जहाँ प्रश्न गर्ने ठाउँ हुँदैन, त्यहाँ संगठन मौलाउँदैन
सारांश
- नेकपा (एमाले) ले 'मिसन पार्टी जागरण' अभियान सञ्चालन गर्दैछ, तर संगठनभित्रका समस्या र कार्यकर्ताको असन्तुष्टिले यसको प्रभावकारितामा प्रश्न उठाएको छ ।
- पार्टीमा नेतृत्व, निर्णय प्रक्रिया, अवसर वितरण र भविष्यको दिशाबारे कार्यकर्ताका प्रश्नहरूको संस्थागत उत्तर नपाउँदा अभियानहरू उत्सव जस्ता मात्र देखिन्छन् ।
- कार्यकर्ता व्यवस्थापन, संख्या वृद्धिभन्दा संस्कार निर्माण, आदेशभन्दा सहभागिता र उत्प्रेरणा तथा संरक्षणको संकट जस्ता मुद्दाहरू संगठनको पुनर्जागरणका लागि महत्त्वपूर्ण छन् ।
नेकपा (एमाले) ले ‘मिसन पार्टी जागरण’ नामको अभियान सञ्चालन गर्दैछ । दलीय व्यवस्थामा जनता र दलबिचको सम्बन्ध सुमधुर र विश्वसनीय हुनुपर्छ । पार्टीको नीति, कार्यक्रम, कार्यदिशा, पार्टीका विचार जनसमक्ष पुर्याउन विभिन्न अभियानहरू चलाउनु पर्छ । तर, नियमित प्रकृतिका कामका विषयमा अभियान केवल झमेला मात्र हुन्छन् ।
आयोजना गर्ने संगठन र कार्यकर्ताहरूका लागि बोझ लाग्छन् । जिल्ला र पालिका स्तरमा बैठक गर्न, त्यही तहका नेता–कार्यकर्ता पङ्क्तिलाई पार्टीका नीति तथा वर्तमान अवस्थाबारे स्पष्ट प्रशिक्षित गर्न पनि अभियान नै सञ्चालन गर्नुपर्ने हुन्छ । तर, अधिकांश पार्टीहरुको सञ्चालन सही ढङ्गले हुन सकेको छैन र नियमित पनि छैन ।
यसै पनि अहिले एमालेका नेता–कार्यकर्ताहरू पार्टीको एघारौँ महाधिवेशनपछि नियमित हुन सकेका छैनन् । यसैबिच सम्पन्न आमनिर्वाचनमा भएको अप्रत्याशित पराजयबाट तङ्ग्रिन सकेका छैनन् । पार्टी अध्यक्षको प्रतिकूल स्वास्थ्य तथा गिरफ्तारीको विषयले पनि कार्यकर्ताहरूको मनोविज्ञान अझै छर्लङ्ग भइसकेको छैन ।
मंसिर २७–२९, ०८२ मा सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनले संगठनात्मक जीवनमा एउटा नयाँ संरचना र अपेक्षा निर्माण गरेको थियो । तर त्यसले कोरेको बाटो, उठेका प्रश्न र देखिएका दरारहरूबारे वस्तुनिष्ठ, आत्मसमीक्षात्मक र गहिरो मूल्याङ्कन अझै भएको अनुभूति हुँदैन । महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तोष, अपेक्षाको भिन्नता र कार्यकर्ताबिच विद्यमान दूरीले संगठनात्मक मनोविज्ञान अझ सुल्झिसकेको छैन ।
आज संगठनभित्रै कार्यकर्ताहरूका धेरै प्रश्न छन्– नेतृत्वप्रति, निर्णय प्रक्रियाप्रति, अवसर वितरणप्रति र भविष्यको दिशाप्रति । तर ती प्रश्नहरूको संस्थागत उत्तर दिने संस्कार बलियो भएको देखिँदैन । परिणामतः अभियानहरू उत्सव जस्ता देखिन्छन्, समाधानका प्रक्रिया होइनन् ।
त्यसैगरी फागुन २१, ०८२ मा सम्पन्न आमनिर्वाचन र निराशाजनक परिणामको समग्र समीक्षा पनि अझै पूर्ण रूपमा सार्वजनिक, स्वीकार्य र संस्थागत रूपमा आत्मसात भएको देखिँदैन । परिणाम मात्र होइन, कारणहरूको इमानदार विश्लेषण नै संगठनको भविष्यका लागि निर्णायक हुन्छ । तर जब कारणहरूलाई ढाकछोप गर्ने, आलोचनालाई प्रतीकात्मक बनाउने र आत्मसमीक्षालाई औपचारिकतामा सीमित गर्ने प्रवृत्ति बलियो हुन्छ, तब संगठनले सुधार होइन, पुनः दोहोरिने संकटतर्फ सङ्केत गर्छ ।
यस्तो पृष्ठभूमिमा गरिने ‘जागरण अभियान’, ‘मिसन’ वा ‘पुनर्जागरण कार्यक्रम’हरूले वास्तविक अर्थमा संगठनलाई पुनर्जीवित गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । किनभने अभियानको प्रभाव केवल नारा, कार्यक्रम वा भ्रमणमा होइन; त्यो संगठनभित्रको विश्वास, आत्मविश्वास र व्यवहारिक सुधारमा निर्भर हुन्छ ।
आज संगठनभित्रै कार्यकर्ताहरूका धेरै प्रश्न छन्– नेतृत्वप्रति, निर्णय प्रक्रियाप्रति, अवसर वितरणप्रति र भविष्यको दिशाप्रति । तर ती प्रश्नहरूको संस्थागत उत्तर दिने संस्कार बलियो भएको देखिँदैन । परिणामतः अभियानहरू उत्सव जस्ता देखिन्छन्, समाधानका प्रक्रिया होइनन् ।
कार्यकर्ता व्यवस्थापन
हरेकजसो महाधिवेशनहरूमा कार्यकर्ता व्यवस्थापनका सवालहरू उठ्ने गरेका छन् । अमूर्त रूपमा नीतिगत निर्णय पनि हुने गरेका छन् तर साँचो अर्थमा कार्यकर्ता व्यवस्थापन हुन सकेको छैन । अझ भन्ने हो भने यस विषयमा इमानदार प्रयास नै भएको छैन । कार्यकर्ता व्यवस्थापन कुनै पनि राजनीतिक वा वैचारिक संगठनको मेरुदण्ड हो ।
संगठनको शक्ति न त केवल नेतृत्वको भाषणमा हुन्छ, न त चुनावी परिणाममा मात्रै; यसको वास्तविक आधार कार्यकर्ताको चेतना, अनुशासन, निष्ठा, अध्ययन, व्यवहार र जनविश्वासमा हुन्छ ।
नयाँ पुस्ता, महिलाहरू, उत्पीडित समुदाय, प्रवासी, अन्य पहिचानका मुद्दासहितका जनजाति समुदाय, पेशाजीवी र सृजनशील युवाहरू हुँदै आएको व्यवस्थापनबाट सन्तुष्ट छन् ? वा उनीहरू संगठनदेखि किन टाढा भइरहेका छन् भन्ने प्रश्नलाई गम्भीर रूपमा आत्मसात गर्नु आवश्यक छ ।
कार्यकर्ता नै त्यो शक्ति हो, जसले विचारलाई गाउँ–टोलसम्म पुर्याउँछ, संकटका बेला संगठनलाई टिकाउँछ र सामाजिक सम्बन्धलाई जीवन्त बनाउँछ । तर जब कार्यकर्ता व्यवस्थापन कमजोर हुन्छ, संगठन बाहिरबाट विशाल देखिए पनि भित्रबाट खोक्रो हुँदै जान्छ ।
आज धेरै संगठनमा संरचना त बलियो देखिन्छ, तर आत्मा कमजोर छ । भीड छ, तर विश्वास छैन । कार्यक्रम छन्, तर प्रेरणा घट्दै गएको छ । यही अन्तरविरोध नै संगठनात्मक संकटको मूल जरो हो । कार्यकर्ता व्यवस्थापन नगरी संगठन व्यवस्थापन सम्भव हुँदैहुन्न । तर, नेतृत्व यसतर्फ बेखबर नै देखिन्छ । के हो त कार्यकर्ता व्यवस्थापनका खास विषय ? केही बुँदामा छलफल गर्न सकिन्छ ।
संख्या बृद्धि कि संस्कार निर्माण
अधिकांश संगठनहरू नयाँ सदस्य थप्न उत्साहित देखिन्छन्, तर उनीहरूलाई विचार, संस्कार र जिम्मेवारीसँग जोड्ने प्रक्रिया कमजोर छ । भर्ती केवल संख्यात्मक विस्तारमा सीमित हुँदा संगठनको गुणस्तर क्रमशः घट्दै जान्छ ।
नयाँ पुस्ता, महिलाहरू, उत्पीडित समुदाय, प्रवासी, अन्य पहिचानका मुद्दासहितका जनजाति समुदाय, पेशाजीवी र सृजनशील युवाहरू हुँदै आएको व्यवस्थापनबाट सन्तुष्ट छन् ? वा उनीहरू संगठनदेखि किन टाढा भइरहेका छन् भन्ने प्रश्नलाई गम्भीर रूपमा आत्मसात गर्नु आवश्यक छ ।
उनीहरूलाई दोषारोपण गर्नु सजिलो छ, तर संगठनभित्र उनीहरूलाई आकर्षित गर्ने वातावरण कति निर्माण गरिएको छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ । जहाँ प्रश्न गर्ने ठाउँ हुँदैन, त्यहाँ प्रतिभा टिक्दैन । जहाँ केवल आदेश पालना गर्ने संस्कृति हुन्छ, त्यहाँ सृजनशीलता र स्वामित्व दुवै हराउँछ ।
नाराबाट वैचारिक गहिराइतर्फ
कार्यकर्ता उत्पादन केवल नाराले सम्भव हुँदैन । दीर्घकालीन संगठन निर्माणका लागि अध्ययनशील, नैतिक र जिम्मेवार कार्यकर्ता आवश्यक हुन्छ । तर आज वैचारिक प्रशिक्षण औपचारिकतामा सीमित हुँदै गएको छ ।
कार्यकर्ता परिचालन अझै पनि धेरै ठाउँमा भीड व्यवस्थापन, नारा र आदेश पालनामा सीमित देखिन्छ । तर आधुनिक संगठनात्मक अभ्यासमा कार्यकर्ता केवल प्रयोगका साधन होइनन्, उनीहरू सहनिर्माता हुन् ।
इतिहास, दर्शन, अर्थनीति, समाजशास्त्र, संस्कृति र राष्ट्रिय चेतनासँग जोडिएको गहिरो अध्ययन कमजोर हुँदै जाँदा कार्यकर्ता भावनात्मक रूपमा सक्रिय भएपनि वैचारिक रूपमा भुत्ते बन्ने जोखिम बढ्छ ।
यही रिक्तताका कारण आज धेरै कार्यकर्ताहरू पार्टी बैठकभन्दा योग–ध्यान, आध्यात्मिक प्रवचन वा व्यक्तित्व विकास कार्यक्रमतर्फ आकर्षित देखिन्छन् । यो ‘विचलन’ त होइन, तर संगठनभित्रको भावनात्मक र वैचारिक रिक्तताको संकेत हो । मानिस त्यहीँ जान्छ, जहाँ उसले अर्थबोध, आत्मीयता र वैचारिक स्पष्टता पाउँछ ।
राजनीतिक संगठनले यदि त्यही ऊर्जा दिन सकेन भने कार्यकर्ताले विकल्प खोज्नु अस्वाभाविक हुँदैन ।
आदेश होइन, सहभागिता
कार्यकर्ता परिचालन अझै पनि धेरै ठाउँमा भीड व्यवस्थापन, नारा र आदेश पालनामा सीमित देखिन्छ । तर आधुनिक संगठनात्मक अभ्यासमा कार्यकर्ता केवल प्रयोगका साधन होइनन्, उनीहरू सहनिर्माता हुन् ।
क्षमता, रुचि र अनुभवअनुसार जिम्मेवारी बाँडफाँट गर्न नसक्दा कार्यकर्ता निष्क्रिय बन्छन् । एउटै समूहलाई निरन्तर अवसर दिइने र अरूलाई दर्शक बनाइने प्रवृत्तिले संगठनभित्र निराशा र दूरी बढाउँछ । अहिले यस्ता सवाल ‘भुसको आगोझैँ’ भइरहेको छ ।
अभियानका नाममा माथिबाट बनाइएका निष्कर्ष तल थोपर्ने प्रवृत्तिले संवाद कमजोर बनाउँछ । संगठन तब मात्र जीवित हुन्छ, जब तल–माथिको संवाद बराबरी हुन्छ ।
उत्प्रेरणा र संरक्षणको संकट
कार्यकर्ताको मनोबल केवल भाषण वा कार्यक्रममा होइन, व्यवहारमा टिक्छ । उनीहरूलाई सम्मान, न्यायपूर्ण मूल्याङ्कन र आत्मीयता चाहिन्छ । तर धेरै ठाउँमा योगदान भन्दा निकटता, क्षमताभन्दा चाकडी र इमान्दारीभन्दा समूहगत समीकरणले प्राथमिकता पाएको गुनासो गहिरिँदो छ, स्पष्टतः यस्तो अवस्था विद्यमान छ ।
अनुशासन डर होइन, साझा मूल्यप्रतिको प्रतिबद्धता हो । तर पारदर्शिता कमजोर हुँदा अनुशासन पनि कमजोर हुन्छ । अवसर सीमित समूहमा केन्द्रित हुँदा गुटबन्दी जन्मिन्छ र संगठन आन्तरिक रूपमा विभाजित हुन्छ । अहिले यस्तै अवस्था देखिँदैछ ।
यसैको परिणामस्वरूप धेरै इमानदार कार्यकर्ता मौन रूपमा टाढिन्छन् । उनीहरू विद्रोह गर्दैनन्, तर मनबाट अलग हुन्छन् । संगठनका लागि यही मौन दूरी सबैभन्दा खतरनाक हुन्छ ।
आज समाजमा कलाकार, लेखक, पत्रकार, योगगुरु वा सामाजिक अभियन्ताप्रति बढ्दो आकर्षणको एउटा कारण उनीहरूले मानिससँग भावनात्मक सम्बन्ध निर्माण गर्न सकेका छन् । राजनीतिक संगठनहरू भने धेरै ठाउँमा त्यो सम्बन्ध कमजोर पारिरहेका छन् ।
अनुशासन र चरित्रको परीक्षण
अनुशासन डर होइन, साझा मूल्यप्रतिको प्रतिबद्धता हो । तर पारदर्शिता कमजोर हुँदा अनुशासन पनि कमजोर हुन्छ । अवसर सीमित समूहमा केन्द्रित हुँदा गुटबन्दी जन्मिन्छ र संगठन आन्तरिक रूपमा विभाजित हुन्छ । अहिले यस्तै अवस्था देखिँदैछ ।
नेतृत्व विकासको प्रश्न अझै गम्भीर छ । नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा भाषणमा सुन्न पाइन्छ, तर व्यवहारमा पुरानै संरचनामा शक्ति केन्द्रित हुने प्रवृत्ति बलियो छ । नेतृत्व हस्तान्तरणलाई जोखिमका रूपमा हेर्ने मानसिकताले संगठनको दीर्घकालीन भविष्य कमजोर बनाउँछ ।
आफू वरिपरिका केही दर्जन मानिसको मनसमेत जित्न नसक्ने नेतृत्व, जब समाज रूपान्तरणको उपदेश दिन थाल्छ, त्यसले प्रेरणा होइन, विडम्बना पैदा गर्छ । खादा र मालाले ढाकिएको औपचारिक सम्मानले वास्तविक नेतृत्व संकट लुकाउन सक्दैन ।
जागरण कि औपचारिकता ?
यस्तो अवस्थामा ‘जागरण अभियान’ ले उठाएका प्रश्नहरू महत्त्वपूर्ण हुन्छन् । तर प्रश्न के हो भने के यो अभियानले वास्तविक आत्मसमीक्षा जन्माउँछ ? वा केवल विगतका असफलता ढाक्ने औपचारिक प्रयास मात्र गर्छ ?
अध्ययन, संवाद, सम्मान र सहभागितामा आधारित नयाँ संस्कृति निर्माण गर्नुपर्छ । नत्र संगठन बाहिरबाट भव्य देखिए पनि भित्रबाट कमजोर हुँदै जानेछ । नारा रहनेछ, संरचना रहनेछ, तर विश्वास हराउनेछ र विश्वास हराएपछि कुनै पनि अभियान–जागरण होस् वा आन्दोलन केवल औपचारिकता मात्र बन्छ ।
महाधिवेशनको समीक्षा अधुरो छ, निर्वाचनको पराजयको गहिरो विश्लेषण गरिएको छैन, कार्यकर्ताका प्रश्नहरूको संस्थागत उत्तर छैन भने अभियानले केवल कार्यक्रम उत्पादन गर्न सक्छ, समाधान होइन ।
रोजगारी, बसाइँसराइ रोक्ने योजना, संस्थागत सुशासन, व्यक्तिगत सदाचार, सामाजिक संवेदनशीलता र राष्ट्रिय समृद्धिका मुद्दा अभियानको केन्द्रमा आउँदैनन् भने यसको प्रभाव साह्रै सीमित रहन्छ ।
आत्मसमीक्षाबाट पुनर्जागरण
संगठनको संकट केवल संरचनात्मक होइन, नैतिक र वैचारिक पनि हो । समस्या संख्या होइन, विश्वास हो । समस्या भीड होइन, सम्बन्ध हो । समस्या कार्यक्रम होइन, आत्मा हो । यदि पार्टीले साँच्चै पुनर्जागरण चाहन्छ भने उसले कार्यकर्तालाई केवल कार्यकर्ता होइन, चेतनशील नागरिकका रूपमा विकास गर्नुपर्छ ।
अध्ययन, संवाद, सम्मान र सहभागितामा आधारित नयाँ संस्कृति निर्माण गर्नुपर्छ । नत्र संगठन बाहिरबाट भव्य देखिए पनि भित्रबाट कमजोर हुँदै जानेछ । नारा रहनेछ, संरचना रहनेछ, तर विश्वास हराउनेछ र विश्वास हराएपछि कुनै पनि अभियान–जागरण होस् वा आन्दोलन केवल औपचारिकता मात्र बन्छ ।
अन्ततः संगठनको भविष्य भवन, ब्यानर वा पदमा होइन; कार्यकर्ताको मनमा टिकेको विश्वासमा निर्भर हुन्छ । त्यो विश्वास गुमेपछि सबैभन्दा ठूलो संकट यही हुन्छ– संगठन रहन्छ, तर जीवन्तता रहँदैन । बढ्दो दूरी, अतिकेन्द्रित नेतृत्व, मर्यादाहीन अराजकता, चाकरीको मूल्य बढ्दासम्म जीवन्तता कपोलकल्पना मात्र हुन्छ । पहिले जागरणको केन्द्रबिन्दु पहिल्याउन सके प्रस्थानबिन्दु फेलापर्छ र गन्तव्य भेटिने छ । नत्र कुरा गर्यो, कुरैको दुःख भनेझैँ हुनेछ ।
(लेखक नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागका पूर्व सचिव हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण