आँखा बिगार्ने सर्जनविरुद्ध बोल्दा महिलाले उल्टै तिर्नु पर्यो क्षतिपूर्ति
सारांश
- चीनकी एक महिलाले आँखाको असफल शल्यक्रियाका कारण छ वर्षदेखि आँखाहरू पूर्ण रूपमा बन्द गर्न नसकेपछि अदालतले उल्टै उनलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
- शल्यक्रिया गलत तरिकाले गरिएका कारण अश्रु नली क्षतिग्रस्त भई वाङको आँखाको ढकनी बाहिरतिर फर्किन थाल्यो र आँसु बग्न थाल्यो ।
- मेङसँग वैध मेडिकल लाइसेन्स नभएको खुलेपछि वाङले मुद्दा दायर गरे पनि पछि सम्झौताको सर्त उल्लंघन गरेको भन्दै वाङलाई नै क्षतिपूर्ति तिर्न आदेश दिइएको छ ।
बेइजिङ । आँखा खुलै राखेर सुत्नु पर्यो भने के होला ? चीनकी एक महिलाले आँखाको असफल शल्यक्रियाका कारण छ वर्षदेखि आँखाहरू पूर्ण रूपमा बन्द गर्न सकिरहेकी छैनन् । अझ आश्चर्यजनक कुरा त के भन उनले आफ्नो अनुभव सार्वजनिक गरेपछि अदालतले उल्टै ती महिलाले शल्य चिकित्सकलाई ठुलो रकम क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
सन २०२० को जुन महिनामा वाङ थरकी एक महिला चीनको जियाङ्सु प्रान्तको सुझोउ सहरस्थित मेइसी कस्मेटिक सर्जरी क्लिनिकमा डबल आइल्याड बनाउने शल्यक्रिया गराउन पुगेकी थिइन् । उक्त शल्यक्रिया मेङ नामकी शल्यचिकित्सकले गरेकी थिएन् । मेङले आफूलाई सो क्लिनिकको बजार व्यवस्थापन निर्देशकसमेत बताएकी थिइन् । शल्यक्रियाका लागि वाङले क्लिनिकलाई १२ हजार युआन (करिब १ हजार ८०० अमेरिकी डलर) तिरेकी थिइन् ।
शल्यक्रिया गरेर वाङ त्यही दिन घर फर्किइन् । तर रातिदेखि उनलाई अत्यधिक पीडा हुन थाल्यो । पीडा असह्य भएपछि उनले मेङलाई सम्पर्क गरिन् । मेङले केही दिनमा सबै ठीक हुने भन्दै सामान्य प्रतिक्रिया दिइन् । तर समय बित्दै जाँदा समस्या झन् गम्भीर बन्दै गयो । उनको आँखाको ढकनी बाहिरतिर फर्किन थाल्यो, आँखाबाट लगातार आँसु बग्न हुन थाल्यो । पछि मेङले फोन उठाउनसमेत छाडेपछि वाङले स्थानीय अस्पतालमा उपचार खोजिन् ।
अस्पतालका चिकित्सकहरूले उनको अश्रुनली क्षतिग्रस्त भएको र शल्यक्रिया गलत तरिकाले गरिएको निष्कर्ष निकाले । उनीहरूले सुधारात्मक शल्यक्रिया गर्न सुझाव दिएका थिए । वाङले पछि सुधारात्मक शल्यक्रिया गराए पनि उनको ढकनी पूर्ण रूपमा सामान्य हुन सकेन । आजसम्म पनि उनी निदाउँदा समेत आँखा पूर्ण रूपमा बन्द गर्न सक्दिनन् ।
सन २०२२ मा गरिएको चिकित्सकीय मूल्याङ्कनमा उनको आँखाको क्षतिलाई स्तर ९ को अपाङ्गता भनेर वर्गीकरण गरिएको थियो, जहाँ स्तर १० सबैभन्दा गम्भीर मानिन्छ । वाङका अनुसार यस घटनाले उनको जीवनमा गम्भीर मानसिक असर पारेको छ । उनले भनिन्, ‘मलाई काममा जान र मानिसहरूसँग भेट्नसमेत लाज लाग्थ्यो । त्यसपछि म डिप्रेसन र अनिद्राबाट पीडित भएँ,’ ।
पछि गरिएको अनुसन्धानबाट मेङसँग वैध मेडिकल लाइसेन्स नभएको र उनले काम गरेको क्लिनिकसँग पनि कानुनी व्यवसाय सञ्चालन अनुमति नभएको खुलेको थियो । त्यसपछि वाङले मेङविरुद्ध अदालतमा मुद्दा दायर गरिन् । अदालतले फैसला सुनाउनुअघि मेङ पक्षले जेल सजायबाट बच्न वाङसँग सम्झौता गर्ने प्रस्ताव गरेको थियो । अन्ततः दुवै पक्षबीच सम्झौता भयो। सम्झौताअनुसार मेङले वाङलाई ८ लाख ५० हजार युआन (करिब १ लाख २५ हजार अमेरिकी डलर) क्षतिपूर्ति तिर्ने सहमति गरिन् ।
तर त्यसको बदलामा वाङले सामाजिक सञ्जालमा राखेका सबै पोस्ट हटाउनुपर्ने, पुनः कानुनी कारबाही नगर्ने, र शल्यक्रियाबारे कुनै सञ्चारमाध्यमसँग कुरा नगर्ने सर्त स्वीकार गर्नुपरेको थियो । सम्झौतामा यी सर्त उल्लंघन गरेमा वाङले मेङलाई ४ लाख युआन तिर्नुपर्ने व्यवस्था पनि गरिएको थियो ।
वाङले सम्झौतापछि सामान्य जीवनमा फर्कने आशा गरेकी थिइन् । तर उनका अनुसार मेङले पछि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनलाई र उनका दाजुलाई बदनाम गर्न थालेकी थिइन् । त्यसको प्रतिवादमा वाङकी भाउजूले मेङले गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको प्रमाण सार्वजनिक गरिन् । वाङ स्वयं पनि केही भिडियोमा देखिँदै आफ्नो अनुभव सुनाउन थालिन् । यही कदमले सम्झौताको सर्त उल्लंघन भएको ठहर गर्दै मेङले वाङविरुद्ध पुनः अदालतमा मुद्दा दायर गरिन् ।
यस वर्ष अदालतले सम्झौताका सर्त वैध रहेको ठहर गर्दै वाङलाई मेङलाई ४ लाख युआन फिर्ता तिर्न आदेश दियो । वाङले माथिल्लो निकायमार्फत पुनरावलोकनको प्रयास गरेकी थिइन्, तर मे २३ मा उनको निवेदन अस्वीकार गरियो । हाल सामाजिक सञ्जालमार्फत वाङले अन्य महिलाहरूलाई सौन्दर्य शल्यक्रियाबारे सावधानी अपनाउन आग्रह गरेकी छन् । ‘आफ्नो अधिकारको रक्षा गर्न निकै कठिन रहेछ । मेरो अनुभवबाट सबै महिलाले सिकून् । सौन्दर्य शल्यक्रिया गराउनुअघि राम्रोसँग सोच्नुस्, किनभने यसले जीवनभरको पछुतो हुन सक्छ,’ उनले हालै सामाजिक सञ्जालमा भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण