कर्णालीको बजेट इतिहास : १ अर्बदेखि ३६ अर्बसम्म
सारांश
- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गर्दैछ, जुन चालु र गत वर्षको तुलनामा ठूलो हो ।
- सङ्घीयतायता कर्णाली प्रदेशले जम्मा १ अर्ब २ करोडको पहिलो बजेट ल्याएको थियो, जुन हालसम्मकै सबैभन्दा सानो बजेट थियो ।
- हालसम्म कर्णाली सरकारले ल्याएका ९ वटा बजेटको कुल हिस्सा साढे २ खर्बभन्दा बढी छ, जसको ८० प्रतिशत हिस्सा सङ्घीय अनुदानमा निर्भर छ ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष (२०८३/०८४) को लागि बजेट सार्वजनिक गर्दैछ ।
१७ अर्ब २० करोड रुपैयाँ सङ्घीय अनुदान प्राप्त कर्णालीले आगामी वर्षका लागि झन्डै ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्न लागेको छ । बजेटको यो आकार चालु र गत वर्षको तुलनामा धेरै हो ।
मुलुक सङ्घीयतामा गएपछि कर्णाली प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते बसेको थियो । अन्य प्रदेशभन्दा अघि नै प्रदेशको नामकरण गरेको कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो बजेट अर्थात् २०७४/०७५ को बजेट जम्मा १ अर्ब २ करोड ५ लाखको ल्याएको थियो।
एमाले र माओवादीबिचको सत्ता साझेदारी अनुसार कर्णालीको पहिलो मुख्यमन्त्री तत्कालीन माओवादीका महेन्द्रबहादुर शाही बनेका थिए । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रकाश ज्वालाले २०७५ साल वैशाख १२ गते पहिलो बजेट सार्वजनिक गरेका थिए ।
‘समृद्ध कर्णालीः सुखारी कर्णालीबासी’को मूल नारा बोकेको कर्णालीको दोस्रो बजेट पनि ज्वालाले नै ल्याए । आर्थिक वर्ष ०७५/०७६ मा कर्णालीले २८ अर्ब २८ करोड २८ लाख बराबरको बजेट ल्याएको थियो ।
यस्तै, तेस्रो बजेट ०७६/०७७ मा आकार बढेर ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार पुग्यो । त्यसपछि आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको थियो ।
ज्वाला ०७७ चैतसम्म अर्थमन्त्री रहे । नेकपा विवाद उत्कर्षमा भइरहेका बेला तत्काली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ०७७ चैत्र २८ गते माओवादी नेतृ विमला केसीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिए । केसी त्यो बेला भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिइन् ।
केसीले करिब एक महिनामात्रै मन्त्रालयको जिम्मेवारी सम्हालिन् । ०७८ वैशाख २९ गते उनी मन्त्रालयबाट बिदा भइन् र उनको ठाउँमा माओवादीबाटै गोपाल शर्मा मन्त्री भए ।
शर्माले प्रदेशको पाँचौँ बजेट ल्याए । आर्थिक वर्ष ०७८/०७९ का लागि शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट सार्वजनिक गरेका थिए, जुन कर्णाली सरकारले ल्याएको हालसम्मकै सबैभन्दा ठुलो आकारको बजेट हो ।
०७८ जेठ ३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका शर्मा करिब पाँच महिनामात्रै टिके । उनले बजेट ल्याए पनि पूर्ण रुपमा कार्यान्वयन गर्न पाएनन् । उनी सोही वर्ष कार्तिक १५ गते मन्त्रालयबाट बाहिरिए ।
तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार गठन भयो । उनी नेतृत्वको सरकारमा पनि अर्थ मन्त्रालय माओवादीले नै पायो ।
अर्थमन्त्रीका रूपमा ०७८ मंसिर १४ गते माओवादी सांसद विन्दमान विष्ट आए । उनले आर्थिक वर्ष ०७९/०८० को बजेट ल्याए । विष्टले उक्त आर्थिक वर्षमा ३२ अर्ब ६१ करोड ६१ लाख ३६ हजारको बजेट ल्याएका थिए ।
तर उनले पनि बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न पाएनन् । ०७९ भदौ १२ गते उनी मन्त्रालयबाट बाहिरिए । विष्ट ९ महिनामात्रै अर्थमन्त्री रहे ।
त्यसपछि माओवादीबाट केही सांसद मन्त्री बन्न बाँकी थिए । पार्टी केन्द्रको निर्देशन भनेर ०७९ को चुनावसम्म माओवादीले विष्टलाई बाहिर बोलाएर कृष्णा शाह (आचार्य) लाई ०७९ भदौ १२ गते मन्त्री बनायो । उनी पुस २८ गतेसम्म मन्त्री रहिन् । उनले बजेट ल्याउन भने पाइनन् ।
प्रदेश सभाको पहिलो कार्यकालमा एमालेबाट एक र माओवादीबाट चार जना गरी जम्मा पाँच जना अर्थमन्त्री बनेका थिए, जसमा दुई जनाले बजेट ल्याउन पाएनन् ।
०७९ को प्रदेश सभा चुनावपछि गठित माओवादी संसदीय दलका नेता राजकुमार शर्मा नेतृत्वको सरकारमा एमालेका विनोदकुमार शाह अर्थमन्त्री बने । ०७९ माघ ११ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले दुई महिनामै मन्त्रालयबाट बाहिरिनुपर्यो ।
केन्द्रमा नेपाली कांग्रेस–माओवादीको गठबन्धन बनेपछि शाहले ०७९ चैत २६ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । पुनः कांग्रेस–माओवादीको समीकरण बनेपछि ०८० वैशाख ७ गते कांग्रेस सांसद बेदराज सिंह अर्थमन्त्री बने । उनले आर्थिक वर्ष ०८०/०८१ को लागि बजेट ल्याउन पाए ।
सिंहले उक्त वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याएका थिए । उनी ११ महिना अर्थात् ०८० फागुन २२ गतेसम्म अर्थमन्त्री रहे ।
केन्द्रमा एमाले–माओवादी सत्ता समीकरण बनेपछि सिंहले राजीनामा दिए । उक्त गठबन्धन पश्चात तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिए भने एमाले संसदीय दलका नेता यामलाल कँडेल ०८० चैत २७ गते मुख्यमन्त्री बने ।
उनको नेतृत्वको सरकारमा माओवादीका महेन्द्र केसी अर्थमन्त्री बने । ०८१ वैशाख १८ गते अर्थमन्त्रीमा नियुक्त भएका केसीले आर्थिक वर्ष ०८१/०८२ को लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएका थिए । यद्यपि उनले बजेट कार्यान्वयन गर्न पाएनन् ।
केन्द्रमा कांग्रेस–एमालेबिच सत्ता समीकरण हुँदा ०८१ साउन ७ गते केसीले राजीनामा दिए ।
अहिले नवौँ अर्थमन्त्रीको रुपमा नेपाली कांग्रेसका राजीवविक्रम शाह छन् । उनले चालु आर्थिक वर्ष (०८२/०८३) मा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याए । उनै शाहले दोस्रो पटक कर्णालीको बजेट ल्याउँदैछन् ।
अहिलेसम्म अर्थमन्त्री बनेकाहरूमा एमालेबाट २, कांग्रेसबाट २ र बाँकी पाँच जना माओवादीबाट छन् । जसमध्ये पाँच जनाले वार्षिक बजेट ल्याउन पाए भने चार जनाले बजेट ल्याउन पाएनन् । सबैभन्दा बढी प्रकाश ज्वालाले ४ वटा बजेट ल्याए ।
हालसम्म कर्णाली सरकारले ल्याएका ९ वटा बजेटको कुल हिस्सा साढे २ खर्ब भन्दा बढी छ । जसको ८० प्रतिशत हिस्सा सङ्घीय अनुदानमा निर्भर छ । कर्णाली सरकारले ल्याउने बजेटमा आन्तरिक आयको हिस्सा २० प्रतिशत पनि छैन ।
अनुदानकै बजेट कार्यान्वयनमा कमजोर कर्णाली
कर्णाली सरकारले सङ्घीय अनुदानमा वार्षिक बजेट ल्याउने गरे पनि कार्यान्वयनमा भने कमजोर प्रदर्शन गर्दै आएको छ । जसका कारण सरकार आफैँले तय गरेको ‘समृद्ध कर्णालीः सुखारी कर्णालीबासी’को नारा सार्थक बन्न नसकेको विश्लेषण हुन थालेका छन् ।
अहिले यो नारा नै बदल्नुपर्ने तर्क आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराजको जग्गा समस्या समाधान गर्न ५ सदस्यीय समिति गठन
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
आगामी ६० दिनमा आणविक कार्यक्रम र प्रतिबन्धबारे वार्ता हुने
-
‘पेन्सन पट्टा’ अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने
-
दिल्लीमा ४३.५ डिग्री सेल्सियस, तर किन हुन्छ ६४ डिग्रीको गर्मी ?
-
सम्झौताको घोषणापछि स्ट्रेट अफ होर्मुज पार गर्दै गरेको देखियो जहाज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण