 

३. कांग्रेसमा एकताका लागि शेखरले अघि सारे ५ प्रस्ताव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र एकताका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् । 

४. गणतन्त्र दिवस विशेष समारोहमा बालेनले सम्बोधन नगर्ने !

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा सांसदहरूका प्रश्नको जबाफ नदिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ नदिएर आलोचना झेलेका बालेनले गणतन्त्र दिवस विशेष समारोहमा समेत सम्बोधन नगर्ने भएका छन् । 

५. मन्त्रिपरिषदको निर्णयः धानको समर्थन मूल्य तोक्नेदेखि क्यानको महानिर्देशक नियुक्तिसम्म

सरकारले धानको समर्थन मूल्य तोक्नेदेखि नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक नियुक्तिसम्मका निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको हो ।

६. प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ सदर

सर्वोच्च अदालतले प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठ गर्ने निर्णयलाई सदर गरिदिएको छ । सोमबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सर्वोच्च प्रशासनको दरपीठसम्बन्धी निर्णयलाई सदर गरिदिएको हो ।

७. किन रोकियो नाटक ‘लुसिफर राइजिङ’ ?

राजधानीमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’को प्रदर्शन एकाएक स्थगन गरिएको छ । अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण नाटकको शो रोक्न बाध्य भएको यसको निर्माण संस्था ‘मझुवा बगर’ले जनाएको छ । 

८. ओलीले सम्झिए भियतनामी कम्युनिस्ट नेता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अचानक भियतनाम कम्युनिस्ट पार्टीका सर्वोच्च नेता हो चि मिन्हलाई सम्झिएका छन् । आफ्नै निवास गुन्डुमा ६ दिनसम्म चलेको एमाले सचिवालय बैठक आइतबार समापन गर्नुअघि उनले भियतनामका कम्युनिस्ट नेता मिन्हको भनाइ उद्धृत गर्दै एकताबद्ध हुन एमाले नेताहरूलाई आह्वान गरेका थिए ।

मिन्हको भनाइ ‘एकता एकता, महाएकता’को प्रसङ्ग उठाउँदै ओलीले नेताहरूलाई एकजुट हुन आह्वान गरे । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले ठुलो धक्का खाएपछि आन्तरिक र बाह्य रूपमा रक्षात्मक अवस्थामा पुगेका ओलीले मिन्हको भनाइ उद्धृत गर्नु अर्थपूर्ण देखिन्छ ।

 ९. पोखरा बसपार्कको जग्गामा व्यक्तिको रजाइँ

पोखरामा बसपार्क बनाउन भनेर २०३२ सालमै अधिग्रहण गरेको जग्गाको ठुलो हिस्सामा विभिन्न व्यक्तिले कब्जा गरेका छन् । यतिबेला बसपार्कको जग्गा खाली गर्ने अभियानमा पोखरा महानगरपालिका अघि बढेको छ । यसै सन्दर्भमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

१०. केही मन्त्रालयको बजेट घटाउने तयारी

आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयगत सिलिङ (सीमा) घटाउने तयारी गरेको छ । विशेषगरी भौतिक पूर्वाधार, ऊर्जा, खानेपानी र कृषिजस्ता उत्पादनमूलक तथा विकास निर्माणको जिम्मा पाएका मन्त्रालयहरूको बजेट घटेर आउने भएको छ ।

११. धनगढी विमानस्थल विस्तारमा बजेट अभाव

सुदूरपश्चिम प्रदेशको लाइफलाइनका रूपमा रहेको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको अत्याधुनिक विमानस्थल बनाउने सरकारी योजना तीन आर्थिक वर्षदेखि कागजमै सीमित भएको छ । तामझामका साथ घोषणा गरिएको जग्गा अधिग्रहण र धावनमार्ग विस्तारको काम बजेट अभाव र सरकारी प्राथमिकतामा नपर्दा हाल पूर्ण रूपमा ठप्प भएको हो ।

१२. डेब्यु फिल्मबाटै छाप छोडे, अब नाटक खेल्न चाहन्छन् मुकुन

मुकुन भुसाल अभिनित पछिल्लो फिल्म हो, ‘रोल नम्बर १’ । आगामी शुक्रबार (जेठ १५ गते) देखि प्रदर्शनमा आउने यो फिल्म शैक्षिक विषयवस्तुमा आधारित छ ।

‘हाम्रो समाजमा ‘रोल नम्बर १’ कक्षामा प्रथम हुने विद्यार्थी मात्र होइन, सामाजिक प्रतिष्ठाको विषय पनि हो’, उनी भन्छन्, ‘यो एउटा अघोषित युद्धको स्वर्ण पदक जस्तै हो ।’ आफ्नो हातमा आधा दर्जन फिल्म भए पनि विषयवस्तु मन परेर यो फिल्म रोजाइमा परेको उनले खुलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप