मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भदौ २३ र २४ लाई युवाहरूको हत्या प्रपञ्च गर्नेहरूले क्रान्ति भनेका छन् : अध्यक्ष ओली

बुधबार, २० जेठ २०८३, १२ : ५१
बुधबार, २० जेठ २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई युवाहरूको हत्याको प्रपञ्च गर्नेहरूले क्रान्ति भनेको आरोप लगाएका छन् ।
  • उनले उक्त घटनाहरूलाई नियोजित र षडयन्त्रपूर्ण भएको बताउँदै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले पनि सोही कुरालाई पुष्टि गर्ने दाबी गरे ।
  • ओलीले आफ्नो नेतृत्वको सरकारलाई संवैधानिक बाटोबाट हटाउन नसकेपछि आपराधिक मार्गबाट विस्थापन गर्ने षडयन्त्र भएको र त्यसका लागि तालिम तथा आगो लगाउनेजस्ता प्रयास भएको बताए ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना नियोजित रूपमा भएको बताएका छन् । बुधबार केन्द्रीय सङ्गठन विभागले काठमाडौँमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले उक्त दुई दिने घटनालाई युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरे पनि त्यो नियोजित र षडयन्त्रपूर्ण घटनाका रूपमा चित्रित गरे । 

‘गत भदौ २३ र २४ गतेको आन्दोलनलाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्छन् । गर्नेहरूले क्रान्ति भन्ने नै भए । युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘काँक्रो आफूले खाइसकेपछि बिया अर्कोको गलामा टाँसिएको छ’ अध्यक्ष ओलीले उक्त घटना षडयन्त्रपूर्ण र पूर्वनियोजित षडयन्त्र थियो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमै उल्लेख रहेको बताए । 

ओलीले आफ्नो नेतृत्वको सरकार संवैधानिक लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा रहेकाले त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक बाटोबाट ध्वास्त पार्ने प्रयास सफल नभएपछि आपराधिक मार्गबाट विस्थापन गर्ने षड्यन्त्र भएको बताए । ‘त्यसका निम्ति तालिमहरू भए । आगो कसरी लगाउने, पेट्रोल बम कसरी बनाउनेजस्ता प्रयास भए’, उनले अराजकता अझै कायमै रहेको भन्दै थपे, ‘राष्ट्रद्रोही र आगो लगाउनेजस्ता कुरा सर्लक्क पचाउने काम भएको छ ।’ 

लोकतान्त्रिक आन्दोलनको अगुवाई एमालेले गरेकै कारण एमालेमाथि आक्रमण भएको भन्दै देश सर्वोपरि हुने भएकाले यसबारे सबैले बुझ्न जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप