बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गणतन्त्र दिवसका अवसरमा कर्मचारी सम्मानदेखि सरसफाइसम्म

शुक्रबार, १५ जेठ २०८३, ११ : ४८
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • बुटवलमा १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
  • गणतन्त्र दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश निजामती कर्मचारीहरूलाई पुरस्कृत र सम्मानित गरिएको छ।

बुटवल । आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।  लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि सरसफाइ, दीप प्रज्वलन, मूल समारोह तथा कर्मचारी सम्मान कार्यक्रम गरी दिवस मनाइएको छ।

लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका चेतनारायण आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गणतन्त्रवादी शक्तिहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

मुख्यमन्त्री आचार्यले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने प्रयास भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने बताए। उनले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न तथा संसदीय मूल्य–मान्यतामाथि प्रहार गर्ने दुस्साहस भइरहेको टिप्पणी गर्दै जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू सक्रिय रहेको दाबी गरे।

कार्यक्रममा तुलाराम घर्तीमगरले नागरिकको बलिदानको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताए। उनले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन प्रणाली भएकाले सार्वभौम नागरिकको सम्मान यही व्यवस्थामा सुरक्षित रहेको उल्लेख गरे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशीला अर्यालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यले गरेका थिए।

यसैबिच, गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार वितरण गरेको छ। उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव याम नारायण देवकोटा तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रवीन्द्र अर्याल सम्मानित भएका छन्।

5

त्यस्तै प्रदेश निजामती सेवा पुरस्कारबाट वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईँ, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन अधिकृत मनोजकुमार श्रेष्ठ तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत शिवप्रसाद न्यौपाने सम्मानित भएका थिए।

यसैगरी उत्कृष्ट कार्यसम्पादनका आधारमा सामाजिक विकास मन्त्रालयकी वरिष्ठ शिक्षा अधिकृत बेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्त्व अधिकृत कृष्णचन्द्र गिरी तथा स्वास्थ्य कार्यालय रोल्पाकी वरिष्ठ पब्लिक हेल्थ नर्स निरीक्षक सीता कुँवरलाई सम्मानपत्र प्रदान गरिएको छ। प्रदेश सभा तर्फ उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप