चौतर्फी घेराबन्दीमा परेपछि ओलीले सम्झिए भियतनामी कम्युनिस्ट नेता ‘हो चि मिन्ह’
सारांश
- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भियतनामी कम्युनिस्ट नेता हो चि मिन्हको भनाइ उद्धृत गर्दै पार्टी नेताहरूलाई 'एकता एकता, महाएकता'को नारासहित एकजुट हुन आह्वान गरेका छन् ।
- ओलीले गत निर्वाचनमा पार्टीले बेहोरेको ठूलो धक्का र पार्टीभित्रको दबाबका बीच भियतनामी नेता मिन्हको भनाइलाई उद्धृत गर्दै राष्ट्रिय एकताको आवश्यकतामा जोड दिएका हुन् ।
- चौतर्फी घेराबन्दीमा परेका ओलीले राजीनामा नदिने अडान राख्दै चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अचानक भियतनाम कम्युनिस्ट पार्टीका सर्वोच्च नेता हो चि मिन्हलाई सम्झिएका छन् । आफ्नै निवास गुन्डुमा ६ दिनसम्म चलेको एमाले सचिवालय बैठक आइतबार समापन गर्नुअघि उनले भियतनामका कम्युनिस्ट नेता मिन्हको भनाइ उद्धृत गर्दै एकताबद्ध हुन एमाले नेताहरूलाई आह्वान गरेका थिए ।
मिन्हको भनाइ ‘एकता एकता, महाएकता’को प्रसङ्ग उठाउँदै ओलीले नेताहरूलाई एकजुट हुन आह्वान गरे । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले ठुलो धक्का खाएपछि आन्तरिक र बाह्य रूपमा रक्षात्मक अवस्थामा पुगेका ओलीले मिन्हको भनाइ उद्धृत गर्नु अर्थपूर्ण देखिन्छ ।
सन् १९६१ मा आयोजित ‘भियतनाम फादरल्याण्ड फ्रन्ट’को दोस्रो राष्ट्रिय सम्मेलनमा मिन्हले एकता र सफलतालाई जोड दिएका थिए । उनले भनेका थिए, ‘एकता एकता, महाएकता । सफलता सफलता, महासफलता ।’
त्यस समय भियतनाम विदेशी हस्तक्षेप, युद्ध र आन्तरिक विभाजनको कठिन चरणबाट गुज्रिएको थियो । आन्तरिक र बाहिरी आक्रमणबाट देश निकै कठिन अवस्थामा पुगेको बेला मिन्हले देशका किसान, मजदुर, बुद्धिजीवी, विभिन्न धर्म–समुदाय र राजनीतिक समूहलाई एउटै राष्ट्रिय उद्देश्यमा एकजुट हुन आग्रह गरेका थिए । मिन्हको स्पष्ट सन्देश थियो– जनता विभाजित भए देश कमजोर हुन्छ । यदि सबै शक्ति एक ठाउँमा केन्द्रित भयो भने ठुलो सङ्घर्ष पनि जित्न सकिन्छ । राष्ट्रिय स्वतन्त्रता, सामाजिक परिवर्तन र विकासको आधार ‘महान् एकता’ भएकाले ।

मिन्हको विचारमा ‘महान एकता’ भनेको केवल राजनीतिक एकतामात्र होइन, सम्पूर्ण राष्ट्रको साझा मोर्चा भएकाले सबैले आफ्नो स्वार्थभन्दा माथि उठेर देशको लागि संगठित हुनुपर्नेमा जोड दिएका थिए ।
गत वर्ष भदौको जेनजी आन्दोलनका क्रममा ओली नेतृत्वको सरकार सत्ताच्यूत भएको थियो । ओलीको चाहना विपरीत भएको निर्वाचनमा एमालेले इतिहासकै ठुलो धक्का खायो । ओली आफैँ गृहक्षेत्र झापा–५ बाट काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन (बालेन) शाहसँग फराकिलो मतान्तरले पराजित भए । २०७९ सालको निर्वाचनमा २८ लाख ५५ हजार मत प्राप्त गरी पहिलो दल बनेको एमाले २०८२ को निर्वाचनमा १४ लाख ४५ हजारमात्र मत प्राप्त गरी तेस्रो स्थानमा खुम्चियो ।
पार्टीले नै सरकारको नेतृत्व गरेको बेला युवाहरूको नरसंहार गरेको, देशको ऐतिहासिक धरोहर बचाउन असफल भएको गम्भीर आरोप ओलीमाथि लाग्यो । ओलीकै कारण पार्टीमात्र होइन, समग्र कम्युनिस्ट आन्दोलन धरापमा परेको राजनीतिक वृत्तमा चर्चा छ ।
तर ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्रका कारण जेनजी आन्दोलन भएको आरोप लगाउँदै आएका छन् । उनले आफ्नो कदमको बचाउ गरे पनि विगतमा जस्तोसुकै अवस्थामा काँध थापेका नेताहरूले समेत यस पटक उनलाई साथ दिएनन् । ओलीकै कारण देश, पार्टी र समग्र कम्युनिस्ट आन्दोलन कमजोर भएको आरोप लगाउँदै उनीहरूले राजीनामा दिन सुझाव दिएका थिए ।
_TFTRXwLYiF.jpg)
_m2EDGNg85P.jpg)
चौतर्फी रूपमा घोराबन्दीमा परेका ओलीले चुनावी समीक्षा र नेताहरूको कार्यविभाजन गर्न जेठ ४ गते सचिवालय बैठक बोलाएका थिए । महाधिवेशन सम्पन्न भएको ६ महिना नपुग्दै पार्टीभित्र अल्पमतमा परेका कारण निकै दबाब महशुस गरेका उनले शनिबार बसेको बैठकमा कुनै हालतमा राजीनामा नदिने अडान लिएका थिए । साथै, आफूलाई राजीनामाबारे नसम्झाउन नेताहरूलाई चेतावनी दिएका थिए ।
‘मलाई नसम्झाउनुस्, तपाईंहरूले सम्झाउनुपर्दैन । म नेतृत्व छाड्दिनँ । पार्टीलाई अप्ठ्यारो पार्ने काम कसैले पनि नगर्नुहोस्, त्यसैले अहिले नेतृत्व बदल्ने कुरा नगर्नुहोस्,’ ओलीको भनाइ थियो ।
स्रोतका अनुसार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतमात्र ओलीको पक्षमा उभिएका थिए । यद्यपि ओली अल्पमतमा परेको कुरा सत्य नभएको सचिव महेश बस्नेतले दाबी गरेका छन् । उनका अनुसार बैठकमा उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले मात्र नेतृत्वले राजीनामा दिँदा उपयुक्त हुने धारणा राखेका थिए ।

‘कमरेड योगेश भट्टराईले बोल्ने क्रममा अध्यक्षले मार्गप्रशस्त गर्दा उपयुक्त होला भन्नुभएको हो । त्यपछि कमरेड विष्णु पौडेलले निर्वाचनको समीक्षा सँगसँगै पार्टी पुनर्गठन गर्नुपर्छ भन्नुभएको हो । यसबाहेक तेस्रो कुनै पनि व्यक्तिले यस विषयमा बोलेको मैले सुनिनँ’, बस्नेतले भने ।
बस्नेतले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी र पार्टीको निर्णय सर्वसम्मत रूपमा पारित भएको जिकिर गरे । बाहिर मिडियामा जे हल्ला चल्यो, ती सबै कुरा गलत भएको उनले बताए । अध्यक्ष ओली स्वयंले चाहेमात्र नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाइ छ ।
‘कम्युनिस्ट पार्टीभित्र नेतृत्व परिवर्तन हुन्छ, तर पाँच महिना अगाडि महाधिवेशन भएकाले बिचमा नेतृत्व परिवर्तन हुँदैन । नेतृत्व परिवर्तन एउटा विधि र प्रक्रियाबाट हुन्छ । हाम्रो नियमित महाधिवेशन पाँच वर्षमा हुन्छ’, बस्नेतले भने, ‘त्यसभन्दा अगाडि अध्यक्ष स्वयंले चाहनुभयो वा राजीनामा दिएमा हुने कुरा हो । आजको दिनमा नेतृत्व परिवर्तन वा अध्यक्षलाई कमजोर बनाएर हामी त्यो ठाउँमा पुग्न सक्दैनौँ ।’
सचिव पद्मा अर्यालले आन्तरिक एकता र राष्ट्रिय एकतालाई महसुस गरी पार्टी एकढिक्का भएको बताइन् । बैठकका निर्णयहरू सर्वसम्मतले पारित गरेको उनले जिकिर गरिन् ।

‘भियतनामी क्रान्तिकारी नेताले त्यतिबेला आन्तरिक र बहिरी द्वन्द्वसँग जुधेर राष्ट्रिय एकतालाई कायम राख्न महान एकतालाई जोड दिनुभएको थियो । अहिले हामी पनि आन्तरिक र बाह्य रूपमा अनेकौँ चुनौती झेलिरहेका छौँ । राष्ट्रियता नै खतरामा परेको बेला अध्यक्षले भियतनामी कम्युनिस्ट नेताको भनाइ उद्धृत गर्नुभयो होला जस्तो मलाई लाग्छ’, उनले भनिन् ।
तर ओलीले आफूलाई राष्ट्रवादी देखाएर विरोधका स्वरलाई मत्थर पार्न मिन्हसँग तुलना गर्न खोजेको हुनसक्ने एमालेकै एक नेताले बताए । ‘ओलीजी अप्ठ्यारो पर्दा एउटा र सप्ठ्यारो पर्दा अर्को कार्ड फ्याक्नुहुन्छ । नेतृत्वको कमजोरीलाई लिएर पार्टीभित्रै राजीनामा दिन दबाब परिरहेको बेला विरोधका स्वरलाई मत्थर पार्न भियतनामी महान क्रान्तिकारी नेता हो चि मिन्हसँग आफूलाई तुलना गरेर कमजोरी ढाकछोप गर्न खोजेको हुन सक्छ’, ती नेताले भने ।

यता बैठकको आधिकारिक निर्णय सार्वजनिक गर्दै प्रवक्ता लेखराज भट्टले मिन्हको उक्तिलाई ओलीले विशेष जोड दिएको बताए । ‘अध्यक्षले हामीलाई निर्देशनात्मक रूपमा प्रशिक्षित गर्नुभयो । हो चि मिन्हको उक्तिलाई विशेष जोड दिनुभयो । मिन्हले एकता एकता भन्नुभएको थियो’, भट्टले भने, ‘त्यस्तै एमालेले पनि एकताको आवश्यकता छ । त्यो स्प्रिड सहित हामी अहिले अगाडि बढ्नुपर्छ । र, हामीमा उत्साह आयो भने तल कार्यकर्तामा उत्साह ल्याउन सक्छौँ । त्यो सम्भव छ भन्ने कुरो अध्यक्षबाट निर्देशन भयो ।’
ओलीको राजीनामाबारे मौन देखिएको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धमा सुझाव दिनका लागि उच्चस्तरीय कार्यदल गठन गरेको छ । प्रतिवेदन बुझाउनका लागि एक महिनाको समयसीमा दिएको कार्यदलका अन्य सदस्यहरूमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिव छविलाल विश्वकर्मा र सातै प्रदेशका इन्चार्ज छन् । पार्टी पुनर्गठनका लागि राजीनामा माग्ने नेताहरूको मुख ओलीले फेरि बन्द गरिदिएका छन् । पछिल्लो समय ओलीको हरेक निर्णयमा खम्बा बनेर उभिएका बादलले उनको प्रतिकूल प्रतिवेदन ल्याउने अवस्था देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण