बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रसिद्ध ‘केनेडी सेन्टर’ बाट राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम हटाउन आदेश

कङ्ग्रेसको अनुमति बिना नाम फेर्न नपाइने अदालतको ठहर
शनिबार, १६ जेठ २०८३, ११ : ३५
शनिबार, १६ जेठ २०८३

सारांश

  • अमेरिकाको एक अदालतले प्रसिद्ध सांस्कृतिक केन्द्र ‘केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्स’ को नामबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम हटाउन आदेश दिएको छ ।
  • जिल्ला न्यायाधीश क्रिस्टोफर कुपरले अमेरिकी कङ्ग्रेसको स्वीकृति बिना नाम परिवर्तन गर्न नमिल्ने भन्दै ट्रम्पको नाम हटाउन आदेश दिएका हुन् ।
  • अदालतको आदेश अनुसार अबको १४ दिनभित्र यस संस्थाको शीर्षक, भवन, साइनबोर्ड र आधिकारिक सामग्रीहरूबाट डोनाल्ड ट्रम्पको नाम हटाइसक्नुपर्नेछ ।

 

वासिङ्टन डीसी । अमेरिकाको एक अदालतले प्रसिद्ध सांस्कृतिक केन्द्र ‘केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्स’ को नामबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम हटाउन आदेश दिएको छ । 

वासिङ्टन डीसीस्थित यो ऐतिहासिक केन्द्रको नाम अमेरिकी कङ्ग्रेस (संसद्) को स्वीकृति बिना परिवर्तन गर्न नमिल्ने फैसला सुनाउँदै जिल्ला न्यायाधीश क्रिस्टोफर कुपरले ट्रम्पको नाम हटाउन आदेश दिएका हुन् । 

गत शुक्रबार भएको यस फैसलामा अदालतले आगामी मर्मत सम्भारका लागि भन्दै उक्त केन्द्रलाई अस्थायी रूपमा बन्द गर्ने ट्रम्प प्रशासनको योजनामा समेत रोक लगाइदिएको छ । अदालतको आदेश अनुसार अबको १४ दिनभित्र यस संस्थाको शीर्षक, यसको मुख्य भवन, अन्य भौतिक वा डिजिटल साइनबोर्डहरू र सबै आधिकारिक सामग्रीहरूबाट डोनाल्ड ट्रम्पको नाम हटाइसक्नुपर्नेछ । यस फैसलाको विरोध गर्दै केनेडी सेन्टरका प्रवक्ताले नाम परिवर्तन गर्ने अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ट्रुथ सोसियलमा लेख्दै आफूले यो संस्था कङ्ग्रेसलाई नै फिर्ता गर्नका लागि काम गरिरहेको बताएका छन् । उनले लेखेका छन्, ‘मैले अरू कसैले भन्दा राम्रोसँग गर्न सक्ने काम अर्थात् यस संस्थालाई भौतिक, आर्थिक र कलात्मक रूपमा फिर्ता ल्याउने स्वतन्त्रता पाउँदिनँ भने मेरो लागि यो कहिल्यै समाप्त नहुने यात्रा जस्तै हो, जसमा मलाई कुनै चासो छैन ।’

ट्रम्पले गत वर्ष अमेरिकी राजधानीका विभिन्न संस्थाहरूको पुन: नामकरण गर्ने योजना अन्तर्गत यस कला केन्द्रमा पनि आफ्नो नाम थप्ने घोषणा गरेका थिए । फेब्रुअरी २०२५ मा उनले केन्द्रको बोर्डका कयौँ ट्रष्टीहरूलाई हटाएर आफैँलाई ट्रष्टी नियुक्त गरेका थिए र पछि उनी बोर्डको अध्यक्ष चुनिएका थिए । 

गत डिसेम्बरमा बोर्डले संस्थाको नाम परिवर्तन गर्ने निर्णय गरेसँगै ट्रम्पको पूरा नाम उल्लेख गरिएको नयाँ अक्षरहरू केन्द्रको अगाडिको भागमा टाँसिएको थियो । यस केन्द्रको पूरा नाम ‘द डोनाल्ड जे ट्रम्प एन्ड जोन एफ केनेडी मेमोरियल सेन्टर फर द पर्फर्मिङ आर्ट्स’ राख्ने तयारी थियो । तर, ट्रम्पको नाम थपिएसँगै उक्त केन्द्रमा प्रस्तुति दिने तयारीमा रहेका कलाकारहरूले आफ्ना कार्यक्रमहरू रद्द गर्न थालेका थिए भने टिकट बिक्रीमा पनि भारी गिरावट आएको थियो । 

यसैबिच, ट्रम्पले देशको २५० औँ स्थापना दिवसको अवसर पारेर आगामी ४ जुलाई २०२६ देखि सुरु हुने गरी दुई वर्षका लागि केन्द्र बन्द गरेर ठुलो मर्मत सम्भार गर्ने घोषणा गरेका थिए । ट्रम्पको यो एकलौटी निर्णयविरुद्ध बोर्ड सदस्य एवं ओहायोकी डेमोक्र्याट सांसद जोयस बियट्टी र अन्य पूर्व ट्रष्टीहरूले अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले आफूहरूलाई बोर्डको निर्णयमा मतदान गर्ने अधिकारबाट वञ्चित गरिएको आरोप लगाएका थिए र पछि केन्द्र बन्द गर्ने योजनाविरुद्ध पनि मुद्दा संशोधन गरेका थिए ।

अदालतको फैसलापछि सांसद बियट्टीले भनिन्, ‘आजको फैसलाले ट्रम्प प्रशासनको नाम फेर्ने र केन्द्र बन्द गर्ने प्रयासको कुनै कानुनी आधार नभएको स्पष्ट पारेको छ । केनेडी सेन्टर अमेरिकी जनताको संस्था हो, डोनाल्ड ट्रम्पको होइन । उनले आफ्नो घमण्डका लागि यस पवित्र स्मारकको अपमान गरेका थिए ।’

केनेडी सेन्टरकी प्रवक्ता रोमा दाराभीले भने राष्ट्रपति ट्रम्पले देशको सांस्कृतिक केन्द्रमा पुर्‍याएको ऐतिहासिक योगदानलाई अदालतले पुनरावेदनका क्रममा मान्यता दिनेमा आफूहरू विश्वस्त रहेको बताएकी छन् । उनले केन्द्रलाई तत्काल र ठुलो मर्मतको आवश्यकता रहेको यथार्थलाई विपक्षीले पनि स्वीकार गरेको उल्लेख गर्दै भनिन्, ‘राष्ट्रपति ट्रम्पले सुरक्षित गरेको र कङ्ग्रेसले स्वीकृत गरेको २५७ मिलियन डलर बजेट उपलब्ध छ, त्यसैले हामी ट्रम्प केनेडी सेन्टरलाई राष्ट्रिय सांस्कृतिक धरोहरका रूपमा पुनः स्थापना गर्न हरेक कानुनी बाटो अपनाउन प्रतिबद्ध छौँ ।’

ओबामा कार्यकालमा नियुक्त भएका न्यायाधीश क्रिस्टोफर कुपरले ९४ पाना लामो फैसलामा केनेडी सेन्टरको विधानले यो केन्द्र राष्ट्रपति केनेडीको नाममा मात्र रहने स्पष्ट पारेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘बोर्डको एकलौटी निर्णयका आधारमा यसले अन्य कुनै औपचारिक नाम वा सार्वजनिक स्मारकको रूप लिन सक्दैन । कङ्ग्रेसले केनेडी सेन्टरलाई यो नाम दिएको हो र केवल कङ्ग्रेसले मात्र यसलाई परिवर्तन गर्न सक्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप