नयाँ चक्कीले घातक प्यान्क्रियाटिक क्यान्सरका बिरामीमा जगायो आशा
सारांश
- नयाँ प्रयोगात्मक चक्की डाराक्सोनरासिबले प्यान्क्रियाटिक क्यान्सरका बिरामीहरूको जीवनकाल औसतमा १३.२ महिनासम्म बढाएको छ, जुन किमोथेरापीको ६.७ महिनाको तुलनामा उल्लेखनीय सुधार हो ।
- यो औषधिले प्यान्क्रियाटिक क्यान्सरका ९० प्रतिशतभन्दा बढी बिरामीहरूमा ट्युमरको वृद्धि गराउने उत्परिवर्तित प्रोटिनलाई निष्क्रिय पार्छ, जुन दशकौँसम्म उपचार गर्न नसकिने लक्ष्य थियो ।
- डाराक्सोनरासिबले ट्युमर सानो बनाउन, पीडा कम गर्न र जीवनको गुणस्तर सुधार गर्न मद्दत गरेको छ, जसले गर्दा यसलाई मेटास्टेटिक प्यान्क्रियाटिक क्यान्सरको नयाँ मानक उपचारको रूपमा हेरिएको छ ।
काठमाडौँ । प्यान्क्रियाटिक क्यान्सरका पछिल्लो चरणका बिरामीहरूलाई लक्षित गरी विकास गरिएको एउटा नयाँ प्रयोगात्मक चक्कीले बिरामीको जीवनकाल उल्लेखनीय रूपमा बढाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यो उपलब्धिलाई विश्वकै सबैभन्दा घातक क्यान्सरमध्ये एक मानिने प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठुलो प्रगतिका रूपमा हेरिएको छ । अध्ययनको नेतृत्व गरेका क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसका डा. जेभ वेनबर्गले भने, ‘यसले क्यान्सरलाई पूर्ण रूपमा निको पार्दैन, तर यो अत्यन्त ठुलो उपलब्धि हो,’ ।
नयाँ औषधिको नाम डाराक्सोनरासिब हो । यसले प्यान्क्रियाटिक क्यान्सरका ९० प्रतिशतभन्दा बढी बिरामीमा ट्युमरको वृद्धि गराउने उत्परिवर्तित प्रोटिनलाई निष्क्रिय बनाउने काम गर्छ । यो लक्ष्यलाई दशकौँसम्म प्रभावकारी रूपमा उपचार गर्न सकिएको थिएन ।
अध्ययनमा क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको र अघिल्लो उपचारले काम गर्न छाडेका ५०० बिरामीलाई सहभागी गराइएको थियो । उनीहरूलाई अनियमित रूपमा दुई समूहमा विभाजन गरी एक समूहलाई डाराक्सोनरासिब र अर्काे समूहलाई थप किमोथेरापी दिइएको थियो ।
नतिजाअनुसार डाराक्सोनरासिब सेवन गर्ने बिरामीहरू औसतमा १३ दशमलव २ महिना बाँचे । उता, किमोथेरापी मात्र पाएका बिरामीहरूको औसत जीवनकाल ६ दशमलव ७ महिना रह्यो ।
‘यो सुधार सानो जस्तो देखिए पनि किमोथेरापीभन्दा स्पष्ट रूपमा राम्रो नतिजा देखाउने पहिलो औषधि हो,’ डा. वेनबर्गले भने ।
नतिजा देख्दा आफू भावुक भएको अध्ययनमा संलग्न नभएकी एरिजोना क्यान्सर केन्द्रकी डा. रचना श्राफले बताइन् ।
उनले भनिन्, ‘१६ वर्षदेखि प्यान्क्रियाटिक क्यान्सरका बिरामीहरूको उपचार गर्दै आएकी म, अध्ययनको नतिजा पहिलो पटक देख्दा वास्तवमै रुन थालेँ,’ । उनका अनुसार औषधिले उनीहरूलाई दीर्घकालीन र अर्थपूर्ण लाभ प्रदान गरिरहेकोले धेरै बिरामीहरूले लामो समयसम्म यसको प्रयोग गरिरहे ।
जीवनको गुणस्तरमा पनि सुधार
चक्कीको प्रभाव समयसँगै कम हुँदै जाने भए पनि यसले ट्युमर सानो बनाएको, पीडा कम गरेको र जीवनको गुणस्तर सुधार गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । अध्ययनको नतिजा सार्वजनिक भइसकेपछि पनि धेरै बिरामीहरूले औषधि सेवन जारी राखेका छन् । त्यसैले आगामी दिनमा जीवनकालको अन्तर अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
अध्ययनको नतिजा डा. ब्रायन वोल्पिनले आइतबार शिकागोमा आयोजित अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजीको सम्मेलनमा प्रस्तुत गरेका थिए । उनले भने, ‘यो औषधि अघिल्लो उपचारले काम गर्न छाडेको मेटास्टेटिक प्यान्क्रियाटिक क्यान्सरको नयाँ मानक उपचार बन्नुपर्छ,’ । उनका अनुसार अब यसलाई रोगको सुरुआती चरणमै प्रयोग गर्न सकिन्छ कि भनेर पनि अध्ययन गरिनेछ । ट्युमर सानो भएमा थप बिरामीहरू शल्यक्रियाका लागि योग्य बन्न सक्ने सम्भावना रहेको छ ।
यो अध्ययन औषधि निर्माता कम्पनी रिभोलुशन मेडिसिन्सले वित्तीय सहयोगमा सम्पन्न भएको हो । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले औषधिको स्वीकृति प्रक्रियालाई तीव्र बनाउने योजना बनाएको छ । साथै निश्चित मापदण्ड पूरा गर्ने बिरामीहरूलाई विस्तारित पहुँच कार्यक्रममार्फत औषधि उपलब्ध गराउन पनि अनुमति दिएको छ । यो औषधि चर्चामा आउनुको अर्काे कारण अमेरिकी पूर्व सिनेटर बेन सासे हुन् । उनले टेलिभिजन कार्यक्रम ६० मिनट्समा आफूले यो औषधि सेवन गरेपछि पीडा कम भएको बताएका थिए ।
किन यति घातक छ प्यान्क्रियाटिक क्यान्सर ?
प्यान्क्रियाटिक क्यान्सर संसारकै सबैभन्दा घातक क्यान्सरमध्ये एक मानिन्छ । यसको मुख्य कारण रोग प्रारम्भिक चरणमा पत्ता लगाउन अत्यन्त कठिन हुनु हो । धेरैजसो अवस्थामा यो अन्य अंगमा फैलिसकेपछि मात्र पत्ता लाग्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यस वर्ष अमेरिकामा करिब ६७ हजार नयाँ बिरामी थपिने अनुमान छ भने ५२ हजारभन्दा बढी मानिसको मृत्यु यसै रोगका कारण हुने अपेक्षा गरिएको छ । यस रोगको पाँच वर्षसम्म बाँच्ने समग्र दर केवल १३ प्रतिशत छ ।
औषधिले कसरी काम गर्छ ?
यो औषधिले कोशिकाको वृद्धि नियन्त्रण गर्ने आरएएस जीन परिवारमा हुने उत्परिवर्तनलाई लक्षित गर्छ । विशेष गरी केआरएएस नामक उत्परिवर्तन प्यान्क्रियाटिक क्यान्सरको मुख्य चालक मानिन्छ । तर उत्परिवर्तित केआरएएस प्रोटिनको संरचनाका कारण औषधिहरूले त्यसमा टाँसिन कठिन हुने भएकाले यसलाई लामो समयसम्म औषधिले उपचार गर्न नसकिने लक्ष्यका रूपमा हेरिएको थियो । डाराक्सोनरासिबले भने एक प्रकारको आणविक ग्लुले जस्तै काम गर्छ र यो विभिन्न केआरएएस उपप्रकारहरूमा टाँसिन्छ ।
फ्रेड हचिन्सन क्यान्सर सेन्टरका एन्ड्रयू कोभलरले यस अनुसन्धानलाई प्यान्क्रियाटिक क्यान्सर उपचारको सम्भावित नयाँ युगको सुरुआत बताएका छन् । उनले भने, ‘यो औषधिले पूर्ण रूपमा फरक तरिकाले काम गर्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार केआरएएसलाई लक्षित गर्ने अन्य औषधिहरू पनि विकासको क्रममा छन् । साथै शल्यक्रियापछि क्यान्सर पुनः नफर्कियोस् भनेर प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने खालका खोपहरूबारे पनि प्रारम्भिक चरणका अध्ययनहरू भइरहेका छन् । आगामी परीक्षणहरू पनि सफल भए भने डाराक्सोनरासिब प्यान्क्रियाटिक क्यान्सर उपचारको क्षेत्रमा दशकौँयताकै सबैभन्दा ठुलो उपलब्धिमध्ये एक बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण