चिनियाँ कम्युनिस्ट पार्टीबाट एकता र दीर्घकालीन दृष्टिकोण सिक्नुपर्छ: जगन्नाथ खतिवडा
सारांश
- जगन्नाथ खतिवडाले नेपाली कम्युनिस्ट आन्दोलनले चीनबाट एकता, दीर्घकालीन दृष्टिकोण र योजनाबद्ध कार्यशैली सिक्नुपर्ने बताएका छन्।
- उनले नेपालमा कार्यकर्ताको सुरक्षा, वैचारिक स्पष्टता र भू-राजनीतिक चेतनाको अभाव रहेको तथा पार्टीलाई स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे।
- पत्रकार गोपाल खनालले सी चिनफिङ विचारधारालाई वर्तमान विश्व राजनीतिको वैकल्पिक र सफल मोडेलको रूपमा चित्रण गर्दै चीनले अनुशासन, पद्धति र भ्रष्टाचार नियन्त्रणबाट समृद्धि हासिल गरेको बताए।
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको एक सफल र वैकल्पिक मोडेल भएको सरोकारवालाहरूले बताएका छन्। चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका लागि सीले अवलम्बन गरेको नीतिले वैश्विक शासन पद्धतिमा नयाँ आयाम थपेको उनीहरूको निष्कर्ष छ।
काठमाडौँमा आयोजित ‘सी चिनफिङको पार्टी निर्माण सम्बन्धी विचारधारा’ विषयक कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले नेपाली कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको चर्चा गरे। उनले चीनबाट मुख्यतया एकता, दीर्घकालीन दृष्टिकोण र योजनाबद्ध कार्यशैली सिक्नुपर्नेमा जोड दिए।
नेपालमा कार्यकर्ताको सुरक्षा, वैचारिक स्पष्टता र भू–राजनीतिक चेतनाको अभाव रहेको उनको टिप्पणी छ। नेपालमा पार्टीलाई स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको र जनसम्बन्ध कमजोर हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपालको बहुदलीय लोकतान्त्रिक प्रणाली र चीनको विशिष्ट प्रणाली फरक भए पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान र बहसको आवश्यकता रहेको उनले बताए।
भ्रष्टाचार नियन्त्रणका लागि चीनले अवलम्बन गरेको टाइगर एन्ड फ्लाइज (ठूला र साना दुवैलाई कारबाही गर्ने) नीतिको प्रशंसा गर्दै खतिवडाले यसलाई सीको कार्यकालको महत्त्वपूर्ण उपलब्धि भएको बताए। सो अभियानअन्तर्गत ७० लाखभन्दा बढीलाई कारबाही गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले भ्रष्टाचारमा जिरो टोलरेन्स र आत्म–आलोचनाको पद्धतिले पार्टीलाई शुद्धीकरण गरेको उल्लेख गरे।
‘नेपालले चिनियाँ कम्युनिस्ट पार्टीबाट मुख्य रूपमा एकता, दीर्घकालीन सोच र योजनाबद्ध कार्यान्वयन सिक्नुपर्छ,’ खतिवडाले भने, ‘हामीमा अत्यधिक विभाजन छ, जसले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको छ।’ साझा लक्ष्यसहित दीर्घकालीन दृष्टि र रणनीतिमा दृढ प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।
राजनीतिक तथा सङ्गठनात्मक रूपमा सक्रिय कार्यकर्ताको सुरक्षा, उपचार र सहयोगका लागि प्रभावकारी व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। ‘सङ्ख्याभन्दा गुणस्तरीय कार्यकर्ता उत्पादनमा जोड दिनुपर्छ,’ उनले थपे, ‘विचार र सिद्धान्तको गहिरो बुझाइ बिना बनेको ठूलो सङ्ख्याको कार्यकर्ता कुनै पनि बेला पार्टी परिवर्तन गर्न सक्छ।’

पत्रकार गोपाल खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव एवं चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा प्रतिपादित ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको वैकल्पिक र सफल मोडेल भएको बताए। खनालका अनुसार सी विचारधारा कुनै भ्रम नभएर नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवादको व्यावहारिक प्रयोग हो।
चीनले विगत चार दशकमा ८० करोड मानिसलाई गरिबीबाट मुक्त गराएको तथ्यलाई खनालले ‘विश्वकै एक चमत्कार’ का रूपमा चित्रण गरे। राष्ट्रपति सीको कार्यकालमा मात्रै झन्डै १० करोड मानिस गरिबीको रेखाबाट बाहिर आएको उल्लेख गर्दै उनले यसको मुख्य श्रेय सीको ‘लक्षित पद्धति’ लाई दिए। नेताहरूले भाषणमा मात्र सीमित राख्ने विषयलाई सीले निश्चित समयसीमाभित्र परिणाममुखी ढङ्गले कार्यान्वयन गरेर देखाएको उनको तर्क छ।
‘सी चिनफिङले वैश्विक राजनीतिमा प्रचलित शासन पद्धतिको एक बलियो वैकल्पिक मोडेल खडा गर्नुभएको छ,’ खनालले भने, ‘चीनले आफ्नो विकासको मोडल अन्य देशलाई जबर्जस्ती लाद्ने चाहना राखेको छैन।’ चीनले आफ्ना अनुभवबाट अन्य विकासोन्मुख देशले लाभ लिन सक्ने बताउँदै आएको उनको भनाइ छ। उनले अनुशासन र पद्धतिबिना कुनै पनि देश समृद्ध बन्न नसक्ने उदाहरण चीनले पेस गरेको उल्लेख गरे।
भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता चीनको समृद्धिको अर्को मुख्य आधार भएको खनालको भनाइ छ। सीको कार्यकालमा करिब ७० लाखभन्दा बढी नेता तथा कार्यकर्तालाई आर्थिक अनियमितता र पदको दुरुपयोगमा कारबाही गरिएको उनले बताए। राष्ट्रपति सी चिनफिङ आफैँ विपन्न गाउँहरूमा पुगेर विकासको अनुगमन गर्ने गरेको स्मरण गर्दै खनालले चिनियाँ विकास जनकेन्द्रित रहेको बताए। चीनले विकाससँगै आफ्नो संस्कृति र इतिहासलाई पनि उत्तिकै महत्त्वका साथ संरक्षण गरिरहेको उनले उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण