सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’

सोमबार, २५ जेठ २०८३, १० : ०७
सोमबार, २५ जेठ २०८३

सारांश

  • नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले हिमताल विस्फोट र हिमपहिरोको जोखिमले गर्दा गाउँ नै सार्नुपर्ने स्थिति आएको बताएकी छन् ।
  • गत वर्ष लिमीको तिल गाउँमा हिमताल फुटेर ठूलो क्षति पुगेको थियो, जसले गर्दा स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
  • लामाले हिमाली क्षेत्रको विपद्लाई विशेष प्राथमिकतामा राखी बस्तीहरूको सुरक्षा, बजेट र पूर्वाधारमा सहयोग गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरेकी छन् ।

हुम्लाको उत्तरी क्षेत्रमा अवस्थित नाम्खा निकै ठुलो क्षेत्रफल भएको गाउँपालिका हो । उच्च हिमाली भूभाग, तिब्बतसँग जोडिएको सिमाना र प्रतिकूल मौसमका कारण यहाँ बर्सेनि हिमपहिरो र हिमताल विस्फोटको जोखिम बढिरहेको छ ।

यसै सन्दर्भमा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामासँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, गाउँपालिका उपाध्यक्ष लामासँग गरिएको  कुराकानीको सम्पादित अंश :

  • पछिल्लो समय नाम्खा गाउँपालिकामा हिमताल विस्फोट, हिमपहिरो र हिमनदीका कारण उत्पन्न हुने विपदको अवस्था कस्तो छ ? यसले जनजीवनमा कस्तो प्रभाव पारेको छ ?

नाम्खा गाउँपालिका भौगोलिक रूपमा निकै विकट र उच्च हिमाली क्षेत्रमा पर्दछ । यहाँको मुख्य समस्या भनेकै प्राकृतिक विपद् हो । विशेषगरी गत वर्ष लिमीको तिल गाउँमा भएको हिमताल विस्फोटको घटनापछि हामी अझ बढी झस्किएका छौँ ।

हिउँदमा हिउँले ढाकिने र बर्खामा हिमनदीहरूमा पानीको सतह बढ्ने हुँदा तटीय क्षेत्रका बस्तीहरू सधैँ जोखिममा रहन्छन् । वर्षाको समयमा खोला ठुला हुने र जमिन कटान गर्ने समस्या त छँदैछ, त्यसमाथि तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर नयाँ–नयाँ तालहरू बन्ने र पुराना ताल फुट्ने जोखिम पनि उत्तिकै छ ।

यसले गर्दा हाम्रा खेतबारी, बाटोघाटो र मानव बस्तीहरू नै सङ्कटमा परेका छन् । मानिसहरूमा एक प्रकारको त्रास छ, किनकि कुन बेला कुन ताल फुट्छ र बाढी आउँछ भन्ने कुराको पूर्वजानकारी हामीसँग हुँदैन ।

  • लिमीको तिल गाउँमा गत वर्ष भएको हिमताल विस्फोटको घटना निकै चर्चामा रह्यो । त्यसको विस्तृत विवरण र अहिलेको अवस्थाबारे बताइदिनुस् न ?

लिमी उपत्यकाको तिल गाउँमा भएको त्यो घटना निकै भयावह थियो । त्यहाँको सुङजुङ भन्ने ठाउँमा रहेको हिमताल फुटेर ठुलो बाढी र पहिरो आएको थियो । रोचक र डरलाग्दो कुरा के थियो भने ताल माथिबाट मात्र फुटेन, पानी जमिनको मुनिबाट छिरेर तल निस्किएपछि पूरै पहाड नै बगाएर ल्यायो । यसले गर्दा तिल गाउँको तल्लो भागमा ठुलो क्षति पुग्यो । त्यतिबेला हामी आफैँ स्थलगत अनुगमनमा जाँदा तालको अवस्था निकै कमजोर देख्यौँ ।

अहिले पनि त्यो क्षेत्र पूर्ण रूपमा सुरक्षित छैन । लिमी क्षेत्रमा अझै धेरै साना–ठुला ताल छन्, जसको अवस्थाबारे हामीले नियमित अनुगमन गरिरहेका छौँ । जलवायु परिवर्तनको असरले गर्दा पहिले नभएका ठाउँमा पनि पानी जम्न थालेको छ, जसले भविष्यमा थप सङ्कट निम्त्याउन सक्छ ।

  • यस्ता विपदका घटना हुँदा गाउँपालिकाले तत्काल उद्धार र राहतका लागि कसरी काम गर्छ ? प्रदेश र संघ सरकारसँगको समन्वय कस्तो छ ?

विपदको समयमा पहिलो ‘रेस्पोन्स’ गर्ने नै स्थानीय सरकार हुन्छ । हामीले प्रत्येक वर्ष गाउँपालिकाको बजेटमा विपद् व्यवस्थापन कोषको व्यवस्था गरेका हुन्छौँ । तिल गाउँको घटना हुँदा हामीले तत्कालै राहतका सामग्रीहरू पुर्‍यायौँ । जो मानिस विस्थापित भए, उनीहरूका लागि पाल, खाद्यान्न र औषधिको व्यवस्था गर्‍यौँ । यसमा हामीलाई प्रदेश सरकार, संघ सरकार र हाम्रो छिमेकी मित्रराष्ट्र चीनले पनि राम्रो सहयोग गर्‍यो । चीन सरकारबाट आएको सहयोगले राहत वितरणमा निकै सजिलो भयो ।

अहिलेसम्म हामीले उपलब्ध गराएको राहत र उद्धार कार्यप्रति जनताको गुनासो छैन । राज्यका सबै निकायले हाम्रो पीडा बुझेर सहयोग गरिरहेका छन्, तर भौगोलिक विकटका कारण सामग्री ढुवानी गर्न भने निकै महँगो र ढिलो हुने गर्दछ ।

  • तिल गाउँका बासिन्दाहरू अहिले विस्थापित भएका छन् भन्ने सुनिन्छ । उनीहरूको स्थायी व्यवस्थापनका लागि गाउँपालिकाले के योजना बनाएको छ ?

हो, तिल गाउँ अहिले निकै जोखिममा छ । त्यहाँ पहिला ३५ घरधुरी जति थिए, तर अहिले धेरैजसो मानिस सुरक्षित स्थानको खोजीमा काठमाडौँ, हिल्सा वा सिमकोटतिर सरिसकेका छन् । अहिले गाउँमा जम्मा १८ घरधुरीमात्र बाँकी छन् । उनीहरू पनि निकै डराएका छन् । हामीले ती बाँकी रहेका घरधुरीलाई पनि अर्को सुरक्षित स्थानमा सार्ने योजना बनाएका छौँ । उनीहरूलाई पहिला बसेकै पुरानो ठाउँ, जहाँ पानीको समस्याले गर्दा गाउँ छोडेका थिए, त्यहीँ फेरि लैजाने कि भन्ने छलफल भइरहेको छ । अहिले पानीको स्रोत व्यवस्थापन गरेर उनीहरूलाई सुरक्षित ठाउँमा लैजानु नै हाम्रो प्राथमिकता हो । उनीहरूसँग समन्वय गरेर र आधारभूत आवश्यकताहरू पूरा गरेरमात्र बस्ती स्थानान्तरण गर्नेछौँ ।

  • हिमाली क्षेत्रका बासिन्दाहरूमा जलवायु परिवर्तन र यसले निम्त्याउने जोखिमबारे चेतनाको स्तर कस्तो पाउनुभएको छ ?

हामीकहाँ एउटा उखान छ नि– ‘पढेरभन्दा परेर बढी जानिन्छ ।’ पहिला मानिसहरूले जलवायु परिवर्तन वा हिउँ पग्लिने कुरालाई सामान्य रूपमा लिन्थे, तर जब गत वर्ष आफ्नै गाउँमा ताल फुट्यो र विनाश देखियो, त्यसपछि बल्ल मानिसहरूले यसको गम्भीरता बुझ्न थालेका छन् ।

अहिले लिमी, तिल र वरपरका गाउँलेहरू हिमालमा हुने सानो परिवर्तनप्रति पनि सचेत छन् । हिउँ धेरै पग्लिनु वा खोलाको रङ फेरिनुलाई उनीहरूले खतराको सङ्केतका रूपमा बुझ्न थालेका छन् । गाउँपालिकाले पनि समुदायमा आधारित विपद् व्यवस्थापन समितिहरू बनाएर मानिसहरूलाई सचेत गराइरहेको छ ।

  • नाम्खामा अझै धेरै ताल जोखिममा छन् भनिन्छ । ती तालहरूको अनुगमन र जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनको के कस्तो व्यवस्था छ ?

नाम्खामा धेरै ताल छन् र ती सबैको अवस्था एउटै छैन । तिल गाउँभन्दा माथि रहेको शेखाङ लुङ्बा खोलाको जलाधार क्षेत्रमा पनि जोखिम उत्तिकै छ । तालहरूको अवस्थाबारे बुझ्न राज्यले विज्ञहरूको टोली पठाएर अनुसन्धान पनि गरिरहेको छ, तर उच्च हिमाली क्षेत्र र कठिन भूगोल भएकाले सबै तालमा पुग्न र तिनको गहिराई वा फुट्न सक्ने सम्भावना नाप्न कठिन छ ।

हामीले स्थानीय रूपमा सूचना संयन्त्र बनाएका छौँ, ताकि केही गडबड हुने बित्तिकै खबर तलसम्म पुगोस् । दीर्घकालीन रूपमा भने ती तालहरूको पानी घटाउने प्रविधिबारे सोच्न आवश्यक छ, तर यो गाउँपालिकाको बजेटले मात्र सम्भव छैन ।

  • हिमाली क्षेत्रको विपद् व्यवस्थापनका लागि संघ र प्रदेश सरकारलाई तपाईंको के सुझाव छ ?

मेरो मुख्य आग्रह भनेको हिमाली क्षेत्रको विपद्लाई विशेष प्राथमिकतामा राखियोस् भन्ने नै हो । तराईको बाढी र पहाडको पहिरोजस्तै हिमालको हिमपहिरो र हिमताल विस्फोट झन् बढी घातक हुन्छन् । त्यसैले हिमाली बस्तीहरूको सुरक्षाका लागि छुट्टै र प्रभावकारी नीति चाहिन्छ । जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँमा सार्नका लागि आवश्यक बजेट र पूर्वाधारमा सहयोग हुनुपर्छ ।

साथै, हिमाली क्षेत्रमा हुने वातावरणीय परिवर्तनको नियमित अनुगमनका लागि आधुनिक प्रविधिको प्रयोग गरिनुपर्छ । हामी स्थानीय सरकार त छँदैछौँ, तर माथिल्लो सरकारले पनि हाम्रो विकटता र समस्यालाई बुझेर दीर्घकालीन समाधानमा साथ दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप