आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि

आइतबार, २४ जेठ २०८३, १० : ४०
आइतबार, २४ जेठ २०८३

सारांश

  • भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्यमा प्रतिसिलिन्डर २९ भारतीय रुपैयाँले वृद्धि भएको छ।
  • यो वृद्धिसँगै दिल्लीमा १४.२ किलोग्रामको ग्यास सिलिन्डरको मूल्य ९१३ रुपैयाँबाट बढेर ९४२ रुपैयाँ पुगेको छ।
  • पछिल्लो तीन महिनाको अवधिमा घरेलु ग्यासको मूल्य बढाइएको यो दोस्रो पटक हो।

नयाँ दिल्ली । भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्यमा प्रतिसिलिन्डर २९ भारतीय रुपैयाँले वृद्धि भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि नै लागू भइसकेको छ ।

यो वृद्धिसँगै दिल्लीमा अब १४.२ किलोग्रामको घरेलु ग्यास सिलिन्डरको मूल्य ९१३ रुपैयाँबाट बढेर ९४२ रुपैयाँ पुगेको छ। पछिल्लो तीन महिनाको अवधिमा घरेलु ग्यासको मूल्य बढाइएको यो दोस्रो पटक हो ।

यसअघि गत मार्च ७ मा एलपीजी सिलिन्डरको दाम एकैपटक ६० रुपैयाँ बढाइएको थियो । यसरी हेर्दा तीन महिनाभित्रै घरेलु ग्यास सिलिन्डर ८९ रुपैयाँले महँगो भइसकेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको लागत बढेको र घरेलु बिक्रीमा ठूलो नोक्सानी ब्यहोर्नुपरेका कारण मूल्य बढाउनु परेको सरकारी तेल कम्पनीहरूले बताएका छन्।

पीटीआईले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार मूल्य बढाउनु अघि सरकारी तेल कम्पनीहरूलाई प्रत्येक घरेलु ग्यास सिलिन्डरमा करिब ७०३ रुपैयाँ नोक्सान भइरहेको छ। अहिले गरिएको मूल्यवृद्धिले कम्पनीहरूको उक्त घाटामा सामान्य राहत मात्र मिल्ने देखिन्छ।

यसअघि सरकारले सन् २०२५ को अप्रिल ८ मा घरेलु एलपीजी सिलिन्डरको मूल्य ५० रुपैयाँले बढाएको थियो। त्यस्तै सन् २०२६ को मार्च १ मा कमर्सियल ग्यास सिलिन्डरको मूल्य ३१ रुपैयाँसम्म बढाइएको थियो। यसपटक घरेलु ग्याससँगै ५ किलोग्रामको सानो एलपीजी सिलिन्डरको मूल्यमा पनि ११ रुपैयाँ वृद्धि गरिएको छ, जसको मूल्य अब ८२१.५० रुपैयाँ कायम भएको छ।

एलपीजी अघि पेट्रोल, डिजेल र सीएनजीको मूल्य पनि वृद्धि

पछिल्ला केही हप्ताहरूमा एलपीजी ग्यास मात्र नभई पेट्रोल, डिजेल र सीएनजीको मूल्यमा पनि लगातार वृद्धि भइरहेको छ। गत मे महिनामा मात्रै पेट्रोल र डिजेलको मूल्य समग्रमा प्रतिलिटर ७.५० रुपैयाँले बढिसकेको छ भने सीएनजी पनि प्रतिकिलो करिब ६ रुपैयाँले महँगो भएको छ। हाल कम्पनीहरूलाई पेट्रोलमा प्रतिलिटर करिब ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३३.६ रुपैयाँ नोक्सान भइरहेको छ।

यति धेरै मूल्य बढ्दा पनि कम्पनीहरूले अझै पेट्रोल र डिजेल लागत मूल्यभन्दा कममै बेचिरहेको दाबी गरेका छन् । यता सरकारले भने विश्व बजारमा बढेको मूल्यको सम्पूर्ण भार उपभोक्तामाथि मात्र नथोपारिएको स्पष्ट पारेको छ। कच्चा तेल महँगो हुनुको केही भार सरकारी तेल कम्पनीहरू आफैँले उठाइरहेका छन्।

यसरी तय हुन्छ ग्यास सिलिन्डरको मूल्य

ग्यास सिलिन्डरको खुद्रा मूल्य निर्धारण गर्दा मुख्य गरी अन्तर्राष्ट्रिय बजारमा एलपीजीको मूल्य कति छ भन्ने हेरिन्छ। यसका साथै डलरको तुलनामा स्वदेशी रुपैयाँको अवस्था कस्तो छ भन्ने कुराले पनि ठूलो असर पार्छ।

ग्यास आयात गर्दा लाग्ने खर्च, ढुवानी भाडा, बोटलिङ प्लान्टको सञ्चालन खर्च र वितरण खर्चलाई लागतमा जोडिन्छ। यी सबै खर्चसँगै तेल कम्पनीहरूले बजारको समग्र स्थिति हेरेर मूल्य तय गर्ने गर्छन्। यस प्रक्रियामा सरकारको कर प्रणाली र अनुदानसम्बन्धी नीतिले पनि मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप