अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
सारांश
- त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएका र नफर्केका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
- तोकिएको अवधिभित्र सम्पर्कमा नआए विश्वविद्यालयले कानुनी कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ ।
- अध्ययन बिदाको दुरुपयोग गरी सेवामा नफर्केका प्राध्यापकहरूबाट त्रिविले हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकेको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक-कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।
सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।
त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ ।
यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अघि बढाइएको हो ।
विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । तर केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाई छ ।
त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकहरूले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण