प्रहरीमा पुग्यो गायिका बिमा कुमारी दुराको ‘लमजुङ तुर्लुङकोट’ गीत विवाद
सारांश
- वरिष्ठ लोकदोहोरी गायिका बिमा कुमारी दुराको चर्चित गीत ‘लमजुङ तुर्लुङकोट’ को सर्जकको विषयमा विवाद उत्पन्न भएको छ ।
- ‘द भ्वाइस अफ नेपाल सिजन ७’ मा प्रतियोगीले यो गीत गाउँदा डिजिटल प्लेटफर्ममा उपलब्ध त्रुटिपूर्ण विवरणका आधारमा अर्कै व्यक्तिको नाममा क्रेडिट दिइएको थियो ।
- गायिका दुराले यस विषयमा प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरी परिसरमा छलफल भए पनि विवाद समाधान हुन सकेको छैन ।
काठमाडौँ । वरिष्ठ लोकदोहोरी गायिका बिमा कुमारी दुराको चर्चित गीत ‘लमजुङ तुर्लुङकोट, सररर हावा चल्यो लाकुरीको बोट’ विवादमा तानिएको छ ।
रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ७’ मा यो गीत प्रस्तुत गरिँदा सर्जकका रूपमा अर्कै व्यक्तिको नाम उल्लेख भएपछि सिर्जनाको प्रतिलिपि अधिकार (कपिराइट), मौलिकता र स्रष्टाको सम्मानको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।
शोको ‘ब्लाइन्ड अडिसन’ मा प्रतियोगी सन्जिता दुराले आफ्नो समुदायको पहिचान बोकेको भन्दै यो चर्चित गीत प्रस्तुत गरेकी थिइन् । गीत प्रसारणपछि शोका आयोजकहरूले क्रेडिट (श्रेय) दिने क्रममा डिजिटल प्लेटफर्ममा उपलब्ध विवरणलाई आधार बनाएका थिए ।
युट्युबमा करिब १० लाखभन्दा बढी पटक हेरिएको (भ्युज भएको) एउटा भिडियोमा यस गीतको शब्द र संगीतमा ‘रमेश परियार’को नाम उल्लेख भएको भेटिएपछि आयोजकले शोमा पनि सोही नामलाई क्रेडिट दिएका थिए ।
आफूले सिर्जना गरेको र आफ्नै स्वरमा सजिएको गीत अर्कैको नाममा प्रसारण भएको थाहा पाएपछि वरिष्ठ गायिका बिमा कुमारी दुराले कडा आपत्ति जनाएकी थिइन् । आफ्नो अनुमतिबिना गीत प्रयोग गरिएको र अर्कैलाई श्रेय दिएर आफ्नो पहिचान मेट्न खोजिएको भन्दै उनले जिल्ला प्रहरी परिसर भद्रकालीमा उजुरीसमेत दर्ता गराएकी छन् ।
शोमा गीत प्रयोग हुँदा गायिका दुरा अमेरिकामा थिइन् । गीतको विवाद सुल्झाउनकै लागि आकस्मिक रूपमा नेपाल आएकी उनले ‘म जीवितै हुँदा मेरो सिर्जना अपहरण भयो’ भन्दै कानुनी प्रक्रिया सुरु गरेकी हुन् ।सोमबार प्रहरी परिसरमा दुवै पक्षबिच छलफलसमेत भएको थियो । उक्त छलफल बिनानिष्कर्ष टुङ्गिएपछि यो विवाद थप जटिल बनेको छ । छलफलमा ‘द भ्वाइस’ टोलीले आफ्नो कुरालाई गम्भीरतापूर्वक नलिएको गायिका दुराको गुनासो छ । छलफलका क्रममा उनीहरू आफ्नो कुरा राम्रोसँग नसुनी बाहिरिएको आरोप दुराले लगाएकी छन् । यस विषयलाई त्यसै नछाड्ने भन्दै उनी प्रहरी प्रशासनको कदमको पर्खाइमा छिन् ।

अर्कातर्फ, यस विवादका विषयमा ‘द भ्वाइस’ का निर्देशक लक्ष्मण पौडेलले प्राविधिक त्रुटिका कारण यस्तो हुन गएको र त्यसलाई तत्कालै सुधार गरिसकिएको बताएका छन् । ‘द भ्वाइसको ब्लाइन्ड अडिसनमा सन्जिता दुरा भन्ने प्रतियोगी बहिनीले आफ्नो समुदायको प्रतिनिधित्व गर्दै आदरणीय गायिका बिमा कुमारी दुराको गीत रोज्नुभएको हो,’ पौडेलले भने, ‘गीतको क्रेडिट राख्ने क्रममा हामीले रेफरेन्सका लागि युट्युबमा खोज्दा करिब १० लाख भ्युज भएको दुई–तीन वर्ष पुरानो एउटा भिडियो भेट्यौँ, जसमा शब्द र संगीतमा रमेश परियारको नाम लेखिएको थियो ।’
उक्त गीत धेरै पहिले अपलोड भएको र अहिलेसम्म कसैको दाबी–विरोध नदेखिएकाले आफूहरूले त्यसैलाई आधिकारिक मानेर रमेश परियारकै नाम क्रेडिटमा राखेको पौडेलको भनाइ छ । ‘बिमा दिदीले हामीलाई सम्पर्क गरेर यो रमेश परियारको सिर्जना होइन, शब्द, संगीत र स्वर सबै मेरै हो भन्नुभयो,’ पौडेलले थपे, ‘मान्छेबाट कहिलेकाहीँ यस्तो प्राविधिक गल्ती हुन सक्छ । उहाँले भनेपछि हामीले आफ्नो गल्ती महसुस गर्दै तुरुन्तै युट्युबमा सच्यायौँ ।’
नेपालको सन्दर्भमा आधिकारिक रूपमा कसको कुरा मान्ने भन्ने द्विविधा हुने गरेको उल्लेख गर्दै पौडेलले बिमा दिदीको कुरालाई सम्मान गर्दै युट्युब भिडियोको क्रेडिट टाइटल तथा विवरणहरूमा सबैतिर उहाँकै नाम राखेर सच्याइएको जानकारी दिए ।
‘हामीले माफीसहित सच्याउँदा पनि उहाँले चित्त बुझाउनुभएन र गाउने बहिनी सन्जिता तथा कार्यक्रमलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिनुभएको छ,’ पौडेलले थपे, ‘झन्झट नहोस् भनेर हामीले अन्ततः त्यो भिडियो युट्युबबाट हटाइ नै दियौँ ।’ प्रहरी कार्यालयमा दुई–तीन घण्टा छलफल हुँदा पनि दिदीको माग के हो भन्ने कुरामा उहाँ आफैँ स्पष्ट नभएको पौडेलको दाबी छ ।
पौडेलले अगाडि भने, ‘कहिले उहाँ २० करोड रुपैयाँ माग गर्नुहुन्छ, कहिले भिडियो किन हटाएको भन्नुहुन्छ । हामीले त उहाँलाई अतिथिका रूपमा शोमा बोलाएर सम्मान गर्ने प्रस्तावसमेत राखेका थियौँ, तर उहाँका मान्छेहरूले दिदी फर्किहाल्नुपर्छ, बाटो खर्च पनि छैन भन्दै कुरा टारे ।’
पौडेले अझै थपे, ‘हाम्रो लोकदोहोरी क्षेत्रका मानिसहरू लोकगीतको उत्थान भएन भन्नुहुन्छ, तर जब हामी द भ्वाइसजस्तो ठुलो मञ्चमा लोकगीत प्रस्तुत गर्छौँ, तब कसै न कसैले मुद्दा हाल्न आइपुग्नुहुन्छ,’ नेपाली संगीत क्षेत्रको प्रवृत्तिप्रति पौडेलले प्रश्न गरे, ‘यस्तो वातावरणले कसरी लोकगीतको उत्थान हुन्छ ?’ यद्यपि, आफूहरू अझै पनि बिमा दिदीको कुरा सुन्न र कानुनी प्रक्रियामा सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे ।
के भन्छिन् दुरा ?
गायिका बिमा कुमारी दुरा भने आफू जीवित हुँदै आफ्नो सिर्जना अपहरण भएको बताउँछिन् । यस घटनालाई उनले आफ्नो अस्तित्व र वर्षौँको साधना माथिको प्रहारका रूपमा लिएकी छन् । ‘यो गीत म आफैँले सिर्जना गरेको, आफैँले गाएको र सबैथोक आफैँले गरेको गीत हो । म जीवित हुँदाहुँदै मेरो सिर्जनालाई दबाएर अर्कैको नाममा देखाउनु कत्तिको न्यायसंगत हो ?’ गायिका दुराले भनिन्, ‘मैले आफ्नो सम्पूर्ण जीवन यही क्षेत्रमा बिताएँ, आज मलाई यसको उत्तर कसले दिन्छ ?’
गीत विवादका क्रममा उठेको क्षतिपूर्तिको प्रसङ्गबारे उनी भन्छिन्, ‘सिर्जनाको मूल्य पैसामा कसरी चुकाउन सकिन्छ र ? गीतको तौल कति केजी वा धार्नी हुन्छ ? यसलाई जोख्न सकिँदैन, यो त महासागर जस्तै हो ।’
दुराले आफू यो विवाद सुल्झाउन र आफ्नो हक खोज्न अमेरिकाबाट महँगो हवाई टिकट काटेर आकस्मिक रूपमा नेपाल आएको र अहिलेसम्म गाउँमा रहेकी आफ्नी ९० वर्षीया वृद्धा आमालाई समेत भेट्न जान नपाएको पीडा सुनाइन् । प्रहरी कार्यालयमा भएको छलफलमा ‘द भ्वाइस’ को टोली आफूहरूसँग स्पष्ट कुरा नगरी तर्किएको उनको आरोप छ । सो छलफलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, रोयल्टी सङ्कलन समाज र प्रस्तोता समाजका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको उनले जानकारी दिइन् ।
‘यो विवाद सुरु भएपछि गीत गाउने बहिनीले मलाई मेसेन्जरमा तिमीसँग मेरो कुनै सरोकार छैन भन्दै सन्देश पठाइन्, जसले मलाई झन् ठुलो मानसिक तनाव दियो,’ दुराले भनिन्, ‘म मुद्दा–मामिलामा दौडिने मान्छे होइन, तर मलाई जिउँदै मार्न खोजिएपछि म बाध्य भएर कानुनी प्रक्रियामा आएकी हुँ ।’
एक महिनाका लागि नेपाल आएकी उनले आफ्नो अधिकारका लागि अन्तिमसम्म लड्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण