मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने

मङ्गलबार, २६ जेठ २०८३, १२ : ५१
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • यातायात व्यवस्था विभागले सवारी साधनमा मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
  • उत्पादक कम्पनीको स्पेसिफिकेशनभन्दा बाहिरका शक्तिशाली लाइटले अन्य चालक र पैदल यात्रुलाई असर गरी दुर्घटनाको जोखिम बढाउने विभागको ठहर छ ।
  • विभागले लाइटको तीव्रता र हर्नको आवाजको सीमा तोकेको छ र यसविपरीतका कार्यमा कडा कारबाही गरिने सूचना जारी गरेको छ ।

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको भन्दा भिन्न र मापदण्डविपरीतका हेडलाइट तथा हर्न जडान गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले एक सार्वजनिक सूचना जारी गर्दै अनधिकृत रूपमा लाइट र हर्न परिवर्तन नगर्न सबै सवारी धनी तथा चालकहरूलाई सचेत गराएको हो ।

विभागका अनुसार पछिल्लो समय सवारी साधनको हेडलाइट भएको स्थान नजिक वा अन्य भागमा उत्पादक कम्पनीको प्राविधिक स्पेसिफिकेशनभन्दा बाहिरका शक्तिशाली लाइटहरू जडान गर्ने क्रम बढेको पाइएको छ। यस्ता चम्किला लाइटहरूले गर्दा सडकमा अन्य सवारी चालक र पैदल यात्रीको आँखा तिर्मिर्‍याउने र दुर्घटनाको जोखिम उच्च हुने विभागले जनाएको छ ।

यस्तै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा ३९ अनुसार सम्बन्धित कार्यालयको स्वीकृति नलिई सवारी साधनमा कुनै पनि किसिमको हेरफेर गर्न नहुने प्रावधान छ । विभागले ‘सवारी निरीक्षण/परीक्षण मापदण्ड २०७४’ बमोजिम लाइटको तीव्रता र हर्नको ध्वनि सम्बन्धी निश्चित सीमा समेत तोकेको छ ।

लाइटको तीव्रता डिप वा कम बिम भएको हेडल्याम्पको हकमा १५,००० देखि ३०,००० क्यान्डेला सम्म हुनुपर्ने उल्लेख छ । यस्तै हाई बिम हेडल्याम्पको हकमा प्रत्येक ल्याम्प १,००,००० क्यान्डेला भन्दा कम हुनुपर्नेछ । चारवटै हेडल्याम्पको समग्र तीव्रता २,००,००० क्यान्डेला भन्दा कम हुनुपर्ने विभागले जनाएको छ ।

हर्नको आवाज न्यूनतम ९० डिबीदेखि अधिकतम ११२ डिबीसम्म मात्र हुनुपर्ने र प्रेसर हर्न र अन्य चर्को आवाज निकाल्ने हर्नहरू जडान गर्न पूर्णतः निषेध गरिएको छ ।

विभागले आफ्नो सूचनामा भनेको छ, ‘यदि उक्त प्रावधान विपरीत बत्ती तथा हर्न जडान गरी सवारी साधन चलाएको खण्डमा प्रचलित नियम कानुन अनुसार कडा कारबाही गरिनेछ ।’ सडक सुरक्षालाई थप मजबुत बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो कदम चालिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप