मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दिल्लीका सडकमा रविको स्वागतमा होर्डिङ बोर्ड: भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमण सुरु

सोमबार, १८ जेठ २०८३, २३ : ३९
सोमबार, १८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।
  • दिल्ली पुगेपछि लामिछानेलाई विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए ।
  • लामिछानेको स्वागतका लागि दिल्लीका विभिन्न मुख्य स्थानहरूमा उनको तस्बिरसहितका होर्डिङ बोर्डहरू राखिएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई दिल्लीमा भव्य स्वागत गरिएको छ ।

सोमबार दिउँसो दिल्ली पुगेका लामिछानेलाई विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । लामिछानेको स्वागतका लागि दिल्लीका विभिन्न मुख्य स्थानहरूमा उनको तस्बिरसहितका होर्डिङ बोर्डहरू राखिएका छन् । यसअघि नेपालका शीर्ष तहका नेताहरू भारत भ्रमणमा जाँदा देखिने यस्तो प्रचलन यस पटक लामिछानेको हकमा पनि दोहोरिएको हो ।

भ्रमण टोलीमा लामिछानेसँगै रास्वपाका सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन् । भ्रमण दलका सदस्य एवं प्रतिनिधिसभा सदस्य बोहोराले सामाजिक सञ्जालमा दिल्लीका सडकमा राखिएका स्वागत बोर्डहरूको भिडियो सार्वजनिक गर्दै त्यहाँको माहोलबारे जानकारी दिएका छन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेको यो भ्रमण जेठ १८ देखि २२ गतेसम्म तय गरिएको छ । भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटहरू गर्ने तालिका छ ।

आफ्नो पाँच दिने बसाइका क्रममा लामिछानेले भाजपाका शीर्ष नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप