सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विश्वकपको पहिलो खेलका लागि लामिन यामाल फिट

वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रन सक्ने
सोमबार, ०१ असार २०८३, १४ : ४५
सोमबार, ०१ असार २०८३

सारांश

  • स्पेनका विङ्गर लामिन यामाल विश्वकपको आफ्नो पहिलो खेलका लागि पूर्ण रूपमा फिट भएका छन्।
  • स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले १८ वर्षीय यामाल वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रन तयार रहेको बताएका छन्।
  • प्रशिक्षक डे ला फुएन्तेले केप भर्डलाई कमजोर टोली नमान्ने र स्पेनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन्।

काठमाडौँ। स्पेनका विङ्गर लामिन यामाल विश्वकपको आफ्नो पहिलो खेलका लागि पूर्ण रूपमा फिट भएका छन्। यद्यपि, केप भर्डविरुद्ध हुने समूह ‘एच’ को खेलमा उनी सुरुवाती ११ मा भने पर्ने छैनन्। 

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले १८ वर्षीय यामाल वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रन तयार रहेको तर उनको प्रवेश खेलको गति र परिस्थितिमा भर पर्ने बताएका छन्।

गत अप्रिल महिनादेखि चोटका कारण मैदानबाहिर रहेका यामालले कम्मर र ह्यामस्ट्रिङको समस्या झेल्दै आएका थिए। चोटकै कारण उनले स्पेनका हालैका मैत्रीपूर्ण खेलहरू समेत गुमाएका थिए। आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक डे ला फुएन्तेले यामालको चोटलाई लिएर अब कुनै चिन्ता नरहेको स्पष्ट पारे। टोलीका अन्य घाइते खेलाडीहरू निको विलियम्स र भिक्टर मुनोजको अवस्था पनि यामालको जस्तै रहेको उनले जानकारी दिए।

घाइते खेलाडीहरूको पुनरागमनबारे बोल्दै प्रशिक्षक डे ला फुएन्तेले भने, ‘राम्रो समाचार के हो भने लामिन पूर्ण रूपमा फिट छन्। उनले तोकिएको प्रक्रिया पालना गरिरहेका छन् र राम्रो लयमा छन्। चोट बोकेका अन्य साथीहरू जस्तै उनले पनि निकै राम्रोसँग अभ्यास गरिरहेका छन्। उनीहरू सबै खेलका लागि उपलब्ध छन्, तर खेलको सुरुवाती समयदेखि नै मैदान उत्रन भने सक्ने छैनन्। हामीले खेल कसरी अगाडि बढ्छ भनेर हेर्नुपर्ने हुन्छ र त्यसपछि मात्र उनीहरूले टोलीमा कसरी योगदान दिन सक्छन् भन्ने निर्णय गर्नेछौँ। यो खेलको विकास र परिस्थितिको तार्किकतामा निर्भर रहने कुरा हो।’

सन् २०१० को विश्वकप विजेता एवं वर्तमान युरोपियन च्याम्पियन स्पेन यस पटक पनि उपाधिको बलियो दाबेदारका रूपमा मैदान उत्रिँदै छ। तर प्रशिक्षक डे ला फुएन्तेले पहिलोपटक विश्वकप खेल्न लागेको केप भर्डलाई कमजोर रूपमा लिन नसकिने बताएका छन्। 

अफ्रिकी टोली केप भर्डको प्रशंसा गर्दै उनले भने, ‘यदि तपाईँहरूले उनीहरू खेलेको अहिलेसम्म देख्नुभएको छैन भने भोलि देख्नुहुनेछ। रणनीतिक रूपमा उनीहरू निकै राम्रो संरचना भएको टोली हुन् र मैदानमा रणनीतिहरू राम्ररी लागु गर्छन्। शारीरिक दृष्टिकोणबाट पनि उनीहरूका खेलाडीहरू निकै शक्तिशाली र तीव्र गतिका छन्, उनीहरूले क्यामरुनलाई हराएर विश्वकपमा स्थान बनाएका हुन्। उनीहरू यस विश्वकपमा आश्चर्यजनक नतिजा निकाल्ने टोली बन्न सक्छन् र भोलिको खेलमा हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। हामीले जिते पनि त्यो खेल पक्कै सङ्घर्षपूर्ण हुनेछ र भोलि विश्वले उनीहरूको क्षमता थाहा पाउनेछ।’

स्पेन र केप भर्ड रहेको यस समूह ‘एच’ मा साउदी अरेबिया र उरुग्वे पनि सामेल छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप