सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली सरकारले चलचित्रलाई १ करोड दिने सहमति भएको छ– सांसद शाही

सोमबार, ०१ असार २०८३, १५ : ५१
सोमबार, ०१ असार २०८३

सारांश

  • प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनका लागि १ करोड बजेट छुट्याउने सहमति भएको बताएका छन् ।
  • यो बजेट कर्णाली क्षेत्रका मौलिक कथाहरूलाई पर्दामा उतार्न तथा स्थानीय लेखक र सर्जकहरूलाई प्रोत्साहन गर्न छुट्याइनेछ ।
  • कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण अन्तर्गत 'फिल्म स्टोरी बैंक' प्रतियोगिताको आवेदन दिने समयसीमा पनि थप गरिएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनको लागि १ करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए ।

राजधानीमा आयोजित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण अन्तर्गतको एक विशेष कार्यक्रममा शाहीले यस कुरा बताएका हुन् ।

‘हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ, यो वर्ष चलचित्रकै लागि भनेर १ करोड बजेट छुट्याउने सहमति छ,’ उनले भने, ‘म सरकारलाई पुनः त्यो वाचा सम्झाउन चाहन्छु ।’ कर्णाली क्षेत्रका अनगिन्ति र मौलिक कथाहरूलाई सिने–पर्दामा उतार्न तथा स्थानीय लेखक, युवा र सर्जकहरूलाई चलचित्र लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले यो नवप्रवर्तनात्मक कार्यक्रम अघि सारिएको उनले जानकारी दिए ।

कार्यक्रममा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा रहेको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा समेत थप गरिएको छ । प्रतियोगिता सार्वजनिक भए लगत्तै विशेष गरी कर्णाली क्षेत्रका स्थानीय सर्जक, लेखक तथा दूरदराजमा रहेका प्रतिभाहरूबाट भौगोलिक विकटता, कार्यव्यस्तता र सिर्जनात्मक तयारीका लागि थप समय आवश्यक रहेको भन्दै अनुरोध आएपछि महोत्सव सचिवालयले आवेदन दिने अवधि थप गर्ने निर्णय गरेको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले प्रस्ट पारे।

प्रतियोगीतामा देश तथा विदेशमा रहेका सिर्जनशील लेखकहरूबाट आह्वान गरिएका कथाहरूमध्ये विशेषज्ञ निर्णायक मण्डलद्वारा पारदर्शी ढंगले उत्कृष्ट १५ कथाहरूको छनोट गरिनेछ । छनोट भएका ती कथाहरूलाई महोत्सवको ‘फिल्म स्टोरी बैंक’ मा सुरक्षित राखिनुका साथै लेखकहरूलाई पटकथा लेखनसम्बन्धी विशेष तालिम प्रदान गरिने आयोजकले जनाएको छ । तीमध्ये सर्वोत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित विशेष सम्मान गरिनेछ ।

स्वदेश तथा विदेशका चलचित्र निर्माता एवं निर्देशकहरूलाई आमन्त्रण गरी ती कथाहरूमा व्यावसायिक चलचित्र निर्माणका लागि मार्गप्रशस्त गरिनेछ भने चलचित्र निर्माण हुने निश्चित भएमा कथाकारलाई नामसहित उचित व्यावसायिक पारिश्रमिक र परामर्शसमेत प्रदान गरिनेछ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य साबित्री मल्ल र पूर्व मन्त्री कुन्ती शाहीको सहभागीता थियो । सहभागी सबैले कर्णाली चलचित्र हब बनाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा कर्णाली क्षेत्रको कथा रहेको सिर्जु शाहद्वारा लिखित पुस्तक ‘बैकिनी’ पनि सार्वजनिक गरिएको थियो । देशको सबै प्रदेशको बजेट आजै सार्वजनिक हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप