सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पोखराका नदी र खोलाको मापदण्ड कति छ ?

मङ्गलबार, १२ जेठ २०८३, १० : ३७
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • पोखरा महानगरपालिकाले नगरक्षेत्रभिका खोला र नदीहरूको खोलाघर खाली गर्ने अभियान सुरु गरेको छ ।
  • पोखरा महानगरपालिकाले यहाँका २७ वटा नदी र खोलाको नाम नै तोकेर मापदण्ड तय गरेको छ ।
  • पोखराका ताल र सडकको मापदण्ड पनि तय गरिएको छ ।

पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभिका खोला र नदीहरूको खोलाघर खाली गर्ने अभियान सुरु गरेको छ । पहिलो पटक महानगरको बिचबाट बग्ने फिर्केको खोलाघर खाली गर्ने क्रम चलिरहेको छ । फिर्केको खोलाघरमा १ सय ६० भन्दा बढी संरचना रहेको महानगरकै रिपोर्टले देखाएको छ । 

आइतबार र सोमबार ५१ संरचना हटाइसकेको महानगरले २ दिनभित्र सबै संरचनामा डोजर लगाउने दाबी गरेको छ । महानगरले डोजर चलाउन थालेपछि धेरैको चासो पोखराका खोला र नदीहरूको मापदण्डबारे चासो र चर्चा छ ।

पोखरा महानगरपालिकाले यहाँका २७ वटा नदी र खोलाको नाम नै तोकेर मापदण्ड तय गरेको छ भने अरू खोलाको मापदण्ड एकमुष्ट तोकिदिएको छ । भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८० जारी गर्दै नदी तथा खोला किनारमा संरचना निर्माणका लागि मापदण्ड तोकेको छ । महानगरले आफ्नो क्षेत्रभित्र पर्ने सेती नदी, फिर्के, फुस्रे, काली, विजयपुर लगायतका विभिन्न नदी तथा खोलाको सुरक्षा र प्राकृतिक सौन्दर्य कायम राख्न किनारबाट छाड्नुपर्ने निश्चित दूरी तोकेको हो ।

कुन नदी र खोलामा कति मापदण्ड ?

पोखराको सबैभन्दा ठुलो र लामो सेती नदीमा ३० मिटरको मापदण्ड छ । पुरन्चौरदेखि कोत्रेसम्म समान मापदण्ड कायम गरिएको हो । यस्तै, मर्दी खोलाको महानगरपालिका सिमानादेखि सेती नदीसम्मपनि ३० मिटर नै छ । काली खोलाको जोगिमणीदेखि सेती नदीसम्म, फुस्रे खोलाको घट्टेखोलादेखि सेती नदीसम्म, विजयपुर खोलाको माछाखेतदेखि सेती नदीसम्म ३० मिटर मापदण्ड छ ।

भलाम खोला, फुस्रे खोलाको तल्लो खाल्सेदेखि घट्टेखोलासम्म र सुरौंदी खोलाको तनहुँ सिमानादेखि सेती नदीसम्मको मापदण्ड १० मिटर छ । बगादी खोला, बेगनासताल खोला, तालखोला र तल्लो–माथिल्लो फुस्रे खोलाका केही खण्डहरूमा ७ मिटर मापदण्ड तोकिएको छ । अहिले चर्चामा रहेको फिर्के खोलाको मापदण्ड ६ मिटर छ  । ग्यारजातीदेखि फेवातालसम्म एकै खालको मापदण्ड तोकिएको महानगरपालिकाले जनाएको छ । गडुवा खोला, खास्टे खोला, बुलौंदी खोलामा पनि ६ मिटर छ ।

पार्दी खोलाको फेवा बाँधदेखि डेबिज फल्स हुँदै फुस्रेखोलासम्म १२.५ मिटर मापदण्ड तोकिएको छ । पोखरामा रहेका र नाम उल्लेख नभएका अन्य सबै खोल्साखाल्सीमा ६ मिटर नै मापदण्ड छ । नदी तथा खोलाको मापदण्ड नाप्दा नापी नक्सामा अंकित नदीखोलाको किनाराबाट दायाँबायाँको दूरीलाई आधार मान्ने भनिएको छ । यदि कुनै खोला वा खोल्सा वर्षाको पानीको कटानले गर्दा गहिरो खोल्सा वा गल्छीको रूपमा परिवर्तन भए त्यहाँ गहिराइ र सेटब्याकको अनुपात १ः१ कायम गर्नुपर्ने नियम छ । नापी नक्सामा बाटो वा खोला कायम नभए पनि फिल्डमा खोला वा बाटो भएको खण्डमा सोही अनुसारको मापदण्ड लागु हुने महानगरले जनाएको छ ।

सोही समयमा पोखराका ताल र सडकको मापदण्ड पनि तय गरिएको छ । फेवातालमा ६५ मिटर मापदण्ड छ भने बेगनास र रुपातालमा १ सय मिटर तथा अन्य तालको ५० मिटर मापदण्ड कायम गरिएको छ । बाँकी पोखरीमा ६ मिटर मापदण्ड छ । मापदण्ड सार्वजनिक गरेर महागनरले मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन सक्ने र त्यसको खर्च सम्बन्धित जग्गाधनीबाटै असुल गरिने व्यवस्था उल्लेख गरेको थियो । यही मापदण्ड सार्वजनिक भएपछि फिर्केमा ३५ दिने सार्वजनिक सूचना निकालिएको हो । तर, खोला किनारका नागरिकहरूले अदालत गुहारेपछि काम रोकिएको थियो । फिर्केपछि अन्य खोला र नदीहरूको पनि अध्ययन गरेर क्लियर गर्ने अभियान सुरु हुने महानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप